Posted by: Ok October 15, 2005
Login in to Rate this Post:
0
?
ती बुढीआमासँग एकदुईपटक दोहोरो कुरा पनि हुन नपाँउदै अघिकै मान्छे आएर 'ए केटा, भित्र जा रे' भन्यो। त्यो त त्यहाको पाले रहेछ। म भित्र गएँ र नमस्कार गरेँ सबैलाई। मनभित्र भने डर लागिरहेको थियो। भित्र-भित्रै काँपिरहेको थिँए। सिडिओ कार्यालय भनेको मेरो तात्कालिन सोचाईमा 'मुठ्ठिभर गाँउका ठूलाबडा बाहेक सर्बसाधारणलाई दुख्ख दिने, अनेक बहानामा जेलमा लगेर थुन्ने, नागरिकता बनाउँदा दु:ख दिने' जस्ता काम गर्ने अड्डा भन्ने कुरा मात्र गडेको थियो। हुन पनि एकैछिन् अगाडि ति बुढिआमैलाई दिएको दु:ख आफ्नै आफ्नै आँखाले देख्दा त झन् विस्वास भयो। सिडिओ कार्यालय भित्र ३/४ जना मानिसहरु रहेछन्। हाम्रो गाँउको प्रधानपञ्च शेरबहादुर पनि रहेछ त्यहिँ। अरु २ जनालाई चाहिँ मैले चिनिन। कसैले पनि नमस्कार फर्काएनन्, मानौँ म त्यहाँ गएको कसैले पनि देखेन । एकछिन् सम्म उनिहरु अर्कै गफ गरिरहे, कसैले केहि बोलेन। म चाहिँ ढोकाको छेउमै उभिरहेँ।
केहि बेर पछि सिडिओसाप कुर्सीमा राखेको रुमाल मिलाउँदै मतिर फर्केर बोल्नु भो "ए... यहि फुच्चे हो यत्रो तहल्का पिट्ने?"। सिडिओसापको यो बोलीसँगै मेरो मुटुमा ढ्याङग्रो ठोक्नलाग्यो। "कस्तो तहल्का सर?" मेरो मुखबाट फुत्त निस्कियो। "अझ, यहाँ पनि प्वाक्क बोल्छ, चुपलाग्। बहुत जान्नेसुन्ने भर नाटक देखाईस् रे हैन गाँउमा! कस्ले सिकायो, तेस्तो नाटक देखाउन?" सिडिओसापको आबाज झन् कडा हुँदै गयो। मैले नम्रस्बरले भनेँ "मैले के गल्ति गरेको छु र? छोरीलाई पढाउनु पर्छ भन्ने नाटक त देखाएको हो नि? के यो पनि गर्नु हुन्नथ्यो र साप?"। "उ उहाँलाई चिन्छस्?" शेरबहादुर प्रधानपञ्च तिर देखाउँदै सिडिओसाप बोल्नुभो "तैँले त निर्बाचित् पञ्चभलाद्मीको बिरुद्दमा अराष्ट्रियतत्बहरुलाई फाईदापुग्ने नाटक देखाको थिईस् रे। ल भन् तँलाई कोकस्ले यसो गर्ने लगाको हो? सबैको नाम यहाँ दिईस् भने म तँलाई छोडिदिन्छु नत्र भने जेलमा लगेर थुनिदिन्छु"। जेलको नाम सुन्ने बितिक्कै मेरो मुटुले ठाँउ छोड्यो। "कसैले हैन सर, म आफैँले लेखेको हो त्यो नाटक। फेरी नाटकमा के नै पो नराम्रो कुरा छ र?.." । मेरो बोली नसकिँदै उहाँ कराउनु भो "अझ ढाँट्छस्? तँ जस्ता भारेभुरेले यत्रो हिम्मत् गर्न सक्दोहोस्। ए लगेर थुन्दे यस्लाई डि.एस.पी. कार्यालयमा, बढ्दा बकबक गर्दो रहेछ।" "हस् साप" भन्दै बाहिर बसिरहेको पुलिसले मेरो पाखुरामा समाएर लिएर गयो। निरिह म जस्ले जता लगे पनि त्यतै जानु सिबाए के नै गर्न सक्थेँ र?
साझाल्याण्ड,
२९ असोज २०६२