Posted by: world_map March 11, 2006
Login in to Rate this Post:
0
?
नेपाली कान्छा,
राम्रो कविता लेख्नुभो, अरू पनि लेख्दै गर्नुस्।
म चैं यौटा अर्को कविता लिएर आएँ, आजै लेखेको, अलि प्रतीकात्मक भएछ। प्रतिक्रिया दिनुहोस् है मित्र हो!
पुरातन सालिक
कृतृम अन्धकारको घेरा
चेतनाको प्रकाशले तोडेर
दासत्त्वको मोटो जन्जिर
आँटको करौंतीले फोडेर
गरीबी, अज्ञानता र थिचोमिचो विरूद्ध
छुवाछुत, असमानता र अन्याय विरूद्ध
समुद्रमा उर्लिएको भयंकर छाल झैं
कोलाहल मच्चाउने त्रासदीपूर्ण काल झैं
चीलले उचाईबाट चल्ला झम्टे झैं
झम्ट त्यो दासता र क्रूरताको
निर्दयी सालिकमाथि
र मिल्काईदेऊ तिनका ढोंगी आश्वासन
झूठा प्रतिज्ञा अनि कपटी प्रलोभनलाई
इतिहासका थोत्रा पानाहरूमा,
अनि बन्नदेऊ त्यसलाई केवल
संग्रहालयको एक ‘शो पिस’।
सयौं वर्षदेखि त्यही सालिकले,
त्यही निर्जीव सालिकले
अन्यायको जाँतोमा पिंधिरह्यो तिमीलाई
तर तिमीले केही चाल पाएनौ
त्यो सालिक हो भनेर पनि थाहै पाएनौ
तिमीले जति जति जयजयकार गर्दै गयौ
त्यो उति उति तिमीमाथि लड्न खोज्यो
जब तिमीलाई भार महसूस भयो
र टाढा सर्न खोज्यौ
तबसम्म उसले तिमीलाई
पूर्णतया: जकडीसकेको थियो
र तिमीलाई भरिया बनाइसकेको थियो
अब तिमी उसलाई बोकी अघि बढ्न सक्दैनौ
उसको अजंगको भारले तिमीलाई थिच्छ
उसको कुटील उद्देश्यले तिमीलाई किच्छ।
त्यसैले यो पुरातन सालिकलाई अब
मिल्काइदेऊ तिमी इतिहासको पानामा
नझुक्किऊ तिमी उसका चिप्ला शब्द
अनि ढोंगी राष्ट्रवादको गानामा
तिमी अब यो सालिकबिना नै
अघि लम्किन सक्छौ प्रगतिपथमा
तिमीलाई अब इतिहास कोर्न
कुनै सालिक चाहिंदैन
इतिहासलाई अब अघि बढ्न
कुनै सालिक चाहिंदैन।