Posted by: Ok March 4, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
साथीहरु, नढाँटिकन भन्नु पर्दा म साँच्चिकै दोधारमा छु । यो साझाका धेरै साथीहरुको सुझावहरुलाई हेर्दा यो कथालाई छपाउँदा पनि हुने हो कि जस्तो लाग्छ। केदारजी जस्तो नेपाली भाषा‍-साहित्यको पारंगत मान्छे र दिपकजी जस्तो कुशल लेखकले छपाउने सल्लाह दिंदा मलाई निकै नै गौरव लागेको छ। केदारजीले सम्पादनको काम गर्न तयार हुनु नै मेरो लागि सबभन्दा ठूलो उपलब्धिको रुपमा लिएको छु मैले। अंग्रेजीमा उल्था गर्ने देखि लिएर चलचित्रको निर्माण गर्ने लगायतका कुराहरु पनि गर्नु भएको छ साथीहरुले। सुझाबको लागि धन्यबाद। तर पनि यी सब कुराहरु भनेका निकै पछिका कुराहरु हुन्, हुन पनि सक्छन् र नहुन पनि। सम्पूर्ण साथीहरुको सहयोग पाएमा अहिले गर्न सक्ने भनेको नेपाली भाषामा सम्पादन र प्रकाशनको कुरा नै हो। जबदेखि साझामा छपाई सम्बन्धि कुराहरु आए, तबदेखि नै त्यस्तो किताबको सामान्य खाका चाहिँ बनाएको छु। तर पनि यस्तो खाका अहिले सम्म सोचाईमा मात्र सिमित छ। सुरुदेखि नै निकै काम गर्नु पर्ने छ, यसको न्वारनदेखि नै। "मञ्जु मलाई माफ गर है!" शिर्षक वियोगान्त प्रेमकथा जस्तो लाग्छ। तर उपन्यासको कथा भने पूर्णरुपले सामाजिक छ। सामाजिक कथालाई एक निश्चल तर ब्यक्त गर्न नसकी आफैँभित्र लुकाएर राखिएको गहिरो प्रेमकथाले साथ दिएको छ। न त प्रेम प्रसंग बिनाको सामाजिक कथा नै पूर्ण छ, न त सामाजिक कथा बिनाको प्रेम प्रसंग नै। कस्तो किसिमको शिर्षक ठीक हुने हो, त्यो पनि निकै विचार गर्नु पर्नेछ। पुस्तकाकार नै दिने भएपछि यस्को पाठक क्षेत्र पनि बढाउनु पर्ने हुन्छ। मेरो अहिले सम्मको सोचाई चाहिँ दुई भागमा कितावीरुप दिने भन्ने छ। पहिलो भागमा (जसमा १० देखि १५ खण्डहरु हुनेछन्) अहिले सम्म लेखिएको मध्य-पहाडी सामाजिक जनजीवन समेटेर र दोस्रो भागमा (जसमा पनि १० देखि १५ भाग हुनेछन्) तिनै ग्रामिण पात्रहरु उच्च शिक्षाको खातिर काठमाण्डौ आउँदा गर्नु पर्ने संघर्षलाई समेटेर जम्माजम्मि ३०० पेज जतिको किताब बनाउन सक्यो भने यस्ले अलिक ठूलो क्षेत्रलाई कभर गर्न सक्छ। पुस्तक छाप्ने नै भए पछि यो दोस्रो भाग पनि आवश्यक देख्छु म त। केदारजी लगायतका साथीहरुसंग सल्लाह गरेर यस्को प्रारुप तयार पार्नेछु। फेरी कहिलेकाँहि चाहिँ अर्कै किसिमका कुराहरु पनि खेल्छन् दिमागमा। म पूर्णरुपेण असाहित्यकार/अलेखक हुँ। मैले यो बाहेक कहिल्यै केहि लेखेको छैन। मैले यसो भनेको न त कुनै घमण्ड गरेर हो न त कुनै भाउ खोजेर। यो सत्य कुरा गर्न मलाई कुनै अप्ठ्यारो लागेको छैन, किनभने मैले साझाका केहि साथीहरु बाहेक पाठकको धारणा जाँच्न कहिल्यै पाएको छैन। म चाहन्न कि यो किताव प्रकाशन गरेर नेपाली भाषा-साहित्यको स्तर गिरोस् या एउटा कमजोर किताबको रुपमा कतै थन्कियोस्। बरु नछपाउँदा नै मलाई केहि फरक पर्दैन किनभने मैले अहिले लेखिरहेको न त कुनै ब्यवसायिक रुपले हो न त कुनै बाध्यताले नै। केवल एउटा सोख र आत्मसन्तुष्टिको लागि लेखिरहेको छु। साथीहरुबाट सिरियस किसिमका सुझाबको आसामा छु। मलाई लाग्छ अहिलेसम्म साझामा कथा मन पराउने साथीहरुले मात्र कमेन्ट गर्नु भाछ, मन नपराउने साथीहरुको कमेन्ट मैले हेर्न पाएको छैन। छपाउने नै हो भने चाहिँ मलाई यो छपाउन कुनै कठीनाई छैन। केदारजी लगायतका साथीहरुको सहयोगमा यो छपाउन केही गाह्रो छैन। तर समय चाहिँ अझै लाग्छ। दोस्रो भाग लेख्नै बाँकि छ। दिपकजीले भने जस्तै म सकेसम्म पहिलो ड्राफ्ट असार मसान्तसम्म तयार पारेर केदारजी र अन्य केहि साथीहरुलाई पहिलो कमेन्टको लागि दिनेछु, प्रकाशन योग्य-अयोग्य छुट्याउनको लागि। त्यसपछि पोजिटिभ कमेन्ट आएमा २०६३ सालको दशैँ अगाडि प्रकाशित गर्ने गरी परिमार्जन तथा सम्पादनको काम अघि बढाउनु पर्ला। सबै साथीहरुलाई कमेन्ट र सुझाबको लागि धन्यबाद। --- ओके पूनश्च: यदि यो कथालाई पुस्तकाकार नै दिने हो भने सो साझामा सबै भागहरु खुला गर्दा कतै पछि किताब पढ्नेलाई खल्लो त लाग्दैन? अनुभवी साथीहरुबाट उचित सल्लाहको आसामा छु।
Read Full Discussion Thread for this article