Posted by: Ok March 11, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड ३३ भर्खरै एसएलसी सकिएको भए पनि म निकै नै ब्यस्त थिँए, घरकै कामहरुमा। दिनहरु वित्दै जाँदा स्कुलको झझल्को पनि घट्दै गयो। स्कुले साथीहरुसंग हुँदाका दिनहरुका सम्झनाहरु पनि विस्तारै दृष्यबाट टाढा हुन थाले। एसएलसी बेलामा उत्कर्समा पुगेको पढाई पनि नौलोनौलो लाग्दै गयो। सुरुका एकदुई हप्तासम्म सधैँ आँखामा नाचिरहने मञ्जुको अनुहार पनि धुमिल-धुमिल हुँदै गयो। पूरै त के हराउँथ्यो र, तर पनि पहिलेपहिलेको जस्तो छ्याङ्ग चाहिँ रहेन। खाईलाग्दो उमेर थियो मेरो। १५/१६ बर्षे लक्का जवान पनि भैसकेको थिएँ, लाठेले गर्ने काम पनि गर्न सक्ने। घरका परिश्रम पर्ने कामहरु भए पनि पढाईको टेन्सनबाट छुट्कारा पाएकोले मेरो ज्यान पनि बन्दै गयो। मोटो र अग्लो हुँदै गएँ। घरको सम्पूर्ण कामहरु आमाछोरा मिलेर गर्न थाल्यौँ। बुवाको मृत्यु पश्चात् आमाले पहिलो पटक नै काममा पालो पाउनु भयो। फाल्गनुचैत्रमा आफ्नै बारीमा फलेका आलु खनेर ओखल्ढुंगा हाट लगेर बेचेँ। एकदुई पैसा पनि भयो। त्यहि पैसा लिएर कटारी गएँ, नुनतेल ल्याएँ। कसैसँग पैसा माग्नु पनि परेन। त्यो बर्ष म चारपटक कटारी गएँ। पाँच पाथी नुन र एक टिन मट्टितेल सजीलै ल्याउँथे, एक खेपमा। करीवकरीव दुईबर्ष जतिलाई पुग्ने भो, नुनतेल पनि। आलुबारी तथा बाँझा पाखोहरुमा मकै छरिउँ आमाछोरा भएर। म आफैँले हलि काम गरेँ। पर्म गरेर हलि खोज्नु परेन। आमाले चोया काटिदिनु हुन्थ्यो, म डोका बन्थेँ। आमा मल उठाएर डोकामा हालिदिनु हुन्थ्यो, म बोकेर बारीमा पु-याउँथे। म जोत्थेँ, आमा मकै रोप्नु हुन्थ्यो। आमा थांग्रा गाड्ने डोब खन्दिनु हुन्थ्यो, म बन गएर थांग्रा ल्याँउथे। दुबै मिलेर थांग्रा गाड्थेउँ; बर्खामा स्कुस, काँक्रो, करेलो फलाउनलाई। आमा कोप्चे खोल्सामा गएर पानी ल्याउनु हुन्थ्यो, म बन गएर दाउरा खोजेर ल्याउँथे। बर्खायाममा लडेका पाखो बारीका छेउहरु कति बर्षदेखि गारो लगाउन नभ्याईकन त्यसै बग्रेल्ति थिए। आमाले ढुंगा जम्मा परिदिनु हुन्थ्यो, म गारो लगाउँथे। दिनभरि कामसकेर बेलुका रुख चढेर म घाँस झार्थेँ गाईबस्तुलाई, आमा टिपेर जम्मा पार्नु हुन्थ्यो। घर फर्केर मीठोमसिनु पकाएर खान्थेम्, दुखसुखका गफ गर्थेम्। कहिले बिगत फर्केर बितेर जानु भएका परिवारको सम्झना गर्थेउँ त कहिले भोली के गर्ने होला भनेर योजना बनाउँथिउँ। कहिलेकाहिँ मञ्जु र मञ्जुको परिवार पनि आउँथे, गफमा। हाम्रो घरको पछाडि पट्टिको गारो पैँतालिस सालको भुकम्पले लडेर भत्केको थियो। गाँउका ठूलाबडा भनाउँदाले अलिअलि चर्केको मात्र देखाएर पनि सरकारबाट पैसा ल्याएर खाए। हाम्रो घर त्यत्रो लड्दा पनि हामीले चाहिँ केहि सहुलियत पनि पाएनौ। जति नै अनुरोध गर्दा पनि केहि लागेन। त्यतिखेर कामचलाउ मात्र बनाएर पुरपार पारेको ठाँउ फेरी लडेको थियो, गएको बर्खाको पानीले भिजेर। आमाले त्यहि भत्केर लडेको ठाँउमा सुकेको खरको भारीले थुनेर काम चलाउनु भएको थियो। छानो पुरै निकालेर त्यो ठाउँमा पनि राम्रोसँग गारो लगाएँ। नयाँ खरले छानो पनि छाएँ। साँगुरो थियो आँगन, गारो लगाएर अलिक फराकिलो बनाएँ। बर्खामा गाईबस्तु बाँध्ने कटेरो बनाएँ, घरै अगाडि। हाम्रो घर कति राम्रो भयो अब त, चिटिक्क परेको! हिउँदमा सुकेपनि बर्षायाममा निकै पानी हुन्थ्यो, कोप्चे खोल्सामा। करिव चारपाँचसय मिटरको दुरीमा भएपनि बिचको चालिसपचास मिटर जति चाहिँ भिर पर्थ्यो। सोचेँ 'त्यो खोल्साको पानी ल्याउन सक्यो भने पाखोबारीलाई यसो सम्याएर एकदुई सुर्का भएपनि धान रोप्न पाए, दशैँतिहारमा धान खोज्दै गाँउ चाहर्नु पर्ने थिएन'। हाम्रो मात्र बारी पर्थ्यो त्यो खोल्साको पानीले भ्याउने। वरिपरी जंगलैजंगल थियो। अप्ठ्यारो ठाँउ जतिमा ढुंग्रेबाँसको डुँड बनाएँ, सजिलो जति ठाँउमा सानो कुलो खनेँ। असारमा धान रोप्नु अगाडि नै सानो पानी बारीसम्म ल्याईपु-याएँ। असार र साउन महिनामा स-साना तीनओटा सुर्का खेत बनाएर धान रोप्यौँ। हिमाली धान मात्र फल्थ्यो, तराईतिर हुने धान चाहिँ चिसोले फल्दैनथ्यो। यसपाली आफ्नै बारीमा धान रोप्दा दंग नपर्ने कुरै थिएन। साउन लाग्दा नलाग्दै सबै पाखोबारीमा कोदो पनि रोपिसकिउँ। यसपालीको बर्षामा हामीले नै पहिला कमाई लगाई सकेँउ अरुहरु भन्दा। भाईबैनिको पनि बर्षे बिदा भएपछि त काम छिट्टै सकियो। क्रमश:
Read Full Discussion Thread for this article