Posted by: Dada_Giri January 14, 2006
CHAUTARI - VI
Login in to Rate this Post:     0       ?        
बेनी खोलाको पुल तर्दा! (यात्रा मिति २०५२ भाद्र ५ गते) ------- मालढुगांमा पुगेसी ट्याउसी पनि रोक्यो र अरु २ जना ठिटाहरु भने त्यँही झरे। तर हामी चाँहि माथि बाग्लुगं बजार पनि हेरम् भन्ने मन भएकोले झरिएन। बाग्लुगंबजार पुगेसी हामीहरु झरियो ट्याउसी बाट र पैदल हिँड्न थालियो। बजार हेर्दै हेर्दै अगाडि बढियो। बजार सकिएसी हाम्रो अगाडि खच्चरहरुको ताँती थियो, पछाडि एकजना पथ पर्दरशक दाइ विदेशी पर्यटकसित अगांलो मार्दै मार्दै अघि बढ्दै थिए। हाम्ले तिनीहरुतिर यसो हेरेम् अनि फेरि आँफैलाई लाज लाग्यो र अनि आफ्नै धुनमा व्यस्त हुन थाले जस्तो गरेम्। बजार भन्दा अलि तल्तिर पऽर पुगेसी कालीको किनारमा एउटा सानो चौतारी आयो। हामीले यसो थकाइ मार्ने चेस्टा गरेम् र त्यहीँ वर पिपलको छहारीमा ढुगांको धुलो सुलो यसो फुकेर उडाउँदै थचक्क बसेम्। यसो पारितिर हेर्या त गण्डकी पारि मोटर बाटो खन्ने क्रम जारी रहेछ। तर गति भने एकदमै कम नि अब के भन्नी हाम्रो देशको विकाशको गति न हो, सप्पैलाई था भएकै कुरा हो, कस्लाई के भनम् मनको बह कसैलाई नकह। *** *** *** एकै छिनमा २ जना बुइनीहरु पछाडितिरबाट आइपुगे। अनि एउटीले भनी, "एकछिन बसम् क्यारे, कस्तो थकाइ लाऽ नि, अहिले नै यतिका बाटो बाँकि नै छ।" मैले नि यही हो मौका भनेर चौका हानिहालेँ। "बस्नुस् बस्नुस् बुइनीहरु, एकछिन शित्तल तापेर जाम्ला सँगै सँगै।" एउटा बुइनीले सकारात्मक हुँदै खिस्स हाँसी र झोला बिसाई। अर्कीले नि स्याल भाका मिलाई। "दाजूहरु काँ सम्म पुग्ने नि?" मैले भन्दा पहिले आत्मारामले उछिनेर जवाफ दियो, "म्याग्दी।" "म्याग्दी रे, म्याग्दी त यो पनि म्याग्दी नै हो। ऊ परको खोल्साबाट म्याग्दी शुरु भइसक्यो।" अर्की बुइनीले जिसक्याइदिई हामेरुलाई। "भनेसी वहाँहरुको गन्तव्य यहीँ हो। हामी त टाढा जानु पर्ने जाम् निर्मला। " "हैन के, बुइनी बेनी बजार जान लाऽ भन्न खोज्या के। बेनी बजार जान ला के, यसो तपाईँहरुको गामतिर डुल्न निस्क्या नि।" मैले उनीहरु हिँडिहाल्ने स्थितीलाई नियन्त्रण गर्न खोजेँ। -------------------------------------------------------------------------------- निर्मला भन्ने त कति राम्री भने के भन्नी अब वयान गर्नलाई शब्द नै छैन मसित। सेऽता टमक्क मिलेका र सुकिऽला दाँत अनि खिसिक्क हाँस्दाखेरि गालामा सानो खाल्टो पर्ने, नहाँसिकन बोल्नै नजान्ने फेरि । हुन त अर्की बुइनी पनि राम्री नै हुन् कस्तो काऽलो र लामो