Posted by: Ok March 5, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड ३२ अब फेरी मेरो घनिष्टता घनश्यामसरको घरसँग बढ्दै गयो। मञ्जु मेरो कोठामा आउनुजानु तथा म मञ्जुको घर आउनुजानुमा कुनै समय र बार कुर्नु परेन। घुलमिल, आउजाउ तथा खानपिनमा पनि कुनै छेकाबार थिएन, मलाई उनको घरमा। मञ्जु पनि मेरो कोठामा आईनै रहन्थिन्। कहिलेकाहीँ त रातै पनि बस्थिन्। मेरी बहिनीसँग खुब कुरा मिल्थ्यो उनको। उनीहरु रातभरी गफ गरेर हैरान पार्थे मलाई कहिलेकाहिँ, एसएलसी बेलाको पढाईलाई नै डिष्टर्व गर्ने गरी। घनश्यामसरको घरमा केहि मीठो कुरा पाक्यो कि मञ्जु ठूलो ओढ्नेले छोपेर मेरै कोठामा ल्याईपु-याँउथिन्; चाहे पकाएको खिर होस् या सेलरोटी, चाहे दहिको ठेकी होस् या दुधको कुराउनी। हुँदाहुँदा भाईबैनी पनि जान्थे कहिलेकाहिँ मञ्जुको घरमा। मेरी आमालाई पनि कहिले के कहिले के पठाईरहनु हुन्थ्यो, मञ्जुको ममीले। आमा पनि आफ्नो गच्छेले भ्याउने चिजहरु जस्तै सागको गुन्द्रुक, निबुवाको अमिलो, परपर्याउने टिम्मुर पठानुहुन्थ्यो मञ्जुको ममीलाई। देखादेख र भेटघाट नभएपनि मेरी आमा र मञ्जुको ममी निकै नै नजीक भैसक्नु भयो। २०४६ साल चैत्र २४ गते जनआन्दोलन सफल भैसकेपछि त हाम्रा गाँउका ठूलाठालुका पनि नुर गिरे। कसैले काँचुली फेरेर काँग्रेसतिर लागे, कोही मदन भण्डारीको तात्कालिन मालेतिर लागे, कोही राष्ट्रिय प्रजातन्त्र पार्टीतिर पसे। कसैले पनि हामीलाई हेपेन, बरु डराए सुरुसुरुमा त। रमाईलोसँग बित्यो त्यो बर्ष हाम्रो। मंसिर महिनामा सञ्चालित मेरो टेष्टको परीक्षा पनि राम्रै भयो। सबभन्दा सजीलो लाग्ने गणितको चाहिँ अंकगणितका २ बटा प्रश्नमा नराम्रोसँग झुक्किएँछु। रिजल्ट पनि त्यस्तै भयो, जेनतेन फष्ट डिभिजन आयो। त्यो बर्ष पुसमा नुनतेल लिन कटारी गईन, माघ महिनाको एसएलसी पछि हुने फूर्सदमा जाउँला भनेर। दुईतिन महिनाका लागि पैँचो मागेर काम चलायौ। सँयोगबस एसएलसीको केन्द्र पनि हाम्रै स्कुलमा तोकियो। ओखल्ढुंगा बजारमा कोठाखोज्दै चाहर्नु परेन, सायद जनआन्दोलनको सफलतामा दर्जनौँ सहिदहरुको रगतले रँगिएको माटोलाई तिर्नैपर्ने रीनले गर्दा होला, यसपाली रामपुरमै केन्द्र दिएको। आफ्नै कोठामा बसेर एसएलसी दिन पाएँ। टेष्टको तुलनामा एसएलसी चाहिँ राम्रो भयो, राम्रै फष्ट डिभिजनको आसा गरेँ। एसएलसी सकिएको बेलुका घनश्यामसरको घरमा बस्नेगरी जाने कुरा पहिले नै मञ्जुले मलाई मनाईसकेकी थिईन्। मैले नाईँ भन्ने हिम्मत नै गर्न सकिन। भाईबहिनीचाहिँ एकदुईदिन अघिदेखि नै घरै बाट धाउथेँ, आमाले गाईभैसीँ दुहुन महिनामारीले छेकेको हुनाले। म चाहिँ मञ्जुको घरमा नै बसेँ, परीक्षा सकिएको दिन बेलुका। क्रमश:
Read Full Discussion Thread for this article