Posted by: Ok March 22, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
"भाई, तिमीले राम्रो गरेछौ यसपालीको एसएलसीमा। बधाई छ। हाम्रो जिल्लाको ईज्ज्जत राख्यौ। भविश्यमा अब पनि यस्तै गर्दै जानु!" जिशिअसरले म तिर हात बढाउनु भो। म त दोधारमा परेँ, हात दिनु कि नदिनु? नदिउँ भने त्यत्रो ठूलो मान्छेले भनेको कुरा कसरी नमान्नु, दिउँ भने त्यत्रो ठूलो मान्छेसँग म जस्तो फुच्चेले कसरी हात मिलाउनु? अप्ठ्यारो मानीमानी बिस्तारी हात बढाएँ। सँगै हुनुभएका अरु मानिसहरुले पनि मलाई बधाई दिए, हात मिलाए। "ल हिड एकछिन् हामीसँग" जिशिअसरले उहाँहरुसँगै जान भन्नुभयो मलाई पनि। हामी नजीकैको चियापसलमा गयौँ। म चाहिँ सबभन्दा पछिको र कुनाको कुर्सीमा बसेँ। सकेसम्म कसैले नदेखे पनि हुन्थ्यो जस्तो लाग्यो। धेरै नै धक लागेको थियो, अलिअलि डर र लाज पनि थियो। "कतिजना छौँ हामी?" जिशिअसरले सबैतिर हेर्दै सँख्या गन्नु भयो। "ए साउनी, सात कप चिया बनाउनुस् त, स्पेशल है!" चिया अडर गर्दै जिशिअसरले म तिर फर्केर भन्नु भो "अनि भाई, अरु केहि खान्छौ?"। फेरी सबैसरहरुतिर फर्केर एकसरो आँखा डुलाउँदै सोध्नु भयो "सरहरु पनि केहि लिनु हुन्छ कि?" "सर, म केहि खान्न। भर्खरै साथीहरुसँग खाको" मैले ढाँटे। खाजा त काहाँ खानु र, त्यहि बिहान घरमा हिँजो बेलुका पकाएर राखेको मकैको च्याँख्लाको भात दुधसँग खाएर आको थिएँ। अरु सरहरुले पनि चिया मात्र खाने कुरा गर्नुभो। "अनि के गर्छौ त भाई, अब? कहिले जाने काठमाण्डौ पढ्न?" जिशिअसरले मतिर फर्केर भन्नु भो। "सर, म त नपढ्ने अब। एउटा माष्टरको जागिर खोजेर खाने। आमाको पनि यहि मन छ।" "किन? यति पढेर पुग्छ त? अझै तिमीले धेरै पढ्नु पर्छ, बिए एमए पढ्नु पर्छ।" "सर, मेरो काठमाण्डौ गएर पढ्ने हैसियत छैन। जति सको छिटो एउटा जागिर खोजेर खानु छ। सरले मलाई एउटा जागिर जसरी भए पनि मिलाईदिनु प-यो। ओखल्ढुंगाको जुनसुकै स्कुलमा पनि जान तयार छु सर।" मौकाको फाईदा उठाउँदै मैले पनि आफ्नो कुरा मज्जाले राखेँ। मैले कुरा सक्ता नसक्तै हेडसरले भन्नु भयो "मैले पनि यिनलाई काठमाण्डौ गएर अरु पढ्ने सल्लाह दिएको। यिनको घरको स्थिति पनि राम्रो छैन। अब अरु पढ्न सक्तिन, माष्टरको जागिर खोजेर खान्छु भन्छन्। एसएलसी सम्म पनि मैले नै फी मिनाह गरीदिएको थिएँ र पढ्न पाए। खै अब कसरी पढ्छन्?"। हेडसरले मेरो वास्तबिकता भनिदिएर मलाई नै सजिलो पार्दिनु भयो। हेडसरको कुराले जिशिअसर पनि अलिक सिरियस हुनुभयो। त्यतिकैमा चिया पनि आईपुग्यो। चियाको एकसुर्पी तानेर जिशिअसरले भन्नुभयो "त्यसरी लत्तो छाडेर हुन्न भाई। तिमीले अरु धेरै पढ्नु पर्छ जसरी भए पनि। केहि न केहि उपाय निकाल्नै पर्छ।" "हो त नि जिशिअसर। यस्तो राम्रो पढ्ने छोरा मेरो भैदेको भा त म के के पो पढाउँथेँ! आफ्नो चाहिँ स्वाँठ! बल्लबल्ल पास हुन्छ" अर्को एकजनाले आफ्नै छोराको दुखेसो पोख्यो। "अनि यी भाईको बाउआमाले यस्तो राम्रो पढ्ने छोरालाई पनि काठमाण्डौ पठाउँदैनन् त पढ्न?" जिशिअसरले अचम्म मान्दै सोध्नु भो "के काम गर्नु हुन्छ भाई वुवा?" "मेरो बुबा नै हुनुहुन्न सर, म सानो हुँदा नै बित्नु