Posted by: Gautam B. October 14, 2005
Login in to Rate this Post:
0
?
साढे तीन बज्छ। पेण्ट, शर्ट, स्पोर्टस् जुत्ता र कालो चश्माले सजिएर उनी निस्कन्छन्। घुम्दै घुम्दै नया सडक पुग्छन्,एक ठाऊँमा पान खान्छन् र विस्तारै रत्नपार्कतिर लाग्छन् 'पुराना वाम नेता'।
सोह्रहाते गणेशको मन्दिरनेर एउटा अर्को पुरानो वाम नेता भेट हुन्छ, पहिले उनको विरोधी खेमाको, अहिले उनकै खेमाको (याने 'पुराना' खेमाको!)
दुई जनाको गफ शुरु हुन्छ, दलको स्थापनादेखि आजसम्मको र मार्क्सदेखि किम जोङ इल सम्मको। कहिले चश्मा मिलाऊँदै र कहिले एक हात पेण्टको खल्तीमा राखेर, दाहिने हातको चोर औँलो ठड्याई, उभिई उभिइ पालै पालो ठूलो ठूलो स्वरमा गफ गरेको देखेर टाढाबाट देख्ने कसैले ठान्दो हो, घोर घमासान वाक्युध्द भइरहेछ।
एकछिन पछि दुबै थाक्छन् र भोटाहिटीभित्रको एउटा नेवारी रेष्टूरां पुग्छन्। 'पुराना वाम नेता' र 'साथी पुराना वाम नेता' आजभोलि बियर मात्र पिऊँछन्। बियर र छोइला-सेकुवा आदिका साथ गाली रामायण शुरु हुन्छ।
"फलानो, फलानो, फलानो जाँठाहरु सब दरबारका हुन्!" जबकि दुबैलाई भित्री मनमा विश्वाश छ, आऊँदो राष्ट्रिय सभामा आफू दरबारबाटै छानिने।
"फलानोले फलानो किताब चोरेर लेखेको हो, त्यल्ले लेख्नै जान्दैन।" जबकि किताब प्रकाशन गर्न त उनीहरुलाई पनि मन छ (काश लेख्न सकेको भए!)
यसैगरी रातको एघार बज्छ, 'पुराना वाम नेता'को छोरो आइपुग्छ गाडी लिएर। 'साथी पुराना वाम नेता'लाई डिल्लीबजार छोडेर गाडी टंगालतिर लाग्छ।
घर पुगेर सुत्दा 'पुराना वाम नेता'को मन खुशीले फूलिरहेको हुन्छ। आफ्नो जीवनको बारेमा सोच्छन् उनी। धन-सम्पत्ति जोडिएछ र छोराछोरीलाई मान्छे बनाइएछ; जीवन खेर गएनछ। आफू युवा हुँदा गरेको प्रण, विद्यार्थी जीवनको जोश र आकांक्षा आदि पनि उनको दिमागमा अष्पष्ट रुपले आउन थाल्छन्। तर त्यतिखेरसम्म 'पुराना वाम नेता' निदाइसक्छन्।
(समाप्त)