Posted by: Ok March 11, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
सधैँजसो असारमा हुनुपर्ने एसएलसीको रीजल्ट यसपाली साउन लागिसक्ता पनि भएन। आज त हुन्छ होला, भोली त हुन्छ होला भन्दै पर्खँदै बसेँ। रीजल्ट नजीक आउँदै गर्दा अब माष्टरको जागिर कसरी खोज्ने भन्ने गफ पनि भए, आमाछोराका। म नै त्यो गाँउबाट पहिलोपटक एसएसली दिएको थिएँ। जिम्मल बुढाकोमा एउटा पूरानो रेडियो थियो। “रिजेल्ट भको कुरा रेडियोबाट भन्छ, मलाई भन्नु है बाजे, समाचार अलिक ध्यानदिएर सुन्नु!” जिम्मलबाजेलाई अनुरोध गरी राखेको थिएँ। दिनको एकपल्ट रीजल्ट भयो कि भनेर जिम्मल बाजेलाई सोध्न जान्थेँ। साउन महिनाभरि रिजल्टको केहि खबर आएन। ०४८ साल भदौ ५ गते बुधबार बिहानै भाईबैनी रामपुर पढ्न बस्नेगरी जाने भए। खोला ठूला भकाले मै आफैँ पु-याउन गएँ। खोलापारी पु-याएर म चाहीँ फर्किएँ, उनीहरु चाहिँ स्कुल गए। बेलुका म घाँसको भारी लिएर फर्कँदा त भाईबैनी दुबै घरमै रहेछन्। पानीले भिजेर गह्रौँ भएको भारीलाई माथ्लो गराको डिलमा राखेर अररो मुन्टो यसो बटार्दै सोधेँ “के भयो, किन आका तिमेरु? स्कुल गएनौ कि क्या हो?”। बैनी मुसुमुसु हाँसीरहेकी थिई। “दाजु, एउटा खुशिको खबर छ, त्यहि भन्न आका हामी” बहिनीले कुरा लुकाउँदै मलाई आश्चार्यमा पारी। “के कुरा, छिटो भन् न?” मुखमा परेको बर्खे पानीलाई एउटा हातले पन्छाउँदै सोधेँ। पानीले भिजेर निथ्रुक्क भएको थिएँ, अझै पनि सिमसिम पानी परिरहेको थियो। “पहिला, भित्र आएर लुगा फेर्नुस्, अनि भनौला” बैनीले अझै पनि कुरा लुकाई। म भित्र आएर ओभाना लुगा फेर्दै सोधेँ “के खबर, ल भन्?”। “तपाईँ फष्ट डिभिजनमा पास हुनु भो रे। रामपुर स्कुलबाट तपाईँ मात्र रे फष्ट डिभिजनमा” बैनीले खुसिको खबर सुनाई। म त छक्क परेँ। “ए हो र, कहिले भएछ रीजल्ट? तँलाई कस्ले भन्यो? जिम्मल बाले मलाई केही पनि भनेनन् त?” मेरो मन धेरै खुसि भयो। आमा पनि कति खुसि हुनु भो मेरो खबर सुनेर। “जिम्मल बुढाले सुनेनन् कि बुझेनन्?” आमाले जिम्लब बुढाको बिश्वास नलागेको कुरा गर्नु भो! “धेरैदिन भैसको रे रीजल्ट भाको। जम्मा नौ जना पास रे। १ जना फष्ट डिभिजनमा, २ जना सेकेण्ड डिभिजनमा र बाँकी थर्ड डिभिजनमा” बैनीले सबै बेली बिस्तार लगाई “अनि दाजु, पर्सि शुक्रबार रामपुर स्कुल जानु रे तपाईँ, बेलुका घनश्यामसरको घरमा बस्ने गरी”। “कस्ले भनेको?” मैले जान्न चाहेँ। “हेडसरले स्कुल जानु भनेको, मञ्जु दिदीले उहाँको घरमा बस्ने गरेर जानु भनेको” बैनीले सिधै भनि। फेरी रामपुर स्कुलको सम्झना आयो, घनश्यामसरको परिवारकै सम्झना आयो, मञ्जु त छुट्ने कुरै थिएन। त्यो दिन बेलुका भरी निकै रमाईला कुराहरु गरेर बस्यौँ सबैजना। अब छिट्टै एउटा मास्टरको जागिर पाए, हामी पनि धनि हुने कल्पना गरेँ मनमनै मैले। "खै दश जना जतिको नाम चाहिँ भनेको थियो, मैले त तेरो नाम सुन्दै सुनिन" जिम्मल बुढा त रेडियोले मेरो नामै भन्छ भनेर पो सोचेछन्। पर्सिपल्ट शुक्रबार बिहानै अरु बिद्यार्थी भन्दा अलिक पछिपछि स्कुल गएँ। स्कुलमा पढाई शुरु भैसकेको रहेछ। सरहरु पहिलो घण्टी पढाउन जानु भएछ। हेडसरमात्र हुँनुहुँदो रहेछ, अफिस कोठामा। बाहिर ढोकाको छेउमा गएर यसो भित्र हेरेँ। करीव ५ बर्ष अघि त्यसैगरी त्यहि ढोकाबाट नै हेरेको थिएँ, कक्षा ६ मा पैसा नभएर भर्ना हुन नसक्दा। तर यसपाली फरक थियो, पहिलेको जस्तो डर थिएन मनमा। राम्रै सर्ट लगाएको थिएँ, थोत्रो दौराको साटो। हातिछाप चप्पल लगाएको थिएँ, खालि खुट्टा थिएनन्। सानो फुच्चे