Posted by: Ignitor January 23, 2006
Baburam's Latest Article
Login in to Rate this Post:     0       ?        
This is just terrific analysis of present political situation of Nepal. - http://www.kantipuronline.com/Nepal/distrikone.php आन्दोलनको उत्कर्ष र त्रस्त सत्ता नेपालमा झन्डै अढाई सय वर्षदेखिको सामन्ती राजतन्त्रको अन्त्य गरेर पुँजीवादी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने युगीन क्रान्तिकारी आन्दोलन यतिबेला आफ्नो उत्कर्षतिर पुग्दैछ । गत मङ्सिरमा सात संसद्वादी दल र माओवादीबीचमा कायम भएको ऐतिहासिक १२ बुँदे समझदारीपश्चात् देशमा अग्रगामी लोकतन्त्रवादी शक्ति र पश्चगामी राजतन्त्रवादी शक्तिबीच प्रत्यक्ष युद्धमोर्चा निर्माण भएको छ र गत दुई महिनामा आन्दोलनले गुणात्मक अग्रगति हासिल गरेको छ । यसबाट आत्तिएको निरङ्कुश शाहीसत्ताले साम, दाम, दण्ड, भेदका सबै हतकन्डा एकसाथ प्रयोग गर्दै फौजी शक्तिको बलमा एकातिर संसद्वादी दलहरूद्वारा नेतृत्व गरिएको सहरकेन्दि्रत जनआन्दोलनमाथि नाङ्गो दमन गर्ने धृष्टता गरेको छ । अर्कोतिर माओवादी घूसपैठ, हिंसा र रणनीतिक सत्ता-कब्जाको हौवा खडा गर्दै संसद्वादी-माओवादी निकटतालाई तोड्ने र मध्यमार्गी तत्त्वहरूलाई आफूतिर तान्ने कुचेष्टा गरिरहेको छ । माओवादी-संसद्वादी सम्बन्ध लामो समयदेखि त्रिपक्षीय द्वन्द्वमा रुमलिँदै आएको नेपाली राजनीति माओवादी-संसद्वादी १२ बुँदे समझदारीपछि द्विपक्षीय द्वन्द्वमा रूपान्तरित भएको छ । त्यसले निरङ्कुश राजतन्त्रविरोधी लोकतान्त्रिक आन्दोलनलाई गुणात्मक रूपले नयाँ उचाइमा विकसित गरेको कुरा त्यसपश्चात्् विभिन्न पार्टीहरूले छुट्टाछुट्टै रूपमा र सात पार्टीहरूले संयुक्त रूपमा पुस २८ गते जनकपुरमा आयोजना गरेको र्‍याली र सभामा अभूतपूर्व जनसागर उर्लिएबाट पुष्टि हुन्छ । यसको सोझो अर्थ के हो भने नेपालमा लोकतन्त्र, शान्ति र अग्रगमनको मुख्य बाधक तत्त्व राजतन्त्र हो र राजतन्त्रसँगको सम्पूर्ण देश र जनताको अन्तरविरोधको तुलनामा संसद्वादी शक्तिहरू र माओवादीबीचको अन्तरविरोध गौण र सहायक हो भन्ने कुरा आमजनसमुदायसम्मले राम्ररी बुझेको छ । युगीन हिसाबले हेर्ने हो भने पनि सामन्ती उत्पादन सम्बन्ध तथा पारभौतिक दर्शन र संस्कृतिमा आधारित वंशानुगत राजतन्त्रभन्दा पुँजीवादी उत्पादन सम्बन्ध तथा भौतिकवादी दर्शन र संस्कृतिलाई स्वीकार्ने संसद्वादी शक्ति र समाजवादी उत्पादन प्रणाली तथा द्वन्द्वात्मक भौतिकवादी दर्शन र संस्कृतिलाई अङ्गीकार गर्ने माओवादी शक्ति स्वाभाविक रूपले आपसमा निकट हुनैपर्छ । उन्नाइसौँ शताब्दीको युरोपदेखि यताको एकैसाथ सामन्तवादी, पुँजीवादी र समाजवादी शक्ति गरी त्रिकोणीय ढङ्गले विभाजित सबै समाज र देशको इतिहासलाई राम्ररी केलाएर हेर्ने हो भने जहाँजहाँ अग्रगामी पुँजीवादी र समाजवादी शक्ति, मिलेर पश्चगामी सामन्तवादी शक्तिका विरुद्ध निणर्ायक क्रान्ति गरेका छन्, त्यहाँ समाजको तीव्र गतिमा विकास भएको छ । जहाँजहाँ लामो समयसम्म त्रिपक्षीय द्वन्द्व रहेको छ अथवा पुँजीवादले सामन्तवादसँग गठबन्धन गरेको छ, त्यहाँ समाजको विकास अवरुद्ध, कुण्ठित र धिमा हुने गरेको छ । युरोप, अमेरिका र जापानको तीव्र विकास हुनुको मुख्य ऐतिहासिक कारण त्यही हो भने तेस्रो विश्वका प्रायः सबै देशहरू आजसम्म पनि अल्पविकासको अवस्थामा रहनुको मुख्य कारण पुँजीवादले सामन्तवादसँग सम्झौता गरेर लामो समयसम्म पुँजीवादी जनवादी क्रान्तिले पूर्णता प्राप्त गर्न नसक्नु हो ।
Read Full Discussion Thread for this article