Posted by: Ok March 22, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड ३४ (भाग १- अन्तिम खण्ड) रीजल्ट भएको दिन देखिनै म निकै नै अतालिएको थिएँ। भबिश्यको बारेमा केहि न केहि गर्ने बेला आईसकेको थियो। पहिलो र एउटै उपाय भनेको नै एउटा माष्टरको जागिर खोज्नु र पाउने तलबबाट हाम्रो घरको गरीवीलाई सदासदाका लागि बिदा गर्नु नै थियो। त्यस्ले एकातिर मेरी आमाको सपना साकार हुँदा उहाँको अनुहारमा सधैँका लागि खुसिको बहार ल्याउन सक्थ्यो भने अर्कोतिर मेरो गाँउबाट पहिलो माष्टर बन्ने सौभाग्य पाउँदा म आफैँलाई पनि गौरवान्वित बनाउँथ्यो। विचविचमा सरहरुले काठ्माण्डौ गएर अलिक धेरै पढ्ने र स्कुल र जिल्लाको ईज्ज्जत राख्ने कुराले अलिअलि भाँडिएको मन बाहेक मेरो यो नै एकमात्र उदेश्य थियो, एकमात्र लक्ष थियो। हुन त त्यसबेला सम्म माष्टरको जागिर पाउन पनि निकै मुश्किल भैसकेको थियो। फेरी सिमित प्रजातन्त्र हातमा पर्ने बितिक्कै के के न पायौँ भनेर मैमत्त भएका तत्कालिन जनआन्दोलनकारी पार्टीका नेताहरुको पार्टीबाद र नाताबादले म जस्तो कतैपनि आफ्ना नातेदार ठूला मान्छे नभएको र कुनै पार्टीतिर पनि खुलेर नलागेको फूच्चेले जागिर पाउन निकै नै गाह्रो थियो। तर पनि एसएलसीमा रीजल्ट राम्रो भकोले आस भने पुरै मारिसकेको थिईन। छिटोछिटो जागिर खोज्दा चाहिने कागजपत्र तयार पार्नतिर लागेँ। मार्कसिट र स्कुलबाट दिएको क्यारेक्टर सर्टिफिकेटको पनि नक्कल तयार पारेँ २/२ वटा, हातैले लेखेर। फोटोकपी भन्ने कुरा त सुनेको पनि थिईन। गाबिस सचिवबाट नागरिकताको लागि चाहिने सिफारिसपत्र पनि बनाएर ठीक्क पारेँ। अर्को हप्ताको आईतबार नागरीकता बनाउन ओखल्ढुंगा जाने योजना थियो। नागरिकताको लागि फोटो पनि चाहिने हुनाले फोटोखिच्न भनेर ओखल्ढुंगा हाट गएँ, अघिल्लो दिन शनिबार नै। जाने बितिक्कै फोटो खिचेँ, मेरो जीवनको तेस्रो फोटो। पहिलो फोटो ९ कक्षा पढ्दा एसएलसीको रजिष्ट्रेशन फर्म भर्नलाई र दोस्रो फोटो मञ्जुसँग मञ्जुकै घरमा खिचेको थिएँ। रजिष्ट्रेशन भर्दा खिचेको फोटोको नेगेटिभ हराएर फेरी खिच्नु परेको थियो यसपाली। मञ्जुसँग खिचेको फोटोचाहिँ एकप्रतिमात्र बनाएकोले उनले नै राखेकी थिईन्। स्टुडियोबाट बाहिर निस्कने बितिक्कै रामपुरमा सँगै पढेका साथीहरुलाई देखेँ। उनिहरु पनि म जस्तै नागरीकता बनाउनलाई फोटो खिच्न आएका रहेछन्। उनिहरुसँगै हाट घुमेँ। हाटको भिडमा अकस्मात हेडसरलाई देखेँ। उहाँ मैले नचिनेका धेरै मानिसहरुसँगै हिडिरहनु भएको थियो। "सर, नमस्कार!" उहाँले नदेखिकनै मैले नमस्कार गरेँ। मसँगै हिडेका साथीहरु अलिक अगिअगि थिए, हेडसरलाई देखेनन्। "ए ओम, तिमी पनि हाट हेर्न आएका?" हेडसरले पुलुक्क म तिर फर्केर हेर्दै मुसुक्क हाँसेर भन्नुभो। "हैन सर! नागरिकताको लागि फोटो खिच्न आको। आएको बेलामा यसो हाट पनि हरेर जाँउ भनेर यता तिर आको।" "खिचिसकेउ त फोटो?" "बिहानै आउने बितिक्कै खिँचे सर" हेडसर र मेरो यति बातचित हुँदा उहाँसँग भएका अरु मानिसहरु चाहिँ माथ्लो गराको डिलमा पुगेर उहाँलाई कुरिरहेका थिए। "ल है त, हाट हेर" उहाँ आफ्नै साथीहरु उभिएको तिर लाग्नु भो, म पनि आफ्नै साथीहरु भएतिर लागेँ। "ए, ओम!" हेडसरले निकै ठूलो स्वरले बोलाउनु भो २ कान्ला मास्तिरबाट, छुटेको एकैछिन् पछाडि। म पनि पुलुक्क माथितिर फर्केर हेरेँ। उहाँ मलाई हातको ईसाराले उहाँ भएतिर बोलाउँदै हुनुहुन्थो। मेरा साथीहरुलाई 'एकछिन् है, म छिट्टै आउँछु' भनेर कुद्दै हेडसर भए तिर लागेँ। "जिशिअ सर, ओम खनाल भन्ने विद्यार्थी यिनै हुन्, यसपाली रामपुरबाट प्रथम भका" हेडसरले अलिक भलाद्मी जस्तो देखिने मानिसतिर फर्केर भन्नु भो। जिशिअसर भन्ने बितिक्कै मैले पुलुक्क उहाँको मुखमा हेरेँ, तर चिनिन। नयाँ मान्छे जिशिअ भएर आउनु भएको रहेछ, मलाई त थाहा नै थिएन। हाजिरजबाफ, निबन्ध प्रतियोगितामा आउदा पहिलेको जिशिअसरलाई त चिनेको थिएँ। क्रमशः
Read Full Discussion Thread for this article