Posted by: Ok October 28, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओकेखण्ड २९ एकछिन् हिडेपछि मलाई डिएसपी कार्यालयमा पु-याईयो। बाटामा केहि पनि सोधखोज गरिएन। कार्यालयको गेटमै ड्युटी गरिरहेको अर्को पुलिसलाई जिम्मा लगाएर मलाई लिएर आएको पुलिस चाहिँ फर्कियो। उनिहरु बिचमा केहिबेर खै के कुरा भयो, मैले चाहिँ केहि पनि बुझिन। पहिलेको पुलिस फर्किएपछि त्यहाँको पुलिसले सोध्यो "के गडबड गरिस् ए केटा? कति बर्षको भईस् ऐले?"। म केहि पनि बोलिन। सिडिओ कार्यालयमा मैले बोलेको बोलीको कुनै सुनुवाई नभएकोले त्यहाँ पनि मैले बोल्नुको कुनै अर्थ छैन भन्ने सोची मौन बसिरहेँ। तर उसले मेरो कुरा दोहो-याई दोहो-याई सोधिरह्यो। उस्ले मलाई न गाली ग-यो, न कुनै फोहोरी बोलीले नै हका-यो। मैले सोचेको ठीक बिपरित उस्को बोली अरु पुलिसहरुको जस्तो थिएन। सोध्दा पनि माया गरेजस्तो लाग्यो मलाई, मानौ उ पनि म जस्तै पिडित परिवारबाट आएको मानिस हो र गरीव परिवारका मानिसहरुलाई फटाहाहरुले जालमा कसरी फसाउँछन् भन्ने कुरा उस्लाई राम्ररी थाहा छ। हुन त प्रहरीमा जागिर खानेहरु प्राय: निम्न वर्गकै हुन्छन्, तरपनि मुठ्ठीभर सामन्ति परिवारको नेतृत्वको आदेशलाई मान्नु पर्ने बाध्यताका कारण आफ्नै वर्गलाई पनि परको नजरले ब्यबहार गर्न बाध्य हुनुपर्छ, उनिहरुले। धेरै बेरको मौनता पछि मैले पनि सबै कुराहरु उसलाई बताईदिएँ। घरको अबस्था, नाटक देखाएको कुरा देखि लिएर रामपुर स्कुल पढ्दाको कुरा सम्म सबै भने। मेरा सबै कुराहरु उस्ले धैर्यताका साथ सुन्यो। बिचबिचमा केहि थप कुरा सोध्नु बाहेक उस्ले मेरो कुरामा कुनै अबरोध गरेन। अन्तमा उस्ले "यस्तै हो भाई, के गर्नु? गल्ति नगरे पनि सजाएँ भोग्नु पर्छ कहिले काहिँ। बरु उनिहरुले जे जे भन्छन् तेहि मानिदिनु पर्छ। बेकारमा किन उनिहरुसँग रिसीवी साध्ने?" भनेर आत्मियता देखायो। उसले भन्न खोजेको सिडिओ र डिएसपीले भनेको मान् भन्ने कुरा बुझ्न मलाई गाह्रो भएन। त्यतिबेला सम्म हामी गेटमै थियौँ। उस्को ड्युटीको समय पनि सकिएछ। अर्को पालो दिने पुलिस आयो र मलाई देख्ने बितिकै सोध्यो "यो चोर सालेले कस्को के चोरेछ?"। म त उस्को कुरा सुनेर छक्क परेँ। भित्र भित्रै रिस पनि उठ्यो। तर पनि चुपै लागेँ। "हैन, त्यस्तो केहि हैन, केहि सोधपुछ गर्नलाई सिडिओसापले पठाउनु भा रैछ" मसँगै रहेको पुलिसले कुरा मिलायो र मलाई पनि उसँगै लिएर गयो। हिड्दै गर्दा "म भरे डिएसपी सर सँग कुरा गरौँला, पीर नगर्" भनेर सान्तोना पनि दियो र २०-२५ जना जति सुत्ने गरेको हलमा लिएर गयो। 'भोक लागेको होला, यहि खाटमा बस्तै गर्, म मेसमा गएर केहि खाने कुरा रहेछ भने ल्याउँछु' भन्दै उ बाहिर निस्कियो। एकछिन् पछि नै बिहानको अलिकति मकैको च्याँख्लाको भात र सागको तरकारी दिँदै भन्यो "ल यो भात खा"। भात चिसो भैसकेको रहेछ। भोक त निकै नै लागेको थियो। अगिको होटलको मुखमा पु-याई सकेर छोड्नु परेको सेल र आलुको चानाको तरकारी सम्झँदै खाटको छेउमा बसेर खान लागेँ। 'कतै नगैकन यहि कोठामा बस्तै गर्। कतै हिड्ने हैन नि फेरी।" थर्काएकै शैलीमा यति भनेर उ बाहिर निस्कियो। मैले पनि 'हुन्छ' भन्ने स्विकृतिको टाउको मात्र हल्लाएँ। क्रमश:
Read Full Discussion Thread for this article