Posted by: Ok February 24, 2006
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
रात झमक्कै परिसकेको थियो। मञ्जु उनकै घर जाने कुरा गरिन्। कुराको सुरमा कसैलाई पनि साँझको हेक्का भएन। “रात त धेरै परिसकेछ। ला, अब के गर्ने होला, मलाई त डर लाग्छ” मञ्जु अतालिन थालिन्। “अब यतै बस आज” मैले छोटो कुरा गरेँ। उनले मानिनन् “नाईँ के, मलाई बाबाममीले मार्नु हुन्छ, हिँजो पनि यहिँ बसेकी, सधैँ बाहिर बस्ता त मलाई मार्नु पो हुन्छ। ओमदाई, मलाई घर पु-याईदिनुस् न प्लीज” उनको अनुहारले साँच्चैनै विपत्तिको आभाष दियो। “अनि मलाई भरे एक्लै फर्कँदा चैँ डर लाग्दैन कि क्या हो?” मैले जिस्काएँ। “उतै बस्नु होला नि आज” उनले झन् उनकै कुरा गरिन्। “अँ भाई बैनीलाई डर लाग्दैन कि क्या हो, यहाँ एक्लै बस्न” मैले कुरा मोडेँ। मञ्जु त झन् अतालिन थालिन्। “ल हिँड न त” मैले उनको कुरा मान्दिएँ। “बस्तै गर है म एकैछिनमा आँउछु“ भाईबैनीलाई अह्राउँदै म र मञ्जु कोठाबाट निस्किँउ। अँध्यारो निकै बढिसकेछ, बाटै नदेखिने। अलिकपर पुगेपछि माथ्लो गराको डिलमा टेकेँ भन्दा मञ्जु त डिलमुनी पो झरिछन्। धन्न रामपुरका गराका कान्ला साना थिए र केहि पनि चोटलागेन। त्यसपछि मैले उनको हात समाएर नै उनको घरसम्म पु-याईँदिएँ। मतानको छेउमा पुगेपछि “अब त जान सक्छ्यौ होला नि” मैले उनको हातलाई छोड्दै भनेँ। “अब त सकिहाल्छु नि, ओमदाई, आउने शुक्रबार चाहीँ सत्यनारायणको पूजामा हाम्रै घरमा बस्ने गरी आउनु है!" उनले फेरी एकपटक अनुरोध गरीन्। म चाहीँ मञ्जु मुलघरको ढोकाभित्र नपसुन्जेल हेरीरहेँ र भित्र पसेपछि आफ्नै कोठामा फर्किँए।
शुक्रबार एकबजे स्कुलबाट छुटेर भाईबैनीहरुलाई ‘म भोली बिहान घर आँउछु है, आज घनश्यामसरले सत्यनारायणको पूजा खान बोलाको छ। आमालाई त्यही खबर भन है' भनेर स्कुलबाट कोठामा फर्कने बित्तिक्कै घर पठाएँ। म चाहीँ ट्युशन पढाउन थालेँ। मैले ट्युशन पढाउँदा पढाउँदै मञ्जु पनि आईपुगिन् र भान्सानेरीको गुन्द्रिमा बसिन्। मैले ट्युशन सकेर मञ्जुलाई सोधेँ "किन आकी मञ्जु, के काम प-यो?"। मञ्जुले भनिन् "हिँड्नुस् न अब, ममीले मलाई लिएरै आउनु भनेर पठाउनु भको। आज हाम्रो घरमा बस्ने गरी जाने भनेको हैन अस्तिनै देखि"। "ए हो र? ला मैले त भुसुक्कै बिर्सेको।" मैले बुझपचाएर अभिनय गरेँ। "अहिले म मार्दिन्छु अनि, झन् त्यतिभाँति अनुरोध गरेको" मञ्जुले लाडे पार्दै टाउको यसो बंगाएर एउटाहात मुड्कि पारिन्, छड्के आँखाले हेर्दै "हिँड्नुस् त छिटो, त्यतिकै बिर्से जस्तो गर्नु हुन्छ।" उनको अगाडि बिर्सेजस्तो अभिनय गरे पनि घनश्यामसरले बोलाईसकेपछि म किन जान्नथेँ र?
क्रमश: