Posted by: Ok August 4, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
मञ्जु, मलाई माफ गर है ! आत्मकथा - ओके खण्ड २२ "ओम दाई, म एउटा कुरा भनौँ?" मञ्जुले लेख्दै गरेको कलमलाई कपिमाथी राखेर मतिर हेर्दै भनिन्। "भन न के कुरा?" सदा झै उनको कुरामा ध्यान दिने मेरो बानी यसपटक पनि कायमै रह्यो। "अब तपाईँ साँच्चै ट्युसन पढाउनुस्। ९ कक्षा सम्म त तपाईँले जुन बिषय पनि पढाउन सकि हाल्नु हुन्छ नि! एउटा कोठा खोजौँ, त्यहिँ ट्युशन पनि पढाउन मिल्ने, तपाईँका भाईबैनी पनि बसेर पढ्न मिल्ने"। मञ्जुको कुराले मेरो मनमा पनि आसाको त्यान्द्रो पलायो। 'ट्युशन पढाएर यसो मासिक २००/३०० रुपिँया भयो भने त भाईबैनीले पनि पढ्न पाउँछन्' मनमनै अलिअलि खुशि पनि भएँ। "ट्युशन पढ्ने केटाकेटी पाईएला र?" मैले मञ्जुको राय लिन खोजेँ। "पाईन्छन् होला। बाबालाई ट्युसन पढाईदिनु भनेर कति कर गर्छन्? फेरी तपाईँ राम्रो बिद्यार्थी हो भन्ने कुरा सबैलाई थाहा छ। म बुझ्छु है त, एताउता?" उनले मलाई झन् भरोसा दिईन्। "ल त्यसो भए कोषिश गरौँ। मिलेछ भने अर्को शैक्षिकसत्रदेखि नै भाईबैनिलाई स्कुल भर्ना गर्ने अनि ट्युशन पनि त्यतिखेरैबाट पढाउन थाल्ने। अहिलेलाई चाहिँ त्यहि दिँउसो आएका केटाहरुलाई ९ कक्षाको गणित सिकाईदिन्छु।" हामीले आगामी दिनको योजना बनायौँ। न त हामीले घनश्याम सरलाई नै सोध्यौँ, न त मञ्जुको ममीलाई नै सोध्ने कुरा हेक्का राख्यौँ। निर्णय पनि अब त मञ्जु र म मात्रले गर्न थालिसकिउँ। निकै नै मिहिनेत गरेर ९ कक्षाका केटाहरुलाई हिसाब सिकाउन थालेँ म पनि। पाँच जना मध्ये २ जना त जति नै सिकाए पनि भुत्लोभाङ नबुझ्ने रहेछन्। ३ जना चाहिँ अलिक मिहिनेत गरे केहि हुन्छ कि जस्तो लाग्यो। १ हप्ता पछि मैले उनिहरुलाई "मैले सिकाको कस्तो लाग्यो? अब पनि मसँगै सिक्ने कि सरहरु खोज्ने?" भनेर सोधेँ। "अब घनश्यामसरले मान्नु भएन। शाहसरले त मासिक १५० रुपियाँ नभै नपाढाउने रे। बरु तपाईँ नै सिकाईदिनुस्। हामी मासिक ५० रुपियाँ दरले दिन्छौँ" भने । मनमनै जोडेँ "मासिक ५० को दरले नै भए पनि ५ जनाको त एक महिनाको २५० रुपियाँ हुन्छ। त्यो पैसाले त भाई र बहिनीलाई पढाउन पुगिहाल्छ नि!"। "ल त्यसो भए अब देखि खुब मिहिनेत गरेर पढ्ने। ९ कक्षाको सबै हिसाब जान्यो भने त एस.एल.सी. पास हुन सकिन्छ। फेरी तिमिहरु आफैँले पनि कक्षा १० को १/२ बटा हिसाब मिलाउन सके त पास त सजिलै" भनेर उनिहरुलाई पनि आस देखाई दिएँ। केटाहरु पनि सिरियस हुँदै पढ्न थाले। क्रमश:
Read Full Discussion Thread for this article