Posted by: Ok March 5, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
निकैथरीका गफगाफ भए त्यो बेलुका। “अब के गर्छौ त ओम?” घनश्यामसरले मेरो भबिश्यको बाटोबारे जान्न चाहनुभयो। “अब पास भएँछु भने एउटा मास्टरको जागिर खाने धोको छ सर। आमाको पनि मलाई एसएलसी सम्म पढाएर ठूलो माष्टर बनाउने मन छ” मैले उत्तर दिएँ, आफूले थाहा पाएको। त्यतिखेर एसएलसी पास गरेर प्राबि शिक्षकको तलब १२५० रुपैँया तलब आँउथ्यो, भर्खरै ९०२ रुपैंयाबाट बढेर त्यति भको। “त्यत्रो तलव भएपछि त हामी धनि भैहाल्छौँ नि” त्यत्रो धेरै तलबको कुरा मात्रै गर्दा पनि मनै खुशि हुन्थ्यो। “मैले भन्ने त काठमाण्डौ गएर अझ धेरै पढ भन्ने हो, तर घरब्यबहार पनि त हेर्नु प-यो, आमाको कुरा पनि सुन्नु पर्छ” घनश्यामसरले ब्यबहारिक हुन सिकाउँदै उहाँको कुरा पनि राख्नुभयो। “बाबु, यत्रो बर्ष आवतजावत भयो। निकै घुलमिल भयो। एकैघरको परिवार जस्तो भएर बसियो। अब फेरी हिड्न लागेउ। चिनजान भएपछि फेरि छुट्टिने बेला हुँदा नरमाईलो लाग्दोरहेछ” मञ्जुको ममीका छुट्टिने कुराले मेरो मनमा पनि कताकता अप्ठ्यारो लाग्यो। मञ्जु त गत एक हप्तादेखी नै सिरियस भैसकेकी थिईन। जतिबेला भेटहुँदा पनि ‘अब त यति दिन मात्र बाँकी छ है तपाईलाई देख्ने्, भेट्ने’ भन्दै दिन गनेर मुखलाई अँध्यारो बनाउँथिन्। “अब फेरी भेट हुने हो कि हैन?” उनको मुखमा नै यहि बसेको थियो, जतिबेला पनि। “के भनेको तिमीले त्यस्तो, भैहाल्छ नि मञ्जु, कति नै टाढा छ र, जाबो तीन घण्टाको बाटो त हो नि” मैले उनलाई सम्झाउँथे। “खै के हुन्छ, के हुन्छ?” उनको अनिश्चितता अनि निराशा कायमै रहन्थ्यो। “एसएलसी पछि त फूर्सद हुन्छ तपाईँलाई, कहिले काहिँ आउनोस् न है हाम्रो घरमा” उनका सधैँजसो भेट्दाका यस्ता अनुरोधहरुमा कुनै बनावटीपन थिएन, केवल चोखोमनबाट नलुकाई पोखिएका आत्मिय सोचहरु मात्र थिए। भोलिपल्ट बिहान खाना खाईसकेर घनश्यामसरको घरबाट बिदा मागेँ। मञ्जु पनि मसँगै मेरो कोठामा गएर उनलाई चाहिने एसएलसीका नोटकपी, किताब ल्याउन एउटा ठूलो झोलाका साथ तयार भईन्। मलाई निकै नरमाईलो लाग्यो, हिड्नेबेलामा। हर्के घाँस गैसकेछ बिहानै। ‘ओमबाबु म आएपछि मात्र जानु हुन्छ होला’ भन्दैथ्यो रे बिहान त। तर उ म हिड्ने बेला सम्म पनि आईपुगेन। मञ्जु त भित्रभित्रै रुन लागिसकेकी थिईन्। बाबाममीलाई नदेखाउन सकेसम्म आँसुरोक्नु र झरिहाले पनि ओढ्नेले छोपेर पछाडि फर्केर पुछ्नु नै उनको नियमितता भैसेको थियो, हिँजो बेलुकैदेखि। घनश्यामसर र ममीलाई नमस्कार गरेँ “सर, हजूरले मलाई यत्रो सहयोग गर्नु भो, जेलबाट सहित झिकेर ल्याउनु भो। हजूरको सहयोग बिना त म कहिलै पनि यत्रो पढ्न सक्तिनथेँ होला। थाहाछैन, म हजुरको यो सहयोगलाई कुनै रुपमा फिर्ता गर्न सक्छु कि सक्तिन। ममी अब म जान्छु है...” म त निकै नै भाबुक भएँछु। “त्यस्तो केहि नसोच, अब पछिका दिनमा पनि तिम्रो प्रगतिको खबर सुन्न पाउँ, त्यति भए पुग्छ हामीलाई” घनश्यामसरले आफ्नो उदारतालाई कहिलै तल पार्न दिनु भएन मेरो अगाडि। मञ्जुको ममीले हिड्ने बेलामा “ल यो लगेर आमालाई देउ” भन्दै एउटा सानो झोला दिनु भो र भन्नु भो “आँउदै गर है बाबु, हाटतिर आँउदा पनि यसो निस्कनु नि कहिलेकाहि”। मञ्जु पनि “नोटकपीहरु लिएर आँउछु है” भनेर मसँगै पछि लागिन्। छेकिनेबेलामा एकपटक पछाडि फर्केर हेर्दा घनश्यामसर र मञ्जुको ममी मुलढोका नजिकै दलिनमा उभिएर हामीलाई हेरिरहनु भाथ्यो। क्रमश:
Read Full Discussion Thread for this article