नि केश, निधारको टिकी र नाकको फुली कस्तो सुहाको नि, अब के भन्नी। यत्तिकैमा मलाई तिर्खा लायो अनि पानी खाम् भनेर मेरो बोत्तलबाट पानी निकाल्दै थिएँ। निर्मलाले आफ्नै शुरमा भनी, तिर्खा लायो सलिना। उसले मलाई सुनाउन खोज्या त हैन, संयोग नै हो यो चाँहि म किटेरै भन्दिन्छु ल। मैले, पानी पिउनुहुन्छ, भनेर यसो अगाडि हात बढाएँ पानी भने धेरै थिएन बोत्तलमा। उसले त्यसको हिसाब राखेरै होला, अलिकति मात्र अलक्क पीऽ र कोइलीको जस्तो सुमधुर अनि सुरीलो स्वरमा भनी । "धन्यबाद, चीऽसो पानि रे छ।" तर पानी चिऽसो त हैन, मन तातो नै भइसक्या थियो। तर मसित सुहाउँदो जवाफ नै भएन र चुप लागेर बसेँ। "ऊ माथि होला झरनाको चिसो पानीको धारा त ।" गोबिन्दले कुरा मिलायो, "त्यतै पिउँला अब झरनाको चिऽसो पानि" भनेर सँगै सँगै हिड्ने बाटो पनि निकाल्यो। *** *** *** आत्मारामले चालै नपाइकन गीत पो गुन्गुनायो त। झरनाको चिसो पानी, बाँधेर बाँधिदैन, छेकेर छेकिँदैन, झरनाको चिसो पानी ... "हजुरलाई त गित राम्रो आउँछ जस्तो छ नि एउटा गित सुनाउनु भए हुन्थ्यो।" सलिनाले आत्मारामको प्रशंसा गरी। आत्माराम त मख्ख नि अब उनीहरुको गीतको फर्माइस पाएर। आत्मारामको नाँक साँक फुलेर एक मानाको भयो। हुन त आत्मारामलाई रेडियोबाट आउने गीतहरु सप्पै याद हुन्छ, मलाई भने कता छेऊ कता टुप्पा हो यादै हुन्न।उसले गीत मुखुडाबाटै गाएर सप्पै सुनाउन सक्थ्यो। दीऽ हाल्यो। जोमसोगैँ बजारमा, १२ बजे हावा सररर, होऽऽ हजुर घर हाम्रो पोऽऽखरा, अझसम्म भाऽ छैन घरबार ... "बुइनीहरु काँ पुगेर आउनु भा नि यता?" "बजार गाऽ नि बाग्लुगंसम्म।" हामी बिस्तारै अघि बढियो। प्रसंग प्रसंग मिलाएर सलिनालाई नि गोविन्दको अनूरोध गयो भनम् न। गीतै सुनाउने। तर मानिन, "आउँदैन के दाजू, आउँदैन के नत्र भन्नी थिँए। कस्सम भन्नी थिएँ। रामो राम मलाई गीत भनेसी पटक्कै आउँदैन। बरु निर्मलालाई आउँछ नि सुनाउन लाउनुस् न।" हो र निर्मलाजी, तपाईँलाई त खुब गीत आउँछ रे नि, तपाईँ कै मित्र सलिनाजीले भन्नु भाको। निर्मला आत्मारामसित कुन्नि कुन कुरामा हो ब्यस्त नि अब। कुरै सुनिन गोबिन्दको त। गफ बढ्दै गयो। गोबिन्दको अर्को अनूरोधपछि सलिनाले बल्ल बल्ल मुख उप्काइ। बेनीको बजार, जता माया उतै छ नजर, किरे मिरे जाले रुमाल ... -------------------------------------------------------------------------------- हामी बाटोमा चिया सिया खाँदै बस्दै रामउँदै अघि बढियो ५चै जना। बाटोमा घरि साना घरि अलि ठुला गरी थुप्रै खोल्साहरु पनि परे। मैले निर्मलाको हात समातेर तार्दिएँ ।