Posted by: Nepe November 1, 2005
Login in to Rate this Post:
0
?
मैले त्यहाँ सुनाएको गजल नयाँ नभएर साझामा एक दुई बाजी पोस्ट गरिसकेको गजल थियो । हुन त म अरु नै गजल सुनाउँला भनेर पुगेको थिएँ त्यहाँ, तर चार जना नेता (रामशरण महत, मृगेन्द्र रिजाल, चक्र बास्तोला (?) र झलनाथ) लाई देखेसि राजनैतिक सन्देश भएको गजल सुनाउने मनसुबा जाग्यो र सुनाएँ, तिनीहरुलाई नै संकेत सम्बोधन गरेर ।
मैले छोटो भूमिका बाँध्दै भने, "[मैले सम्झेसम्म] आज हामी ईतिहासको सङ्घारमा छौं । यो सङ्घार मजेरी र आँगन बिचको नभएर एउटा गुफा र खुल्ला आकाश मुनीको सडक बीचको सङ्घार हो । यो २६५ वर्ष पुरानो गुफाको सङ्घार नाघ्न जो अलमलिईरहेका छन्/ हिचकिचाईरहेका छन् तिनीहरुलाई यो सन्देश सम्प्रेषण गरिदिनुहुन यहाँ उपस्थित केहि विशिष्ट श्रोताहरुलाई मेरो अनुरोध छ ।"
तिमी अडेको सङ्घार देखें, तिमी फसेको दोधार देखें
अर्को भाषामा भन्ने हो भने, तिमी बसेको ओढार देखें
जुन ऐनामा म बर्षौ निहार्थें, नितान्त एकलो एउटा मान्छे
त्यसको एकै चर्काइमा आज, मलाई मैले हजार देखें
आएको छैन कुनै भूकम्प, कुनै भूकम्प गएको छैन
भन्नेहरुको परखालमा, टालेको ताजा दरार देखें
दह हेरेर फर्के कोही त, कोही तरेनन् देखेर मुल्को
म कम्मर कसी खोज्न के निस्कें, फराकिलो एक जङ्घार देखें
अबोधगम्य भो बोधगम्य, भो दृष्टिगोचर- गन्तव्य, मार्ग
निःशब्दलाई के सशब्द सुनें, अमूर्तलाई के साकार देखें
प्रेरणा मिल्यो, हिजोको कुरा, आँटको धनी मुहार देखें
ज्ञान मिल्यो, आजको कुरा, आँटको पनि प्रकार देखें
बल्ल पो भएँ प्रष्ट प्रष्ट म, छ इतिहास किन कष्टमा
इतिहासको पृष्ट पृष्टमा, अलिखित अनेक इन्कार देखें
न बक फुटे, पग चले न, किन निरीह निरीह कुर्सी
खाँदै थिएँ म कुर्सी माथि, झुण्डेको एक तरबार देखें
सुनौला धानका बालाहरुमा हेरेर गदगद आँखाहरुमा
कसैले देखे ओभानो मंसीर, मैले हिलाम्मे असार देखें
_____