Posted by: Ok August 4, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
२०४६ साल कार्तिक २२ गते तत्कालिन रानी ऐश्बर्यको जन्म जयन्तिको लागि जिल्ला स्तरीय निबन्ध प्रतियोगितामा भाग लिन हाम्रो स्कुलबाट पनि १ जना केटा र १ जना केटी ओखल्ढुंगा जिल्ला शिक्षा कार्यालय जानु पर्ने भयो। कक्षा १० को फष्ट केटा नेपाली विषयमा त्यतिसारो तिक्ष्ण नभएकोले कक्षा ९ बाट मलाई छनौट गरियो। केटीको कोटामा त मञ्जु १ मात्र उमेदवार थिईन्। कक्षा ९ र कक्षा १० मा त बल्ल तल्ल पास मात्र गर्ने ३/४ जना मात्र केटीहरु थिए। तिनिहरु भन्दा त ८ कक्षैकी भए पनि मञ्जु निकै तगडा। कार्तिक २० गते आईतबार र २१ गते सोमबार नेपाली बिषयको सरले स्कुलमा सँम्भावित निबन्धका शिर्षकहरु, निबन्ध लेख्ने तरिकाको बारेमा मञ्जु र मलाई सँगै राखेर सिकाउनु भो। "नारी विकासमा श्री ५ ऐश्बर्यको देन" भन्ने शिर्षकलाई नै हामीले मुख्य केन्द्रबिन्दु बनाएर सरलाई निबन्धको खेस्रा गर्न लगायौँ। पहिले पहिलेका अनुभबबाट ब्यक्तिपूजालाई सर्बोपरी ठान्ने पञ्चायती ब्यबस्थाका समयमा यस्तै किसिमका शिर्षक हुन्छन् भन्ने अनुमान गर्न पनि हामीलाई खासै गाह्रो भएन। सरले लेखिदिएको खेस्रालाई नै घोकेर कन्ठ पारेऊँ दुबैले। सहिदहरुको जिल्ला भनेर चिनिने ओखल्ढुंगामा २०४६ सालको जनआन्दोलन सुरु गर्ने कुराको गाईँगुईँ सुनिन थालेको थियो, भूमिगत रुपमै भएपनि। हाम्रो स्कुल भाको गाँउ त झन् सहिदको गाउँको स्कुल भएर तत्कालिन शाषकहरुको त आँखाको तारो नै भएको थियो। हाम्रो स्कुलमा अखिल-नेबिसंका गोप्य अधिबेशनहरु हुन्थे, समय समयमा। राष्ट्रबादी बिद्यार्थी मञ्डल गठन गर्न १ हप्ता अघिमात्र फर्केका जिल्लाका शाषक भनाउदाहरुले हामी बिद्यार्थीहरुलाई पनि निकै अर्कै दृष्टिले हेर्थे। अरु बर्षहरुमा चाहिँ नेपाली विषयको सरले लिएर जानु हुन्थ्यो ओखल्ढुंगा, बिद्यार्थीहरुलाई यस्ता प्रतियोगिताहरुमा। तर यसपटक चाहिँ उहाँ जान नपाउने हुनु भो। "तिमीहरु २ जना मात्र गएर आउन सक्छौ त ओम?" भनेर हेडसरले सोध्दा "सकिहाल्छौँ नि सर" भनेर हामी मात्र जाने निर्णय गरियो। हाम्रो स्कुलबाट ओखल्ढुंगा पुग्न छिटोछिटो हिड्दा २ घन्टा ३० मिनेट, आईमाई केटाकेटीको सारमा हिड्दा ३ घन्टा लाग्थ्यो। "निबन्ध प्रतियोगिता १ बजेबाट २ बजेसम्म हुने हुँदा २ बजे हिड्दा त ५ बजे जसरी पनि घर आई पुगिहाल्छन्" नि भनेर घनश्यामसरले पनि हामीलाई मात्रै जान दिने हुनु भो। मञ्जुको ममीले ठिक्क पारिदिएको खाजाको झोला बोकेँ मैले। घनश्यामसरले "बाटो हिड्दा के पर्छ के पर्छ? लौ यो २०० रुपिया बोकी राख मञ्जु, भरे फिर्ता ल्याएर दिनु!" भनेर दिनुभो। मञ्जु र म बिहान ८ बजेतिर नै ओखल्ढुंगा तिर लागिउँ, निबन्ध प्रतियोगितामा भाग लिन। साझाल्यान्ड, २० श्रावण, २०६२
Read Full Discussion Thread for this article