भको"। "अनि परीवारमा को को छन्? के गर्नु हुन्छ नि आमाले?" "आमा, एकजना भाई र एकजना बैनी। आमा खेतिकिसानी गर्नु हुन्छ। भाईबैनी रामपुरमा पढ्दैछन्।" "हेर भाई, पढ्न छाड्ने कुरा नगर। यस्तो राम्रो पढ्ने मान्छे तेसै माष्टरको जागिरमा अल्मलिएर हुन्छ, फेरी यो सानै उमेरमा। काठमाण्डौ गएर कि एड पढ कि आर्ट्स पढ।" डाक्टर ईञ्जिनियर पढ्न चाहिँ धेरै खर्च लाग्छ। तिम्रो घरको अवस्था पनि कमजोर रहेछ। फेरी गाँउठाँउमा पढेका मान्छेलाई पास गर्न पनि गाह्रो हुन्छ, सबै अंग्रेजीमा पढाई हुन्छ। डाक्टर ईञ्जिनियर पढ्न त हाईस्कुलनै काठमाण्डौ गएर बोर्डिङगमा पढ्नु पर्थ्यो। मेजर म्याथ र ईङलिस राखेर बिएड ग-यौ भने भोलीपर्सी यस्ता माष्टरका जागिर त कति पाउँछौ कति? म जस्तै जिशिअ पनि हुनसक्छौ"। उहाँले मेरो समस्या बुझेर पनि नबुझेझैँ गरी आफ्नै कुरा मात्र राख्दैजानु भो। 'अहा, म जिशिअ पनि हुनसक्छु? रामराम! यत्रो ठूलो मान्छे बन्न पनि सक्छु?' म भित्रभित्रै छक्क परेँ, सपनाको पनि सपना जस्तै लाग्यो। तर पनि केहि नभनि चुपै लागिरहेँ। "जिशिअसरले ठीक भन्नु भयो। यस्ता तगडा केटाहरु त थपक्क काठमाण्डौ गएर राम्रो बिषय लिएर पढ्न छोडेर के जागिर खोज्ने कुरा गरेको नि भाई" अर्को एकजना जान्ने पल्टेर बोल्यो। सायद मेरो बास्तबिकता बुझेर कुरा गर्नु भन्दा जिशिअसरको कुरामा अन्धो समर्थन गर्नु नै उस्को लागि फाईदाजनक थियो होला, प्रमोशनको कुरा पो थियो कि? हेडसर केहि पनि बोल्नु भएन, चुपलागेर कुरा सुनि मात्र रहनु भयो। सबैजनाले एउटै कुरा गरे, उनीहरुकै कुरा मात्र गरे, कसैले सुनेन मेरा कुरा। जिशिअसरले नमाने पछि त मेरो माष्टर बन्ने सपना अधुरै हुने भयो। मन दरो पारेर अन्तिम एकपटक कोशिष गर्नु पर्यो भन्ने सोची भने "सर, म काठमाण्डौ गएर पढ्न सक्तिन। घरको स्थिति नै त्यस्तो छ। मलाई एउटा माष्टरको जागिर मिलाईदिनु होला। म ओखल्ढुंगाको जुनसुकै स्कुलमा पनि गएर पढाउँछु।" अब भने जिशिअसर मँसग रिसाएको जस्तो मानेँ मैले। टाउको नहल्लाईकन आखामात्र यताउता घुमाएर चस्मालाई अलिक तल नाकको टुप्पोमा पु-याउँदै भन्नुभयो "हेर भाई, तिमी तुरुन्त काठमाण्डौ जाउ। दुख गर। ईटा बोक। कुल्ली काम गर। राती पढ्न पनि पाईन्छ काठमाण्डौमा। दिउँसो काम गर, राति राती पढ। जे गर्न सक्छौ त्यहि गर र बिएड गरेर आउ। म तिमीलाई जागिर ठीक्क पारेर राखौँला। अहिले नै त तिमीलाई म ठाँउ खाली भए पनि दिन्न जागिर।" अब चाहिँ मैले केहि बोल्नु ब्यर्थ थियो। मनमनै रीस पनि उठ्यो। फेरी नराम्रो सल्लाह पनि त दिएको हैन नि भन्ने पनि सोचे कताकता। धेरैबेर उनीहरु अरु के के गफ गरे, म सुनिरहेँ। छेउमा बसेर। "सरहरु म जान्छु अब, साथिहरु मलाई कुरीरहेका होलान्" सबैलाई नमस्कार गरेँ। "ल भाई, अन्त कतै मन नडुलाईकन काठमाण्डौ गएर धेरै पढेर आउ, म जागिर खोज्दिउँला तिमीलाई। अहिले जाउ" जिशिअसरले फेरी उहि कुरा दोहोर्याउनु भयो। "हवस्" भनेर बाटो लाग्नु बाहेक म के नै भन्न सक्थेँ र? जिशिअसर र हेडसरबाट नै हो आस गरेको, दुबैजना सँगै भको बेलामा पनि केहि उपाय नलागेपछि त मैले मन मारीसकेँ। क्रमशः
Read Full Discussion Thread for this article