Posted by: Ok October 28, 2005
Login in to Rate this Post:
0
?
"तेरो बाउ खुब बिरोधि राजनीति गर्छ रे नि?"
"सर, मेरो बुबा हुनुहुन्न, म सानो छँदा नै बित्नु भको"।
"तेरो दाई त होला नि"।
"मेरो दाई नै छैनन् सर"।
"अनि को को छ तेरो घरमा?"
"आमा, म, एकजना भाई र एकजना बैनि"।
"आमाले राजनीति गर्ने हो?"
"सर मेरो आमा लेख्नपढ्न जान्नु हुन्न। बाबा बित्नु भएपछि सबै घरको ब्यबहार नै उहाँले हेर्दै आउनु भको छ। घरको काम एक्लै धानेर, बनिबुतो गरेर हामीलाई पढाउनु भको छ। म आफैँ ट्युशन पढाएर भाईबैनीलाई पढाउँदै छु। रामपुरका सरहरुले पनि सहयोग गर्नु भा छ" यति भनिरहँदा आन्तरिक बेदनाले मेरो बोली अड्किरहेको थियो।
यिनै सोधखोजहरु पछि डिएसपीसरले वाकिटकीबाट सिडिओसर सँग कुरा गर्नुभो, म र त्यो अर्को पुलिस पनि डिएसपी सरकै कोठामा थियौँ। उहाँहरुको दोहोरो कुरा सबै त मैले सुनिन, तर पनि उहाँहरुले छिट्टै छोड्ने जस्तो लाग्यो मलाई। सेटलाई बन्द गरेर अलिक कमकडा स्बरले भन्नु भो "हेर केटा, अब यस्ता काम गर्दै नहिड्, खुरुखुरु पढ्। यस्तो बच्चा उमेरमै नचाहिँदो काम गर्दै हिड्ने हैन। सिडिओसर सँग पनि कुरा भो। तँलाई 'अब आईन्दा तेस्ता काम गर्दिन' भन्ने कबोल गराएर छोड्ने कुरा भा छ। तेरो कुनै नजीकको नाता पर्ने कोही ठूलो मान्छेले कबुलियतनामा गर्नु पर्छ। ल भन् को छ तेरो नजीकको मानिस? आमालाई बोलाउन सक्छस्?"।
"आमा, आउन सक्नु हुन्न सर, घरमा आमा बाहेक कोहि छैन। भैसीँ हेर्नु पर्छ, फेरी यति टाढा आउन पनि सक्नु हुन्न"।
"अब जस्लाई बोलाउनु पर्छ, बोला। कोही यहाँ आएर कबुलियतनामा नगरेसम्म तँलाई छाड्न मिल्दैन" यति भन्दै त्यहिँ भको पुलिसलाई देखाउदै भन्नु भो "यो केटालाई कतै सुत्ने ब्यबस्था गर्दे"।
डिएसपी सरलाई नमस्कार गरेर म र त्यो पुलिस कोठाबाट निस्कियौँ।
साझाल्यान्ड,
११ कार्तिक, २०६२