Posted by: Gautam B. February 28, 2006
Login in to Rate this Post:
0
?
साझामा टाँसिने नेपाली कविताहरु एकै ठाऊँमा पढ्न र प्रतिक्रयाहरु एकापसमा आदानप्रदान गर्न पाईयोस् भनेर यो कविताको देश खडा गरिएको थियो। यो देशले सबैबाट अत्यन्तै धेरै माया र सदभाव पायो, त्यै माया र सदभावका कारण यसको यात्रा अगाडि बढ्यो र बढिरहेछ। यहाँ सक्रिय सहभागिता जनाउनुहुने कवि-कवियत्रीहरु, सुझाव र प्रतिक्रियाले हामीलाई आफ्नो लेखनी सुधार्न प्रेरित गर्नुभएका सबै साथीहरु र कविताको देशका सम्पूर्ण पाठकहरुलाई धेरै धेरै धन्यवाद। हाम्रो यो भावनाको यात्रा निरन्तर चलिरहनेछ।
साझामा ३०० पोष्टिङको सीमा हटेजस्तो छ अब। त्यसैले कविताको देशको नया भाग शुरु नगरी पुरानैमा निरन्तरता दिने हो कि जस्तो पनि लागेको थियो, तर पोष्टिङ ज्यादै धेरै भयो भने अलिकति अलमल थपिदो रहेछ पढ्ने बेलामा, विशेष गरी नया पाठकका लागि। नया
भाग शुरु गरेर पुरानो तिर जाने साँघु राखेपछि पुरानोलाई पनि हुने नयालाई पनि हुने भनेर नया भाग शुरु गर्दैछु। सकृय सहभगिताका लागि फेरि पनि सबैलाई स्वागत र अनुरोध।
कविताको देशको अघिल्लो भागतिर जानको लागि साँघु यो हो;
- http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557
आजको लागि यो कविता। नया हो, काँटछाँट बाँकीनै छ, अहिलेलाई राखिहालौँ।
"मैले नेपाल छोडेको छैन"
हरेक पल मनको आँखामा
पाखाको गोरटोसंगै हल्का हल्का तेर्सिएर
सञ्चो-विसञ्चो सोध्दै उकालो लागेको छु,
देवीथानको चौतारीबाट
शिखरहरुसंग आँखा जुधाएर
भञ्ज्याङहरुको नाम भनेको छु
नटुंगिने नागबेली बाटाका
हरेक मोड औँलाले गनेको छु,
आमा रोएको बेला
अत्तालिएर रोएको छु
आमा अलिकति हाँसेको बेला
खुशी बाँड्न मैले-
एकछिन बतासै रोकेको छु
डढेलो सल्केको छ मेरो समयमा-
आगो निलेको छु श्वाशमा
र आगै बाहिर फ्याँकेको छु;
हरेक पल यस्तै यात्रा गरेको छु
यस्तै यस्तै यात्रा गरेको छु
हेर नपत्याए-
पैतालाभरि नेपालकै धूलो बोकेको छु
नक्शाको देश छाडे हुँला एकैछिनलाई
तर हरबखत मुटुमा देश बोकेको छु।