Posted by: Ok September 1, 2005
Login in to Rate this Post:
0
?
तारालाई भनेर मञ्जुमार्फत मञ्जुको घरमा भएको मेरो सर्ट र हिसाबको नोटकपी स्कुलमा ल्याउन लगाएँ। हुन त मञ्जुसँग पनि बोल्नै नहुने गरि त केहि पनि भएको थिएन, तर पनि किन किन मञ्जुको छेउछाउ पर्नै मन लागेन। उनलाई देखेको बेलामा 'छेउमै गएर सबै कुरा सोधौँ, म बाट केहि गल्ति भएको भए माफ मागौँ' जस्तो त नलागेको काहाँ हो र?, तर पनि उनले नै तेस्तो चिठ्ठी लेखे पछि त मैले उनलाई भेट्नु कुनै अर्थ छैन भन्ने लाग्यो। तारा पनि 'के भको दाई, मञ्जु र तिम्रो बिचमा राम्रो छैन कि क्या हो अहिले। फेरी तिमी त घरबाट नै स्कुल आउन थालेछौ त' भन्दै थिई। मैले 'केहि हैन त्यस्तो, मेरो घरमा काम छ के अहिले, अलिक पछि त फेरी बसिहाल्छु नि!' भनेर कुरा टारेँ। स्कुलमा पनि मञ्जुबाट म तर्कँदै हिड्थेँ। जति नै तर्किन खोजे पनि उनलाई नदेख्दा नरमाईलो लाग्थ्यो। टाढैबाट मात्र देख्न पाए हुने भन्ने चाहीँ मनमा लाग्थ्यो। कहिले काहिँ चाहीँ फेरी मञ्जुलाई भेट्दा त के नै बिग्रन्छ र जस्तो पनि लाग्थ्यो र भेट्न जाने भनेर उचालिसकेका खुट्टा उनले चिठ्ठीमा लेखेको 'मेरो एउटा बिनम्र बिन्ति छ, प्लिज तपाईँ मेरो घरमा अबदेखी नबस्नुस् है!' वाक्यले खुट्टालाई अर्कै बाटो तिर डोहोर्याउँथ्यो। हुन त मञ्जुलाई पनि त त्यस्तै लागेको थियो होला, नत्र भने किन उनि मेरो आँखा वरिपरि नै घुमिरहन्थिन् त?
परिक्षा पछि ट्युशन दिउसो पढाउन थालेँ, केटाहरुलाई। 'माघमा हुने एल.एल.सी. सम्म दिनको दुईघण्टा पढाईदिनुस्, हामी दोब्बर पैसा दिन्छौँ' भने केटाहरुले पनि। मलाई पनि के खोज्छस् कानो आँखो भने झैँ भयो। आफ्नो स्कुल बिदा भएपनि ट्युशन मात्र पढाउन तेत्रो बाटो हिँडेर जान्थेँ। उनिहरुको एल.एल.सी. सम्म मैले घरबाट नै धाएँ। घरमा पनि सबै कुरा आमालाई भनेँ। भाईबैनीलाई पनि स्कुल पठाउने भए पछि त आमाले सबैकाम गर्न सक्ने कुरा पनि भएन। बाख्राजति सबै बेच्ने कुरा गर्दा दुईबटा जोरपाठा पाउने बाख्राचाहीँ आमाले म गाईभैंसिसँगै हेर्छु भनेर बेच्न मान्नु भएन। अरु सबै बेचेर रिनब्याज तिरतार गरेँउ। भाई र बैनी पनि खुशि भए, स्कुल जाने भनेर। केटाहरुको परिक्षा सकिएपछि त्यो कोठा छोड्ने रहेछन्। त्यहि कोठामा हामी म बस्ने कुरा भो। महिनाको १५० रुपैँया तिर्नु पर्ने रे। कोठा पनि ठूलै थियो। बिचमा बारेर एकातिर ट्युशन पढाउन पनि मिल्ने, अर्कोतिर गोडादुएक गुन्द्रि ओछ्याएर खाना बनाउने ठाँउ पनि पुग्ने। ति केटाहरुले उनिहरुले चिनेका र भाईबहिनी पर्नेहरुलाई पनि म ट्युशन पढाउने कुरा गरिदिएछन्। त्यतिखेर त म पनि १० कक्षामा पुगिसकेको थिएँ। मैले ट्युशन पढाउने कुरा एककान दोकान हुँदै धेरैतिर फैलिसकेको थियो। २०४२ साल माघ २२ गते आईतबार देखि भाईबैनी र म रामपुरमै कोठा लिएर बस्यौं, आमा एक्लैले घरको काम भ्याउनु हुन्थ्यो। शुक्रबार, शनिबार र बिदाका दिनमा हामी पनि सगाउँथिँउ आमालाई। कहिले काहिँ त स्कुल बिदा लिएर नै घरको ठूलठूला कामहरु गर्थेउँ।
साझाल्यान्ड,
१६ भदौ, २०६२