Posted by: Ok February 24, 2006
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
पूजा पनि निकै ठूलो भयो। धेरै मानिस जम्मा भए। गाँउका सबैको आँखामा नबिझ्ने परिबारको पूजामा नजीकपासोका सबै जना आए। "पूजामा त नबोलाए पनि ढुकिढुकी प्रसाद खानुपर्छ" बोलाउन छुटेकाहरु पनि यसो भन्दै आए। चारबजेबाट सुरु गरेको रे पूजा। मञ्जु र म पुग्दा साँढेपाँच जति बजेको थियो। पण्डित पनि घनश्यामसरका सगोत्री रहेछन्। पूजापाठगरे पनि दानदक्षिणा चाहिँ लिँदारहेनछन्। नजीकपासोका कोहि नहुँदा एकजना अलिक परका भान्जा पर्नेलाई दिने गरेको थियो पहिलापहिला, पूजाको सबै दानदक्षिणा। यसपालीको पूजामा आँउछु भनेर पनि उनि आएनछन्। पूजामा दानदक्षिणा लिनेको नाम भन्नु भनेर पण्डितले भनेपछि कस्को नाम भन्ने कस्को नाम भन्ने, सबै अक्क न वक्क परे। यसो एताउति हेरेझैँ गरेर पण्डितले त्यो बुढो चस्मा मिलाउँदै मतिर हेर्दै भने "उ बाबु को हुन् नि मञ्जु नानीसँग हिड्ने? के जातका हुन?"। घनश्यामसरले छोटो उत्तर दिनुभो "पारीका खनाल हुन्। मञ्जुका साथी, यहिँ स्कुलमा पढ्छन्"। "ए लो केहि नातो नपरे, बाहुन पनि रहेछन्, यिनैलाई नै दिँदा हुँदैन। ज्वाईँ बनाए त हुने रहेछ" पण्डितले प्याट्टै बोले। मञ्जुले पिलिक्क मेरो मुखमा हेरिन्, आश्चार्यचकित हुँदै। अनयास यस्ता कुरा सुन्दा म त अक्क न वक्क परेँ, के भन्ने न के भन्ने भनेर। "किन नहुनु नि! बाबुका बुवा त पण्डित काम गर्नु हुन्थ्यो रे पहिला!" मञ्जुको ममीले पनि पण्डितकै कुरामा सहि थप्नुभो। "ए ल हुन्छ, ल बाबुलाई नै दिने, हुन्न त ओम?" घनश्यामसरले म तिर चुस्स हेरेर पण्डितलाई पूजा अगाडि बढाउन भन्नु भो। घनश्यामसरको कुरा म काँहा नमान्न सक्थेँ र? मैले पनि अप्ठ्यारो लागि लागि हुन्छ भनिदिँए। छ बजे पूजासकियो। सबैलाई टीका र प्रसादि लगाईदिए पण्डितले। चेलीकुटुम्बलाई दक्षिणा दिँदै जानु भो घनश्यामसरले। आजको पण्डित मलाई पहिला र नजीककी छोरीचेली मञ्जुलाई म पछि दक्षिणा दिनु भो। पल्लो घरको गिरिराजले काठ्माण्डौबाट क्यामरा ल्याएको रहेछ। रिल पनि सकिन लागेको रहेछ। "ए, मञ्जु एउटा मात्र रिल बाँकी छ, फोटो खिच्छेस्?" उस्ले मञ्जुतिर हेर्दै भन्यो। "खिच्छु दाई" मञ्जु हत्त न पत्त फोटो खिच्न तयार भईन्। म पनि फोटो खिचेको अनौठो मानिमानी हेरिरहेको थिएँ। फोटो खिच्नै लागेको बेला मञ्जु चिच्याईन् "गिरिदाई, पख्नुस् पख्नुस्!"। मञ्जुले मतिर हेर्दै बोलाईन् "ओमदाई तपाईँ पनि आउनुस् न"। मलाई पनि कम्ता फोटो खिच्ने रहर लागेको थिएन। म पनि मञ्जुको छेउमा गएर उभिएँ। गिरिराजले फोटो खिच्दै भन्यो "ल रिल पनि सकियो, अन्तिमको फोटो आउँछ कि आउँदैन"। मञ्जुले हतनपत्त भनिन् "जसरी पनि निकाल्दिनुस् है गिरिदाई यो फोटो"। त्यहि पुरानो मैलो फोटोनै म काठमाण्डौबाट पहिलो पटक अमेरीका आँउदा मञ्जुले उपहार स्बरुप दिएकी थिईन्, एउटा चिठ्ठीसँगै। साझाल्याण्ड फाल्गुन १२, २०६२
Read Full Discussion Thread for this article