Posted by: Ok October 28, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
रात पनि पर्नै लाग्यो। सदाको झैं पश्चिममा सुर्यका किरणहरुले धमिला धर्साहरु कोरे, म बसिरहेको कोठा भित्र पनि खटप्वालबाट भित्र छिरे। त्यहि खाटको सिराने छेउको गारोमा अडेस लागेँ र सोच्न लागेँ। सोचाईहरु दिमागमा तँछाड्-मछाड् गर्दै आउन थाले "मञ्जुहरु मलाई कति बेरसम्म पर्खे होलान्? मेरो यो खबर सुनेर आमा कति रुनु हुँदो हो? रामपुरमै भका भाई र बहिनी म नहुँदा कसरी बसे होलान्? कहिले पनि यस्तो कुरा नसुनेकी मञ्जुले मेरो कुरा सुनेर के सोचिन् होला? बास्तबिकतामा म निर्दोष भएपनि पुलिसले पक्ड्यो रे भन्दा नै अर्कै नजरले हेर्ने समाजको सोचाई भन्दा फरक मञ्जुले अरु के नै सोचिन् होला र? फेरी मञ्जुलाई निर्दोषहरु पनि यो तात्कालिन समाजको सँरचनामा कसरी फस्न सक्छन् र फसाउँछन् भन्ने शिक्षा नै कस्ले दिएको छ र? सायद मप्रतिको दृष्टिकोणनै पुरै परिवर्तन भयो होला, मलाई अर्कै नजरले हेर्न थालिन् होला। म उनको सोचाईमा एक अपराधिको रुपमा दरिएँ होला। घनश्यामसर, हेडसरले के भन्नु भयो होला? 'कस्तो फटाहा केटालाई सहयोग गरेर पढाईएछ' भनेर चित्त दुखाउनु भयो त होला नि? अब म यो दलदलबाट कसरी मुक्ती पाउने? आउँदो एसएलसी परीक्षा पनि दिन पाईने हो कि हैन? मलाई यहाँ कति दिन राख्लान्?"। सोच्दासोच्दै कहिले काहिँ त 'अब देखी म यस्तो कामहरु कहिल्यै गर्दिन् भनेर माफ मागेर जान दिएछन् भने जाँउकि जस्तो लाग्थ्यो। तर पनि छिट्टै नै 'मैले के गल्ति गरेको छु र माफ माग्ने? खान दिहाल्लान् क्या रे, कतिञ्जेल थुन्दा रहेछन्, थुनुन्' भनेर मन दरो बनाँउथे। रातको ८ बजे तिर त्यहि अगिको पुलिस आएर 'हिड् डिएसपी सरले बोलाउनु भएको छ, जाउँ' भनेर लिएर गयो। डिएसपी सरले कुट्न बोलाको जस्तो मानेर मलाई खुब डर लाग्यो, तर पनि त्यो पुलिस पनि मसँगै जाने भनेकोले मनमा अलिक सादर पनि लाग्यो। सुरुमा नरम किसिमले सोधखोज भयो, तर स्बर बिस्तारै कडा हुँदै गयो। "के काम गर्छस्?" "रामपुरमा कक्षा १० मा पढ्छु सर" "अनि पढ्ने मान्छेले राजनीति गर्छन् त?" "म राजनीति गर्दिन सर"। "अनि तँ त गाउँको खुब नामुद बिद्रोहि होस् रे नि। नानाथरी गर्दै हिड्छस् रे"। "तेस्तो केहि हैन सर, त्यो सब मलाई फसाउँनका लागि भनिएका हुन्, मलाई मन नपराउनेहरुले"। "बिद्रोही नाटक पनि देखाको थिस् रे त?" "नाटक बिद्रोही थिएन सर, छोरीलाई पढाउनु पर्छ भन्ने सन्देश मात्र थियो"। "छोरीलाई पढाउनु पर्छ भन्ने कुरा तँलाई कस्ले सिकायो?" "गाँउका दिदीबहिनीहरुले पढ्न नपाएको देखेर आफैँले जानेको सर"। क्रमश:
Read Full Discussion Thread for this article