थिईन, हट्टकट्टा जवान भैसकेको थिएँ। तर पनि अफिसभित्र सिधै पस्न अप्ठ्यारो लाग्यो। ढोकैबाट नमस्कार गरेँ। हेडसर सिटबाट जुरुक्क उठेर हातको ईसाराले भन्नु भो “ए ओम, तिमी! भित्रै आउन”। उहाँले नजीकैको सिटतिर देखाउँदै भन्नु भो “ओम, तिमीलाई बधाई छ। तिमीले हाम्रो स्कुलको ईज्ज्जत राखौ। हिँजो मार्कसिट पनि आईपुग्यो रे जिल्लामा, घनश्यामसर मार्कसिट लिन जानु भा छ आज जिल्लातिर। तिमी जिल्ला फष्ट भएका छौ भन्ने खबर आको छ, लगभग सत्तरी प्रतिशत जति आको छ रे। हाम्रो स्कुलबाट आजसम्म कसैले पनि त्यति नम्बर ल्याएका थिएनन्। जिशिअ सरले तिमीलाई एकपटक भेट्न बोलाउनु भा छ” उहाँ भित्रैदेखी खुशि हुनुहुन्थ्यो। उहाँले सकेसम्म काठमाण्डौ गएर अझ धेरै पढेर रामपुर स्कुल अनि जिल्लाको ईज्ज्जत राख्ने सल्लाह दिनु भयो। उहाँले तराईबाट काठमाण्डौ गएर पढ्दा आफूले गरेको दुखको पनि सबै बेलिबिस्तार लगाउनु भयो। बिहानभरी खाली पिरयडका सरहरु सँग गफ गर्दै बिताएँ। सरहरुले काठमाण्डौ गएर अरु धेरै पढ्ने र ठूलो मान्छे बन्ने सल्लाह दिनुभयो, शिक्षकको नाताले गर्नु पर्ने कर्तब्य पुरा गर्नु भयो। टिफिनटाईममा सबै सरहरुसँगै चियाखान नजिकैको पसलतिर गयौँ। म सरहरुसँगकै हुलमा थिएँ। ढोकाबाट निस्कने चौतारोमा मञ्जु बसिरहेकी रहिछन्, त्यहि चौतारोमा जहाँ पहिले पहिले पनि मञ्जु मलाई कुरेर बस्ने गर्थिन्। उनलाई देख्नासाथ म सरहरुबाट साईडलाग्दै मञ्जु बसेको ठाँउमा पुगेँ। मैले बोल्नु भन्दा अगाडि नै मञ्जुले भनिन् “ओम दाई, बधाई छ”। उनि कति खुशि थिईन् आज! खुशिले सिमा काटिसकेको थियो। अनुहार नै धप्धपि बलेको थियो। मानौ यो सफलता मैले नभएर उनि आफैँले पाएकी थिईन्। मैले पनि बधाई ग्रहण गर्दै सोधेँ “धन्यबाद है, के छ मञ्जु तिम्रो खबर? पढाई कस्तो चल्दैछ?”। “भरे घरमै धेरै गफ गरौँला, उ पर सरहरु तपाईँलाई कुरेर बसिरनु भा छ। भरे यहि चौतारोबाट सँगै जाने है हाम्रो घर” उनले सरहरुतिर औँल्याईन् "हुन्छ नि त। स्कुल छुटेर यहिँ बसिराख है त!” म सरहरुसँगै पसलतिर लागेँ। बेलुका मञ्जु र म घनश्यामसरको घर पुग्दा घनश्यामसर ओखल्ढुंगाबाट आईपुग्नु नै भारैनछ। मञ्जुको ममीले खाजा बनाएर राख्नु भएको रहेछ, मलाई समेत। हामीलाई देख्ने बितिक्कै खाजा पस्कँदै भन्नु भो “ओम बाबु, मैले त तिम्रो राम्रो खबर सुने नि, हाम्री मञ्जुको पनि पालो आउनलाग्यो, यस्तै राम्रो गरे त हुन्थ्यो नि, कस्तो गर्छिन् खै!"। "ममी, मञ्जुको पढाई पनि राम्रो छ, फष्ट डिभिजनमै पास गर्छिन्" मैले भनेँ। "खै बाबु! त्यति मन दिएर पढेजस्तो लाग्दैन मलाई। हुन त किताब लिएर पढ्न त बस्छिन्, तर पनि टोलाएर खै के के कुरा खेलाउदैँ बस्छिन् जस्तो लाग्छ मलाई त। उनको बाबा पनि त्यस्तै कुरा गर्नु हुन्थ्यो" ममीले यस्ता कुरा गर्दा मञ्जुले पुलुक्क मेरो अनुहारमा हेरिन् र सिरियस भईन्। केहि पनि बोलिनन्। केहि बेरमा घनश्यामसर पनि मुसुमुसु हाँस्तै आईपुग्नु भो “ल ओम, तिमीले त कमाल गरेछौ। कस्तो राम्रो नम्बर आको छ सबै बिषयमा”। उहाँले मार्कसिट पनि देखाउनु भो। अंग्रेजीमा बाहेक अरु सबै बिषयहरुमा फष्ट डिभिजनको नम्बर आएछ। घनश्यामसरले पनि मलाई सकेसम्म काठमाण्डौ गएर पढ्ने सल्लाह दिनु भयो। त्यसदिनबाट मनमा अर्कै किसिमको कुरा खेल्न थाल्यो 'सबैले मलाई काठमाण्डौ गएर धेरै पढ्ने सल्लाह दिन्छन्, गएर दुख गरेर पढ्न सकिन्छ भने, जानु पो पर्छ कि क्या हो!" भोलिपल्ट विहान भाईबैनीको डेरामा चुस्स निस्केर घर गएँ। साझाल्याण्ड फाल्गुन २६, २०६२
Read Full Discussion Thread for this article