Posted by: Dada_Giri November 21, 2005
CHAUTARI - III
Login in to Rate this Post:     0       ?        
मैले ताधी कुरा गरेको दुर्गा दाइ ह्वाँ नै हो। ----------------------------------------------- सम्झना माघे सक्रान्तीको हो। *** *** *** बिहानै झिसमिसेमा उठेर सकुनीले बाहिर निस्केर यसो टाउको ठाडो पारेकी त माथिबाट दुर्गा दाइ आइपुगेका। दुर्गा दाइ लाहुरे। पहिलो छुट्टीमा आका। हातमा उतैतिरको क्यासेट भिरेका। भर्खरका रहर लाग्दा ठिटा। "काँ जान ला, दुर्गा दाइ यति बिहानै ?" सकुनीले सोधी। "नुहाउन जान ला नि। रामदितिर। तिमी नि जाने भए हिँड, जाऊँ सगै।" "हामी पनि जाने हो तर मिना र माने दाइलाई पर्खि रा ।" "मिनाहरु त माथ्लोबाटो लागिसके। रिढि जाने रे यसपालि त।" "खै आउने बनदै थी। ए एकछिन है।" सकुनीले बाख्रा-पाठा सारी र गाईलाई पराल हाली, कोरीबाटी गरी र उनीहरु पनि देऊराली थानको बाटो लागे। देऊराली थान पुगेपछि देऊराली माइलाई पाती चढाइयो । एकैछिन कर्दाकुर्दै सबैजनाको भेट भो। रामदि जाने कि तल रिढितिर जाने भनेर एकछिनको अलमल र छलफल भो। तर यसपालि यता रामदितिर झर्ने कुरामा सबैजनाको सहमति भयो र हामी झरियो। राती रामदिमा सबैजना अस्थाई घर बनाएर त्यहीँ बास बसियो। बेलुका भलाकुसारी सुरु भो। मैले दुर्गा दाइसित देश खाइ शेष भएको मान्छे भनेर धेरै कुरापनि सोधेँ। दुर्गा दाइका हकँकगँ, बेलायत, सिगांपुरका गफमा हामी मस्त हुन थालियो। डिबियोको मधुर प्रकाशमा कलब्रेक पनि चल्दै गयो। मिनाले आगो सल्काई। सकुनीले तरुल पोली। दुर्गा दाइले पोकोबाट बँदेलको मासु निकाले। सबैले तरुल र बँदेलको मासू पोल्दै, खाँदै गरियो। त्यो माघे सक्रान्तिको रामदिको टीठ लाग्दो जाडो पनि बिर्सियो। एकछिनपछि सबैले भक्तजन हुँदै भजन गाउने मनसाय राखे। स्वरै स्वरमा भजन पनि सुरु भो। मैले झोलाबाट खैँजडी निकालेँ। कोहि खैँजडीको तालमा र कोही सोरढिको तालमा नाच्न ताले। सकुनीको कोइलीको जस्तो सुमधूर कण्ठले वरिपरिका सबैलाई आकर्षित गर्न थाल्यो भने मिनाको बारुली कम्मर भाँचेको नाचले त झन सबैजना हाम्रो बथानमा झुम्मिन थाले। काली गण्डकीको तिर, त्यो पहाडको खोँच पनि रमाइलो र गुन्जायमान हुँदै थियो। माने दाइले पोल्टोबाट गाँजा निकालेर कटुसको पातमा बर्दै बिँडि बनाए। मैले पनि एक दुई सुर्का तानिहालेँ। हामीलाई गाँजाको नसाले भनौँ या अब उमेरको नसाले, भजन त चालै नपाइकन बिस्तारै रोदिमा परिणत हुँदै गएछ। "सम्झि छौ कि नानीले बाला दिनमा हाँसेको सम्झि छौ कि नानीले बाला दिनमा हाँसेको सरर सरर रोदी घरमा सँगै नाचेको सरर सरर रोदी घरमा सँगै नाचेको सम्झि छौ कि नानीले बाला दिनमा हाँसेको सम्झि छौ कि नानीले बाला दिनमा हाँसेको सरर सरर कोल घुमाउँदै उखु पेलेको सरर सरर कोल घुमाउँदै उखु पेलेको ... ... ..." रातभरि रमझम लामो रमझम भो। भोलिपल्ट रामदि यानेकि काली गण्डकी नुहाउने मिठो सपनामा पत्तै नपाइकन निदाइएछ। बिहान सबेरै उठेर म यता तिर फुल टिप्न लाग्या मात्र के थिएँ, दुर्गा दाइ र मिना त्यहीँ बजारको भिडमा हराइ सकेछन्। माने दाइ र सकुनि पनि लिपिस्टिक पाउडर रोज्न थालेछन्। म भने त्यत्रो भिडमा एक्लै किंकर्तब्यबिमुढ ! अझैपनि माघे सक्रान्ति आयो कि रामदीको मेलाको यादले मलाई सताउने गर्छ। मेरो लागि भने रामदीको मेला पोलेको तरुल र बँदेलको मासुमा सिमित रह्यो तर पनि स्मृति पटमा अझै सजिएको छ। रामदिको मेला, माने दाइको गाँजा, भजनको नि पारी दोहरी खेल । I miss all of you!
Read Full Discussion Thread for this article