Posted by: Nepe March 14, 2006
Nepe's book on the web
Login in to Rate this Post:     0       ?        
न्यूयुजरजी, तपाईको अवलोकन र टिप्पणीहरुको लागि, खास गरेर दोषहरु समेत औंल्याईदिनु भएकोमा, विशेष धन्यवाद र कृतज्ञता । कथा म आफैलाई पनि बेलाबखत एउटा एक-डेढ घण्टाको रोलर-कोस्टर हुने गर्दथ्यो, यी अनगिन्ती वर्षहरुमा । कुशालाई लेखकले अत्यधिक माया गरेको भन्दा पनि बरु उसलाई स्वनिर्णयका लागि सम्पूर्ण र निरपेक्ष स्वतन्त्रता दिएको भन्न चाहुँला म । लेखकले उसको आफ्नो निजी जीवनमा नपाएको कुनै स्वतन्त्रता कुशालाई पुरापुर दिएर त्यो स्वतन्त्रता चाख्न पो चाहेको हो कि ? यो चाहि मैले तपाईजस्तै एक जिज्ञासु पाठक भएर लेखेको है, लेखक भएर कन्फेशन गरेको होईन नि । फेरि त्यसै पो हो कि क्या हो गाँठे भनि ठानिएला । होईन है, भन्दिया छु । तपाईले औल्याईदिनुभएको एकाध भाषागत दोष नि:सन्देह शिक्षाप्रद रहनेछन् मेरा लागि । परन्तु अंग्रेजी शब्दको प्रयोग भने कमै खट्कने स्थानमा छन् कि भन्नेमा छु । अनि कुनै चाहि नेपाली अनुवादले पूर्ण न्याय गर्न नसक्ने भनेर परेका हुन् । 'कन्फेशन' र यसको निकटार्थी 'स्वीकारोक्ति' र 'अभिस्वीकार' (यो पछिल्लो चाहि म आफैले coin गरेको) को सुक्ष्म भेद र औचित्य बारेमा त एक टिप्पणीकारको मिठो टिप्पणी पढ्नु भयो होला नै (पुस्तकको मोटाईको जागि मात्तै होईनन् क्या पुछारका ती दुई मोटा टिप्पणीहरु ;-) ) । त्यस्तै, एउटा शब्द थियो 'ईक्वलिब्रिअम' । यसको अनुवाद 'विरामावस्था' ले पूर्ण न्याय गर्न नसक्ने मानें, खास गरेर dynamic equilibrium को सन्दर्भमा । जे होस्, तपाईको हक्की टिप्पणीहरुको लागि पुन: धन्यवाद । र अन्त्यमा, जहाँसम्म कुशाको कुरा छ, उसको निर्णय/अनिर्णय क्षमता देखि लिएर कतिपय कुरामा नि:सन्देह म आफुलाई परिचित पाउँछु । अथवा यसो भनौं, म सम्पूर्ण उभित्र त छुईन, तर उसका केहि अंशहरु मभित्र जरुर छन् । अनि कथान्तलाई तपाईले 'एउटा स्वीकारयोग्य परिस्थितिको जन्म' वा 'निर्मम कथानकले आहत पाठकलाई थमथम्याउन सफल' को संज्ञा त दिनुभयो, मलाई भने त्यो केहि अनिर्णित (unsettling) पनि लाग्छ । वास्तवमा, त्यहाँनेर म कुशालाई केहि अपरिचित पाउँछु । तर कुशाले आफ्नो भावनालाई जसरी अर्थ्याई वा अर्थ्याउने निर्णय गरी, त्यसमा मलाई पटक्कै गुनासो छैन । उसको निर्णयलाई म पूर्ण सम्मान गर्छु । हत्तेरिका, मैले त म आफै हुँ कथाकार भन्ने पनि बिर्सेछु । लौ त यहि रोकिएँ म । Nepe
Read Full Discussion Thread for this article