Posted by: Ok December 13, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
"यो धागोलाई चिप्लेढुंगाजीले चिप्ल्याएर पछाडिबाट अगाडी ल्याएदेखि नै १ खण्ड पेष्ट गर्ने मनथ्यो। तर पनि मौकै मिलिको थिएन। बल्ल श्रीमतीजी सुत्नु भो। अब चाहिँ पेष्ट गर्छु। श्रीमतीजीले थाहा पाउनु भो भने त फेरी घुचुकमा हानेर सातपत्र निकाल्दिन के बेर, रे क्या!-ओके) पुरानालाई त के स्वागत गराई भो र? नयाँ आउनु भको सबैलाई मेरो यो जमानाको (उहिल्यैको) धागोमा सु-स्बागतम्। मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड ३० हामी फेरी पहिलेकै हल जस्तो ठूलो कोठामा गयौँ। बाटामा 'अरु पुलिसहरुले सोधे भने म दाई भेट्न आको भनेर भन्नु है, अरु केहि कुरा पनि नगर्नु' त्यो पुलिसले अर्डरकै शैलीमा भन्यो। राति ड्युटी परेको एउटा पुलिसको खाटमा सुत्न दिए मलाई। खाना पनि सबैसँगै मेसमा खाएँ। सुरुसुरुमा यहाँ आउँदाको डर हराउँदै गयो। पहिले पहिले बाहिरबाट सिधा हेर्न पनि डर लाग्ने डिएसपी कार्यालय पनि त्यस्तो केहि लागेन अब त। सानोछँदा देखि नै मलाई ३ बटा कुरा देखी अति नै डर लाग्थ्यो: मरेको मानिस, उर्लेको खोलो र पुलिस-आर्मी । पल्लो डाँडामा मलामीले संख बजाउँदा पनि गुटुटु कुदेर घर भित्र पस्ने मेरो डर, बुबाको मृत्यूले पुरै लिएर गयो। उर्लेको खोलो देख्नासाथ अग्लो डाडाँतिर कुद्न अराउने मेरो मुटु, स्कुल पढ्दा पौडेर तर्नु पर्ने बाध्यताले सामान्य बनाईदियो। गाँउमा पुलिस-आर्मी आको छ भन्ने सुन्ने बितिक्कै तला चढेर परालमुनी घुस्रने मेरो डरछेरुवापन, डिएसपी कार्यालयको अहिलेको बसाईले सहजै पचाईदियो। मान्छेलाई लाग्ने डर भनेको त केबल आफूलाई नपर्दा मात्र रहेछ, आफूलाई नै परिसकेपछि सबै सामान्य। त्यसैले त मानिसहरु भन्ने गर्छन्, परिस्थितिले मान्छेलाई जस्तो पनि बनाउँछ र मान्छे बन्न सक्छ पनि। कोठामा निकै हल्ला थियो। कोहि पुलिसहरु फोहोरी-फोहोरी कुरा बोल्थे त कोहि झगडा गरे झैँ हानाहान। एकैछिन पछि फेरी सबै मिल्थे। एकादुई बाहेक मेरो कुरा कसैले सोधेन, सायद उनिहरुले मलाई कुनै प्रहरीदाईलाई भेट्न आएको भाई सम्झे होलान्। त्यहि हल्लाकै बिचमा म निदाउने कोसिस गरेँ। फेरी सोच्ने त आफ्नो बानी नै हो, नसोची के निदाउन सक्थेँ र? "अब यहाँबाट त जान दिने भए, तर पनि खै को आउला त मेरो लागि कबुलियतनामा गर्न। यत्रो टाढा आमा आउन सक्नु हुन्न, गाँउका मानिस त के आउँथे झन्? फेरी जान्ने सुन्ने भनाउँदाहरुले मलाई पटक्कै मन पराउँदैनन्, यि यसरी फसाईदिन्छन् मात्र। देउरालीमा टाढाका मामा पर्ने १ पटक वडा अध्यक्ष हुनु भाथ्यो रे, उहाँ आएर मलाई छुटाए पनि त हुने नि? फेरी त्यति टाढासम्म मेरो खबर कस्ले लगिदिन्छ र? भोली शनिबारे हाटमा कोहि आएछन् भने एउटा चिठी लेखेर पठाउँछु आमालाई सबै कुरा भनेर। हर्रबोटे जेठो त सधैँ आउँछ रे हाटमा, कटारीबाट नुन बोकेर हाटमा ल्याएर बेच्छ रे। त्यसैगरी त पालेको छ नि ६ जनाको परिबार। हो उसैको हातमा एउटा चिठ्ठी उठाउँछु, भोलीबिहान लेखेर। त्यहि मलाई माया गर्ने पुलिसलाई दिएँ भने त हाट सम्म त कसो नलगिदेला त!" सोच्दा सोच्दै कति बेला निदाएँछु, पत्तै पाईन। उठ्दाखेरी कोठामा कोहि पनि रहेनछ। एकजुवा (लगभग मध्यान्तरको तीन भागको १ भाग) जति घाम आईसकेछन्, पूर्वमा। हतार हतार चिठ्ठी लेखेँ आमालाई, हिजो हाजिरीजबाफ प्रतियोगितामा आउँदा बोकेको झोलामा कलम र कपी छँदै थिए आफूसँगै। १ ताउ (एक आपसमा जोडिएका २ पन्ना) कपिको भाँचकुच पारेर खाम बनाएँ र लेखेको चिठ्ठी त्यसै भित्रहालेँ। थुक लगाएर टाँस्न खोजेको टाँसिँदै टाँसिएन। गम पनि माग्नु प-यो, चिठ्ठी पनि पठाउन लगाउनु प-यो भनेर बाहिर निस्कँदा त सबै पुलिसहरु तालिम गरीरहेका रहेछन्। तालिम सकिएपछि चिठ्ठीमा गम लगाएर त्यहि पुलिसलाई दिएँ, मेरो चिठ्ठी हाटमा लगेर मेरो गाँउका कोहि आएछन् भने दिनु भनेर। बिहानको भात खाँए मेसमै र त्यहि कार्यालय नचिकैको ठूलो ढुङ्गामा अडेस लाग्दै छेवैको रमणिय जँगल हेर्दै टोलाईरहेँ। चराहरुको चिरबिरमै आफूलाई पुरै भुल्याएँ। क्रमशः
Read Full Discussion Thread for this article