Posted by: Ok March 5, 2006
Login in to Rate this Post:
0
?
बाटामा मञ्जुले पनि केहि भनिनन्, मैले पनि केहि भन्नै सकिन। सायद छुट्टिनेबेला कोमल भएका आ-आफ्नै मनलाई कन्ट्रोल गरेर बोल्ने हिम्मत आएनछ क्यारे, चुपचाप रह्यौँ बाटैभरी। कोठामा पुगेपछि म किताब कपि छुट्याउन थालेँ र मञ्जुलाई पनि आफूलाई चाहिने छुट्याएर झोलामा हाल्न भनेँ। मञ्जु चुपचाप झोलामा हाल्न थालिन्। भेटेको बेला जहिले पनि विछोडको कुरा गर्ने मञ्जु त्यो दिन केहि पनि बोलिनन्। धेरैबेर पछि मलाई साह्रै अप्ठ्यारो लाग्यो र सोधेँ “किन के भयो मञ्जु तिमीलाई आज, बोल्दा पनि बोल्दिनौ?” उनले झ्बाट्टै उत्तर फर्काईनन्। निकैबेर पछि भनिन् “ओमदाई, अब हाम्रो भेट कहिल्यै हुन्न होला है?” “किन नहुनु नि, भैहाल्छ नि। एसएलसीको रीजल्ट राम्रो भएछ भने माष्टरको जागिरको लागि एकपटक हेडसरसँग कुरा गर्छु। रामपुरमै मिल्यो भने त सधैँ भेट भैहाल्छ नि” मैले भविश्यको आसा देखाँए उनलाई र म आफैँलाई पनि। मैले त्यसो भनिरहँदा उनि मुसुक्क मुस्काईन् “अहा! त्यस्तो भैदे त कस्तो मज्जा हुन्थ्यो हगि। त्यसपछि चाहिँ तपाईँ हाम्रै घरमा बस्ने ल सधैँ”। तर उनको हाँसो छिट्टैनै हरायो। मैले पनि अन्य के के गफ गरेर उनलाई विछोडको बेला भावुक हुनबाट जोगाउने कोषिष गरेँ। सम्पूर्ण रुपमा त सफल भइन, तर आंशिक रुपमा भएपनि उनलाई बोल्नसक्ने चाहीँ बनाएँ। एक घन्टा जतिमा सबै समान हालिसक्यौँ। मैले घर लिएर जाने समान पनि धेरै थिएनन्, भोलीदेखि त्यहि कोठामा आईहाल्छन् भाईबहिनी।
मञ्जुले आफ्नै झोला बोकिन्, मैले पनि आफ्नै झोला बोकेँ र हामी कोठाबाट निस्कियौँ। उनि रुन लागिसकेकी थिईन्। म पनि केहि बोलिन, आफ्नो पनि हालत करीवकरीव उस्तै नै थियो, के भनेर बोल्ने भन्ने लागिरह्यो। मञ्जुको घरजाने बाटो छुट्टिने बेलामा भनेँ “मञ्जु, ल राम्ररी बस। राम्रो सँग पढ है। तिमी ठूली मान्छे बन्नु पर्छ। त्यस्तो राम्रो घर छ तिम्रो, तिमीले त चाहेजति पठ्न पाईहाल्छेउ नि! तिमीले गर्दा मैले पढ्न पाएको सहयोग कहिल्यै पनि बिर्सने छैन”। मैले यति भनि सक्न नपाउँदै टक्क उभिएर उनि त सुंक्क सुंक्क गरेर रुन थालिन्। उनका आँखा टिलपिल भरिए। हतारहतार ओढ्नेले पुछेर नदेखाउने कोषिष गरेपनि आँसु रोकिएनन्। बेकारमा भनेछुँ भन्ने लाग्यो मलाई, वरिपरीका मान्छेले देखे भने के भन्लान्? “ल है त बस” म बाटो लागेँ। “ओमदाई, म उ मास्तिर डिलसम्म तपाईँसँगै पुगेर फर्कन्छु नि है?” उनि पनि म सँगसँगै आईन्। मैले केहि पनि भनिन। डिलसम्म पुग्दा पनि खासै केहि गफ भएनन्ए। रामपुर डिलको ठूलो ढुंगामाथी एकछिन् बसौँ न भनेर उनले नै अनुरोध गरिन्। आज्ञाकारी म उनले भनेको कुरा मान्दै गएँ। म घर जाने बाटो हेर्दै र बिछोडका कुराहरु गर्दै निकैबेर बसिउँ हामी त्यहाँ। धेरै नै बेर भएपछि “म जान्छु है, जाउ तिमी पनि अब घर। तिमीलाई खोज्ने बेला भैसक्यो घरमा!” भन्दै झोला बोकेँ र ओह्रालो लागेँ। उनि त्यहि ढुंगामाथि उभिएर विस्तारै वाईवाईको हात हल्लाईरहेकी थिईन्। तलको वरपिपल चौतारोको अन्तिम देखिने ठाँउबाट यसो उभो फर्केर हेर्दासम्म मञ्जु त्यहि ढुंगामाथी बसेर हात हल्लाई रहेकी थिईन्।
साझाल्याण्ड
फाल्गुन २१, २०६२