Posted by: chicken.little November 22, 2005
for Ladies of Sajha: Badhu Siksya
Login in to Rate this Post:     0       ?        
भानुभक्र आचार्य वधूशिक्षा प्रस्तावना एक् थोक् भन्छु नमान्नु दुःख मनमा हे मित्र तारापति । तिम्रा इ जति छन् जहानहरु ता जुझ्न्या रहृयाछन् अति ।। सून्याँ दन्तबझान आज घरको कर्कर् गर्याको जसै । भर्रात जाग्रन झैं भयो मकन ता लागेन आँखा कसै ।।१। धन् इज्जत् घरबार देख्छु बढिया छैनन् कुनै चित् कमी । बूहारी यदि कर्कशा हुन गया क्या घर् गरौला तिमी ।। साह्रै झोंक उठ्यो मलाइ र वधूशिक्षा बनायाँ पनी । यस्ले पत्नी, बुहारि, छोरिहरुको तालिम् गरौला भनी । हुन त म अतिथी हूँ यस् बिनूँ क्या छ खाँचो । तर पनि म त भन्छू मित्र हौ जानि साँचो ।। घर चतुरञि गर्छन् बुद्धिमान्ले अगाडी । बखत चुकि बिदामा हुन्छ काहाँ पछाडी ।। उपदेश प्रातः कालमहाँ उठेर पहिले ध्यान इश्वरैको गरुन् । सोर् इश्वर पति हुन् भनेर पछि त्यो भक्ती पतीमा धरुन् ।। भक्तीले पतिर् इश्वरै भनि बुझुन् पाऊ-तलैमा परुन् । पूजा हो पतिको भनेर घरका काम्मा अगाडी सरुन् ।।१।। झट्पट् स्नान् गरेर शुद्ध जलले सब् देह निर्मल् गरी । जस्तो पुग्दछ सोही माफिक असल् धोती कंटिमा धरी ।। सासूका चरणारविन्दयुगमा पूजेर पाऊ परुन् । मैले काम् गरूँ क्या अराउनु हवस् यो ताँहि विन्ति गरुन् ।।२।। मान्ने छन् घरका सबै जति जना तिन्लाई ढोग् भेट् गरी । चाकर्लाई अह्राउनू खुशि हुँदै मीठा वचन्ले गरी ।। माटो पानि खराउ ओटन रुमाल् धोती दतीउन् धरी । स्नान् गर्न्या अखडा जहाँ छ तहिं गै राखून् तयारी गरी ।।३।। पूजाको सरजाम् गरुन् पति पुजा गर्छन् प्रभूको भनी । पूजामा खतडा कदापि नपरोस् कौनै कुराले पनी ।। कस्तै अल्मलमा रहोस् घरमहाँ आया जगाया अलक् । जोगी जङ्गमले भन्या मुठि दिनू ढीलो नगर्नू पलक् ।।४।। घर् सब् झारि बढारि नित्य त्यसले लिप्त्तै र पोत्तै रहोस् । चाकर् सव् थलिया गया कहिं भन्या आफै तयारी रहोस् ।। स्वामीका चरणारविन्दयुगको जल् भक्तिले पान् गरुन् । निर्मल् देह गराउनाकन उ जल् कही शरीर्मा छरुन् ।।५।। जो इच्छा पतिको छ सो बुझि उसै माफिक् सबै काम् गरुन् । जुन्स्थान हो चिजको उहीं लगि उ चिज् राख्न्या स्वभाव् पो धरुन् ।। स्त्रीको खालि निधार् कदापि नरहोस् खालि निधार् भै जति । गर्छन् कर्म फलै हुँदैन तिनका टीको लगाया जती ।।६।। तस्मात् नित्य टिका लगाइ पहिले धन्धा पछाडी गरुन् । पूजाको सरजाम् तयार गरिसकी भान्छा विषे मन् धरुन् ।। भान्छाको सरजाम चाकर गरुन् भाँडा सफाई गरी । खान्या चीज भंडारमा पसि झिकुन् आफैं अगाडी सरी ।।७।। रोगी बालक वृद्ध कोहि घरमा हुन्छन् त तिन्को पनी । घत् जानीकन तम्तयार् चिज गरुन् खान्या छ यस्तो भनी ।। यस्ता रीत् सित चीज् बनाइ बढिया सासू-ससूरा-पति । लाई ख्वाइसकेर फेरि घरका ख्वाउन् जहान् छन् जति ।।८।। ख्वाई प्याइसकेर र्सव परिवार्ले खाइसक्छन् जसै । चूल्हा चौकी लिपाई जल्दी ति जुठा भाँडा मझाउन् तसै ।। जो चीज् वस्तु भँडारदेखि अघि जो झिकेर ल्याई थिइन् । सो सम्झेर तुरुन्त सोही थलमा ती वस्तु राखी दिउन् ।।९।।
Read Full Discussion Thread for this article