Posted by: Ok September 1, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है! आत्मकथा-ओके खण्ड २६ आफैँलाई नै थाहा थिएन, के कुरा भयो मञ्जुको घरमा र किन मञ्जुले तेस्तो चिठ्ठी लेखिन् भनेर। फेरी यस्तो नराम्रो कुरा घरमा भनेर आमालाई किन पीर पार्नु भन्ने सोची नभन्ने बिचार गरेँ शुरुमा त। मञ्जुको घरमा बस्न नपाएपछि त केहि न केहि उपाय त गर्नै प-र्यो नि। बिचार गरेँ "अब एकहप्ता चाहीँ घरबाटनै जान्छु र परीक्षा दिन्छु"। घरबाट नै जान थाले पछि त घरमा थाहा हुने नै भयो, नभनि त सुखै भएन। "आमा, म यसपालीको परीक्षा घरबाट नै दिन्छु है" शनिबार बिहान उठेर गोठको धन्दा गर्न निस्किनु अघि आमालाई भनेँ। "किन, केहि नराम्रो भो कि क्या हो बसेको घरमा? कि के बदमासी गरेर आईस्?" आमाले केहि गडबड भएको सहजै अनुमान लगाउनु भयो। "हैन, त्यस्तो केहि हैन। हिँउदको समय छ। सधैँभरि के दु:ख दिनु अर्काको घरमा बसेर? भ्याउन्जेल त यहाँबाटै जाँदा भैगोनी। फेरी १ हप्ताको कुरा त हो, परीक्षा पछि माघसम्म त स्कुल बिदा भैहाल्छ।" मैले सकेसम्म ढाट्न खोजेँ। तर पनि आमाको अनुहारले नै मैले ढाँटेको कुरा थाहापाई सकेको जस्तो देखाउँथ्यो। आमाले गालि गर्नु होला र धेरै नै सोधखोज गर्नु होला भन्ने कस्तो डर लाग्यो आफूलाई त। "आमा, मैले पनि ट्युसन पढाउन थाले नि। पाँच जना छन्, महिनाको पचास रुपियाँ दिन्छन्। महिना पुगेर हिँजो एक महिनाको पैसा दिए नि ४ जनाले चाहिँ, २०० रुपियाँ। एकजनाले चाहीँ पछि दिन्छु भनेको छ। परीक्षाभरि बिदा भनेको छु ट्युशन, एक हप्तालाई।" मैले कुरा अर्कैतिर मोड्न खोजेँ, ताकी आमाले अघिको कुरामा धेरै सोधखोज नगर्नुहोस्। त्यसबेला सम्म मैले ट्युशन पढाउने कुरा घरमा गरेको थिईन। फेरी शुरुसुरुमा त 'केटाहरुले लामो समयसम्म पढ्लान् र पैसा पनि देलान्' जस्तो लागेको थिएन। "ल लिनुस् आमा, यो २०० रुपियाँ, अलिअलि गरेर जम्मा गर्नु पर्छ र भाईबहिनीलाई स्कुल पढाउनु पर्छ" मैले पैसा दिएँ। आमाले पैसा समाउन मान्नु भएन र मलाई त गालि पो गर्न थाल्नु भो "के हो, तँ कतै बसेको घरबाट पैसा चोरेर भागेको त हैनस्। यो पैसा लगेर जहाँबाट ल्याको हो खुरुक्क लगेर दे! तँबाट यस्तो काम होला भन्ने त मलाई कहिल्यै लागेको थिएन। मैले त तँबाट ठूलो आसा गरेकी थिएँ।" मलाई बोल्न पनि नदिकन आमा त आफैं रुन पो थाल्नु भो। आमाले मलाई यसरी गाली गरेको मैले थाहा पाएर यो नै पहिलो पटक हो। मलाई सारै नै नरमाईलो लाग्यो। आमालाई सम्झाउन मलाई निकै हम्मे प-र्यो। किताब समाएर कसम खाँदै आमालाई विश्वास दिलाएँ। पछि तारालाई सोधेर मैले ट्युशन पढाउँछु भन्ने थाहा पाए पछि चाहिँ आमालाई पनि ढुक्क भएछ। क्रमश:
Read Full Discussion Thread for this article