Posted by: Ok August 21, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
"साहुजी, २ बटा खाट भको कोठा छैन? बरु हामी अलिक बढि पैसा दिन्छौँ नि!" मैले साहुलाई सोधेँ। "मेरो होटलमा एउटा खाट मात्र भका कोठाहरु मात्रै छन्। बस्छौ भने बस, नत्र अर्को आउँछ, बस्नलाई!" भन्दै साहु त आफ्नो काम गर्ने लाग्यो। यसो बाहिरतिर हे-यौँ, झमक्कै साँझ परिसकेको रहेछ। अन्य ठाँउमा कोठा खोज्न पनि संभव थिएन। मैले फेरी साहुलाई अनुरोध गरेँ, २ वटै खाट नभए पनि अलिक ठूलो कोठाको लागि। 'कस्तो कुरा गरेर ल्याउँछ, लोग्नेस्वास्नी हो भने एउटै कोठामा बस, बरु एउटा कम्मल डिउँला। हैन भने छुताछुतै कोठामा बसे भैगोनि!' साहुको बोली भुईँमा खस्न नपाउँदै मैले भनेँ "साहुजी हामी त साथीसाथी हौँ। केटीमान्छेलाई नचिनेको नजानेको ठाउँमा एक्लै बस्न डर लाग्छ नि। एउटा अलिक ठूलो कोठा भए बरु हामी एकजना भुईँमा र एकजना खाटमा सुत्नेथियौँ। मिलाईदिनुस् न!" मेरो कुरा सुनेपछि साहुले पुलुक्क हामी दुईजना कै अनुहारमा हे-यो र भन्यो "तिमीहरु गाँउबाट भागेका त हैनौ? म पुलिस बोलाईदिन्छु"। अब भने मलाई साहुले कोठा पनि नदिने हो कि भनेर खुब डर लाग्यो। केटाकेटी गाउँबाट भागेर बिहे गर्ने र पछि मात्र फर्कने, केटाले केटी भगाएर मुंग्लान् लगेर बेचिदिने जस्ता घट्नाहरु समय समयामा घटिरहन्थे त्यसबेला गाँउमा। साहुलाई बिश्बास दिलाउन मैले सबैकुरा बेलीबिस्तार लगाएँ। घर, पढ्ने स्कुल, निबन्ध प्रतियोगिताको सबै कुरा गरिसकेपछि चाहीँ साहुले निकै पत्यायो। 'तेसो भए तेस्रो तलामा भको कोठा अलिक ठूलो छ। भुईँमा राम्रोसँग त पुग्दैन होला तर पनि, यसो रात कटाउन त मिल्ला। ल गएर हेर, मिल्छ भने बस' भन्दै कोठाको साँचो दियो। कोठा त सानो नै रहेछ, खाट पनि सानै। माटोले बनेको भुईँमा एउटा सानो चकटी पनि ओछ्याएको रहेछ। "अब रात परिसक्यो, मञ्जु आज यहिँ बसौँ। भोली बिहानै घर तिर लागौँला। बरु म साहुलाई आजै पैसा दिएर आँउछु, भोली त साहु पनि नउठ्दै बाटो लाग्नु पर्छ" भनेर मञ्जुसँग १०० रुपियाँ मागेर लागेर साहुलाई दिएँ। दुबै जना मिलेर खाना खान लाग्यौँ, बिहान घरबाट ल्याएको। भाडाँहरु केहि थिएनन्, त्यहि खाजा लागेको रुमालबाट झिक्दै खायौँ दुबैजनाले। खाजा खाई सकेर सुत्ने तर्खर हुँदा मञ्जु र मेरो 'को भुईँमा सुत्ने र को खाटमा सुत्ने' भन्ने कुरामा भनाभन् चल्यो। मञ्जु पनि 'म भुईँमा सुत्ने' भन्ने, म पनि 'म भुईँमा सुत्ने' भन्ने। अन्तमा मञ्जुको हार भयो । उनी खाटमा सुत्ने भईन् र ओछ्यान लगाईन्। टुकी निभाएर म पनि त्यहि साहुले दिएको कम्मलको एकापट्टी चकटीमाथी ओछ्याएँ र अर्कोपट्टी ओढ्न खोजेँ। खुट्टा पसारेर सुत्ने ठाँउ त थिएन, तर पनि यसो घुँघुरी परेर निदाउन खोजेँ। क्रमशः
Read Full Discussion Thread for this article