Posted by: newuser September 10, 2005
Narayan gets Madan
Login in to Rate this Post:     0       ?        
पल्पसा क्याफेको कथासार धेरै समिक्षाहरुमा लेखिइसकेको छ। त्यतापट्टी नजाउँ। खासमा यो उपन्यासको सवभन्दा सबल पक्ष भनेको यसले नेपालीहरुका विविधतापूर्ण वर्तमानलाई अतिनै सरल र सरस ढंगले गाँस्ने काम गरेको छ। सानो आकारको उपन्यास भएपनि यसमा धेरै घटनाहरुलाई जोडिएको छ, धेरै विषयवस्तुलाई समेटिएको छ र यसरी समेट्ने काम निपूणताका साथ गरेका छन् वाग्लेले। कथाका केन्द्रिय पात्रका पृष्ठभूमिका कारण निश्चित रुपमा यसको बढि हिस्सा कुलिन र शहरिया मनोभावनाहरुमा केन्द्रित भएको छ तर पनि यसले नेपाली गाउँघरले माओवादी विद्रोहको मारमा वेहोरिरहेको व्यथालाई प्रष्टसंग चित्रित गरेर उपन्यास लेखनको उद्येश्यलाई सार्थकता प्रदान गरेको छ। गाउँ धेरै अघि छाडेर शहर र विदेश पसेकाहरुलाई आफ्नो विगत सम्झिन र गाउँको वर्तमान महसुस गराउन वाध्य पार्छ पल्पसा क्याफेले। घटना र तिनबाट सृजित मनोभावनाहरुलाई बडो रफ्तारका साथ उनेका छन् वाग्लेले। र त्यसमा दम भरेको छ उनको रोचक, व्यंगपूर्ण र बेलाबेलामा मार्मिक सम्वादहरुले। सम्वादहरु प्रसस्त छन लामा छन धेरै छन विविधतापूर्ण छन् विरोधाभाषपूर्ण छन तर प्राय सबै सम्वादहरुले उपन्यासमा रस र सार्थकता भरेका छन्। सम्वादलाई मेरुदण्डको रुप दिएको पल्पसा क्याफे एउटा उपन्यासमा हुने सबै विशेषताहरुले भरिपूर्ण छ। शहरिया र गाउँले जीवन शैली, सम्पन्नता र विपन्नता, पूर्विय पश्चिमा र मिश्रित आदर्शहरु, प्रकृति, जीवन दर्शन, मिलन र विछोड, हाँसो र खुशी, , सोंच्ने र सेलाउने युवा जोश, वालसुलभता, वृद्ध मनस्थितिहरु, आशावादी सपनाहरु तर निराशाजनक यथार्थ अनि समाज र राजनीति - यि सबैको सरसपूर्ण वहाव भएको छ उपन्यासमा। घटनाहरु धेरै छन्, पात्रहरु विवधतापूर्ण। गाउँमा हुर्केर शहरमा पढेको चित्रकार दृश्य, पश्चिममा हुर्किएर पनि पूर्वले तानेर अमेरिकाबाट नेपाल फर्कएकी फोटोग्राफर पल्पसा, आमूल परिवर्तन गर्न विद्रोहमा होमिएको सिद्धार्थदेखि दृश्यकी सेक्रेटरी फुलन, पल्पसाकी हजुरआमा, गायक किशोर, लाहुरे काका, जनसेनामा जान तयार गाउँले किशोरी, मितिनी भेट्न जान लागेकी ५ वर्षिय वालिका, होटेलकी साहुनी, कलापारखी डच युवति क्रिस्टिनासम्मका पात्रहरुबाट उपन्यासकारले विविधतापूर्ण भूमिकाहरुको समायोजन गर्न सफल भएका छन्। क्रमश:
Read Full Discussion Thread for this article