Posted by: what more February 9, 2006
SAJHA NEPALI GURU
Login in to Rate this Post:     0       ?        
अब कुरो आयो नेपाली व्याकरणको । व्याकरण भन्ने जन्तुको कुरो कम्तीमा पनि दुई-तीन किसिमले गर्न सकिन्छ जस्तो लाग्छ । पहिलो त ठीक-बेठीक, सही गलत आदि हालसाबिक नियमहरुको बारेमा कुरो हुन्छ । यस कुरोमा धेरै असहमति हुने गर्छ र अनन्त कालसम्म भइरहला पनि । तर व्याकरणको कुरा उठ्यो कि मलाई चाहीं, त्यो भन्दा पनि विवदास्पद कुराहरु गर्न जरुरी छ जस्तो लाग्छ है, बिशेष गरेर नेपाली भाषाको सिलसिलामा । मेरो घरको नेवारी परिवेशमा प्रयोग हुने नेपाली “उच्च साँस्कृतिक" व्याकरणको दृष्टिकोणले साह्रै नै नमिल्दो र गलत हुने गर्छ । [स्कुल पढ्दा नेपाली कक्षामा त्यसै त्यती धेरै चोटी लाजमर्दो परिस्थितीहरुको सामना गर्नुपरेको त पक्कै होइन ।] यो बोलीका धेरै पक्षहरु - जस्तो दन्त्य र तालब्यको पारिवर्त्यता - धेरैलाई धेरै कालसम्म मूलप्रवाहमा ल्याउनको निम्ती अपाच्य होला । तर यस्ता धेरै कुराहरु पनि छन् जुन अरु समुदायका ब्यक्तिहरुले पनि प्रयोग गर्छन् वा गरे हुन्छ जस्तो लाग्छ । जस्तो नेवारी-नेपालीमा रामले पनि भात खान्छ, उर्मिलाले पनि भात खान्छ (खान्छे हैन) अनि उनीहरुले पनि भातै खान्छ (खान्छन् हैन); अझ ठेट कुरो नै गर्ने हो भने त खाएर ल्याउँछ । तर यो प्रयोगलाई किन पूर्णत: गलत भन्ने ? मैले यस्तो कुरा गरेको देख्दा भाषिक शुद्धिकरणमा जोड दिनेहरुलाई रीसै उठ्न पनि सक्छ तर कुरो अलि राजनैतिक पनि छ । हो, म मान्छु नेपाली भाषा मेरो समुदायको पेवा हैन । तर यदि यो भाषालाई राष्ट्रिय भाषा मान्ने हो भने यो अरु कुनै जात-जाती वा समुदायको पनि त पेवा हुनु हुँदैन नि, हैन र ? खास गरेर खसहरुको भाषालाई गोर्खा राज्यको बिस्तार सँग-सँगै मेची देखि महाकालीसम्मका मानिसहरुको परिचायक कै रुपमा प्रतिस्थापना गराई गोर्खालीबाट नेपाली बनाईयो । ठिकै छ, यसमा म हाल केही भन्दिन । तर यो अवस्थामा कुन चाहीं नेपालीलाई सही र आधिकारिक मान्ने ? राजाले टिभीमा बोल्ने नेपाली त जुगौं पुरानो भइसक्यो; मध्यमाञ्चलका खसहरु र पश्चिमाञ्चलका खसहरुको नेपाली त कति फरक छ, नेवार राई अनि मधेसीको नेपाली कसरी समायोजन गर्ने ? अनि यि "आधुनिक" झर्रोबादीहरुको कुरा चाहीं कस्ले सुन्ने नि ? मेरो बिचारमा चाहिं जिन्दगीका अरु धेरै कुराहरु जस्तै भाषा पनि परिवर्तनशिल छ र हुनुपर्छ पनि । नेपालको बिकासमा सम्पूर्ण नेपालीलाई सहभागी बनाउने हो भने "सही" र "ठीक" नेपाली भाषामा कुनै एक समुदायको आधिपत्य हुनु हुँदैन, चाहे ऐतिहासिक हिसाबले यो भाषा त्यही समुदायको किन नहोस् । त्यस कारण मेरो असिम आशा छ भविश्यमा नेपाली भाषा अलि धेरै inclusive हुनेछ अनि सम्पूर्ण नेपालीको वास्तविक प्रतिनिधी भाषा हुनेछ । हुनत अलि राजनैतिक कुरो गरियो तर हालको नेपाली भाषा अरु धेरै कारणले पनि परिष्कार गर्न जरुरी म देख्छु । यस्ता धेरै नियमहरु छन् जुन जति परिस्थितीमा लागु हुन्छ, त्यो भन्दा धेरै अवस्थामा override गर्नु पर्ने हुन्छ । फेरी ईन्टरनेट र कम्प्युटरको युगमा स्ट्यान्डर्ड-आइज गर्नु पनि त आवश्यक हुन्छ । नयाँ नेपाली व्याकरणलाई कसरी अर्थ्याउने अनि कसरी बिस्तार गर्ने त ? यस्मा चाहिं अर्थशास्त्रमा उल्लेख हुने "ओकुनस् ल" सहायक हुन सक्छ - सकेसम्म सरलतालाई प्राथमिकता दिने । अनि खाएर ल्यायो भन्नु त गलत हुन्छ हुन्छ, खान्छे र खान्छन् पनि भनिरहनुपर्दैन - खान्छ भने पुग्छ । कसो ?
Read Full Discussion Thread for this article