Posted by: kick January 4, 2006
CHAUTARI V
Login in to Rate this Post:     0       ?        
कुरो धेरै पुरानो हो। म गाउँको स्कूलको ५ कक्षामा थिएँ कि जस्तो लाग्छ। त्यो बर्ष स्कूलका ९ कक्षाका विद्यार्थीहरुले उनीहरुको व्यवसायिक कृषि विषयको प्राक्टीकल अन्तर्गत काउली खेती गरेका थिए। त्यो बेला स्कुलमा ९-१० का बिद्यार्थीहरुलाई स-साना जत्थामा विभाजन गरि स्कूल कै खेत छुट्याएर विभिन्न थरिका तरकारी तथा अन्नहरु लगाउने गराइन्थ्यो खेतिपाति सिकाउनलाई। त्यसबाट पछि उब्जेका अन्न तथा तरकारीहरु बेचेर उठेका पैसाले विद्यार्थीहरुलाई शैक्षिक भ्रमण लैजाने वा स्कूलको बार्षिक बनभोज गर्ने चलन थियो। कसै कसैलाई अचम्म लाग्न सक्छ तर त्यो बेला हाम्रो गाउँमा काउली जस्ता तर्कारीको चाहिँ अभावै थियो। त्यसैले काउली तेति धेरै खान पनि पाँइदैन थियो र कहिलेकाँही किन्नै पाए पनि अलि महंगो नै हुन्थ्यो। धेरै मीठो लाग्थ्यो, काँचै पनि मजाले खान सक्थेँ (त्यसो त अहिले पनि सक्छु है)। जे होस्, विद्यार्थीहरुले रोपेका काउली राम्ररी हुर्के, अनि पछि मजाले फक्रे। त्यति बेला मेरा साथीहरुको जमात अलि उरन्ठ्योलो थियो। आरु, आरु-बखडा, उँखु, काँक्रा आदि इत्यादि चोर्ने, चराका गुँड खोज्ने, मटेंग्रा बनाउने, गुलेली खेल्ने, घरमा नभनिकन सुटुक्क खोलातिर गएर माछा मार्ने अनेक थरि बदमाशी गरिरहिन्थ्यो। यस्तै सिलसिलामा हाम्रा आँखा ती लोभलाग्दा कलिला काउलीमा नपर्ने त कुरै भएन्। म, मेरो दाई र एक जना साथी भएर ती काउलीका बोट चोरेर, पातै समेत खानुसम्म खायौँ। ४-५ दिनमा सान-सानो खेतको आधै जस्तो काउली हसुरियो होला। निकै मज्जा भयो, तर त्यसको स्वाद धेरै दिन सम्म चाहिँ टिकेन् है।
Read Full Discussion Thread for this article