रमाइलो पनि कति भएछ कुन्नि समय पनि बित्दै गएछ, बाटो पनि कट्दै गएछ, तर एकदम सानो गतिमा। म्याग्दी बजार आउने बेलामा त झमक्क साँझ परेर आयो अनि पानी पनि दर्किन थाल्यो। हामी केटाहरु कुनैसित पनि छाता साता थिएन तर बुइनिहरु भने कस्ता सोजिला नि छाता रे छ छाता त, एक एक वटा छाता झोलाँ राख्या रे छन् मोरीहरुले। पानी मजाले परेसी बल्ल निकाले। झोलाबाट छाता निकालेर ओढ्न थाले। *ल हजुरहरु त पर्नु भो फेला। बाँडेर ओढौँ न।* म निर्मलाको छातामुनि र उनीहरु सलिनाको छातामुनि पसियो। कस्तो साइत मिल्या रे छ नि आज त। निर्मलाको नजिकै परेसी थाऽ लाग्यो कस्तो मिठो वासना आइराऽऽ । के लगाकी रै छे कुन्नि। अझ हातमा एउटा राम्रो किरे मिरे बुट्टा भरेको रुमाल पनि लिएकी थी। छाताले काँ भ्याउनू नि २, ३ जनालाई। पानीले मात्र हैन मलाई त हिलोले पनि छ्याप्यो भन्या चालै नपाइकन काली गण्डकीको तिरमा कताबाट उछिट्टिएर आएछ हिलो पनि कुन्नि। मैले यसो हिलो पुछ्न के खोज्दै थेँ निर्मलाले आफ्नो हातबाट त्यो रुमालले पुछ्न मद्दत गरी, त्यस्तो राम्रो रुमालले हिलो पुछ्न त मनै लागेन मैले नि अनूहारको पसिना पुछिदिएँ, म त हर्षले बिव्हल नि। आज त अब के भन्नी यस्तो शूभ दिन। *** *** *** यसो त्यसो गर्दा गर्दै बेनी बजार छिर्ने बेलाको म्याग्दि खोला माथिको पुल पनि आइसक्यो र बजारको बत्तिको प्रकाशले हाम्लाई उत्साह दियो। पुल तर्ने बेलाँ मैले सुटुक्क केटाहरुलाई भनेको थिएँ, आज सप्पै सँगै एउटै होटलमा बस्नुपर्छ केटा हो। केटाहरुबाट खासै प्रतिकृया आएको थिएन तर पनि उनीहरु धेरै उत्साहित थिए। मलाई थाऽ थियो उनीहरुको खल्ति सल्ति रित्तो छ भन्ने कुरा, अघि नै ट्याउसी भाडा तिर्ने बेलाँ पर्स सर्स टकटक्याउन परेको थियो तिनीहरुले त। *** *** *** जब हामी बेनी खोलाको पुल तरेर यसो सँगै बस्ने कुरा जाहेर गर्ने तरखरमा थियौँ आत्मारामका बुवा, नापि कार्यालयाका खरिदार हाम्रो अगाडि एक्कासी देखा परे, ए ठिटाहरु त आइपुगेछन्, ल यहीँ हो मेरो कोठा हिँड माथि। हामी त किंकर्तव्यबिमुढ भैहालेम् नि अब। हत्तपत्त काका आरामै, भनेर हातमा ढोगेम् काकालाई। ती बुइनीहरुले नि कुरा बुझे र भने। ए, यहीँ हो ल है त दाजूहरु। हामी पनि रुन्चे स्वरमा, हुन्छ, हुन्छ, राम्रोसित जानु है त। भन्दै माथि काकाको कोठातिर लागेम् र हातगोडाको हिलो पखाल्नतिर लागेम् । आत्मारामले हातगोडाको हिलो पखाल्दै चालै नपाइकन गीत गुन्गुनायो। उडायो सपना सबै हुरिले, सपना सबै हुरीले, सपना सबे हुरीले। ... ... ... अस्तु!
Read Full Discussion Thread for this article