Posted by: Ok August 5, 2005
Login in to Rate this Post:
0
?
सवै साथीहरुलाई प्रतिकृयाको लागि धन्यबाद दिँदै अर्को भागः
मञ्जु, मलाई माफ गर है !
आत्मकथा - ओके
खण्ड २३
बाटामा पनि हाम्रा खासै गफहरु भएनन्, हिड्नकै चटारो थियो। यसो अलिअलि निबन्ध प्रतियोगिता कै कुराहरु गर्यौ। हामी जिल्ला शिक्षा कार्यालय पुग्दा १०/१२ मानिसहरु हाँसिमज्जाक गरेर कुर्सीमा बसिरहेका रहेछन्, अगाडि आँगनमा। हेडसरले "यो चिठ्ठी लगेर जिल्ला शिक्षा कार्यलयमा देखाउनु, अनि उनिहरुले जे जे भन्छन् त्यहि गर्नु" भनेर एउटा खुला चिठ्ठी दिनु भा थियो। अब त्यहाँ त्यो चिठ्ठी कस्लाई दिने भन्ने कुरा थाहा थिएन। हामी ति मानिसहरु गफ गरिरहेको टुलुटुलु हेर्दै बसिरह्यौँ। कसैले पनि हामीलाई केहि सोधेन। "उनिहरुका छोराले के खान मन पराउँछ, छोराछोरीले झगडा गरेर कति दु:ख दिन्छन्? श्रीमतीलाई के मन पर्छ? हिँजो बेलुका धेर पिएर क्या बबाल भो!" जस्ता गफहरुमा सबै जना मस्त थिए। धेरैबेर कुरेपछि मैल बिस्तारै त्यो चिठ्ठी देखाएँ एकजना कुर्सिमा बस्ने भलाद्मिलाई। उनले त हाम्रो सातो जाने गरी "के हो यो? यहाँ हैन यो दिने। कहाँ दिने भन्ने पनि थाहा छैन। बकम्फूसे ल्बाँठहरु!" भनेर हामीतिर हुर्याईदिए। हावाले त्यो चिठ्ठी उडाएर पर कुनामा पुर्यायो। मैले कुद्दै गएर समाएँ। मञ्जु त डरले पछि पछि सरेर टाढा पुगिसकिछन्। "अनि सर काहाँ हो त यो दिने?" भनेर न्याउरो मुखले अनुरोध गरेँ। उनले त "हैन तँ मलाई पाले भन्ठान्छस् कि क्या हो ?" भन्दै साताले खाए। सबैजनाको हाँसो एकछिन् रोक्कियो। अर्को एकजना भदाद्मीले "ए प्रेमे! यहाँ आईज त" भनेर कराए "उ त्यो केटाको चिठ्ठी लगेर माथी अफिसमा राख्"। "हस् हजुर" भन्दै पालेले मेरो हातबाट चिठ्ठी लिएर गयो। हामी बाहिर गेटको खुट्किलाको छेउमा गएर बस्यौँ।
एकछिन् पछि धेरै मानिस जम्मा भएपछि रानीको जन्मजयन्ति जुलुस निस्कियो। हामी पनि जुलुसको पछि लाग्यौँ। स्थानिय बाल मन्दिरमा पुगेर आमसभामा परिणत भो। जिल्लाका ठूलाठालु हाकिमहरुले एक पछि अर्को गर्दै रानीको गुणगान गाए। "रानी हाम्री देवी हुन्। हामी त उहाँका भक्तसेबक। हामी सबै रानीका पाउमा पर्नुपर्छ। रानीको देन अपरम्पार छ हाम्रो देशको लागि।" भनेर निकै भजनकिर्तन गरे सबैले। सबैले आफूलाई अब्बल दर्जाको सेबकको रुपमा उभ्याए। तर कसैले पनि रानीको के-कस्तो देन हो भनेर भनेनन्। रानीले गरेका योगदानहरुको कसैले पनि उच्चारण गरेन, केबल भक्तीगाथा बाहेक। रानीले दिएको देनको बारेमा बक्ताहरुले केहि भने देखि निबन्धमा केहि लेख्ने मेरो बिचार पनि अधुरै रह्यो। अघि मलाई शिक्षा कार्यालयमा पत्र दिँदा गाली गर्ने त जिल्लाका सि.डि.ओ. नानीकाजी बिष्ट पो रहेछन्। मुख्य अथिति भएर बोल्न थालेपछि पो मलाई त खुब डर लाग्यो। कार्यक्रम सकिने बेलामा एउटा सुचना पढेर सुनाईयो "निबन्ध प्रतियोगितामा भाग लिन आएका बिद्यार्थीहरु यहि बाल मन्दिरमा ३ बजे आउनु। २ घन्टा ढिलो शुरु हुन्छ प्रतियोगिता।" त्यतिखेरै २ त बज्न लागिसकेको थियो।
क्रमश: