Posted by: newuser July 31, 2005
Vote: Ashu vs Gagan Thapa
Login in to Rate this Post:     0       ?        
म र राजद्रोह गगन थापा नागरिक समाजले साउन १० गते आयोजना गरेको विरोध प्रदर्शनमा राजसंस्थाविरोधी नारा लगाएको र निषेधाज्ञा तोडेको हास्यास्पद आरोपसहित शाही सरकारले मलाई साउन १२ गते कायरतापूर्वक हिरासतमा लिएर राज्यविरुद्ध अभियोगको मुद्दा लगाउने तयारी गरेको छ । यो मुद्दा राजाका निरंकुश कदमको सबैभन्दा मुखर प्रतिरोध गर्दै आएको युवा र विद्यार्थी पंक्तिलाई आतंकित पार्ने साह्रै तल्लो दर्जाको चालबाजी हो । शाही सरकार अब आन्दोलनकारीलाई सके किन्ने, नसके थुन्ने र बदनाम गर्ने निचतापूर्ण काममा लागेको छ । यही दमन उसको पतनको कारण बन्नेछ । संवैधानिक, नैतिक, राजनीतिक र वैचारिक रूपमा कुनै हैसियत नभएको यो सरकारले कुुनै पनि स्वाभिमानी नागरिकलाई मुद्दा लगाउने नाटक गर्नु आफैंमा ठट्टा मात्रै हो । त्यसमाथि पूर्ण लोकतन्त्रप्रतिको मेरो सक्रिय निष्ठा राजद्रोह हो भने त्यस्तो 'राजद्रोह' मबाट जीवनपर्यन्त भइरहनेछ । जनताको सम्प्रभुता र सार्वभौमसत्ताका पक्षमा हामी तरुण विद्यार्थीहरूको निरन्तर संघर्ष शाही सरकारलाई राजद्रोहजस्तो लाग्छ भने त्यस्तो 'राजद्रोह' का लागि म मन, वचन र कर्मले समर्पित छु । हरेक दिन 'प्रजातन्त्रप्रति प्रतिबद्धता' को नाटक गर्ने तर प्रजातन्त्रकै गला रेट्ने शासकहरूको जस्तो दोहोरो मापदण्ड हामी युवापुस्ताको छैन । हामी जे हौं र जे गर्छौं, हिम्मतपूर्वक स्वीकार पनि गर्छौं । म चुनौती दिन्छु, आज बन्दुकका बलमा हामीलाई अभियुुक्त बनाएर कठघरामा उभ्याउन खोज्नेहरूले निकै छिटो आफैं अभियुुक्त बनेर इतिहासको कठघरामा उभिनुपर्नेछ । यतिखेर म राजद्रोहको अभियोग खेपिरहेको छु र दासतावादी शिक्षाको विरोध गरेको 'अपराध' मा सहयोद्धा विद्यार्थी साथीहरू प्रदीप पौडेल, ठाकुर गैरे, सरोज थापा, बीपी रेग्मी, नारायण भारती र पुष्प शाही सार्वजनिक सुरक्षा ऐन अन्तर्गत हिरासतमा छन् । जसले मुलुकलाई अन्तर्राष्ट्रिय जगतबाट अलग्याए र संसारकै अछूत देशसरह बनाए, जसले प्रजातान्त्रिक विधि र प्रक्रियालाई कुल्चेर मुलुकलाई थप संकटतिर डोर्?याए, जसले नागरिकका अधिकार खोसे र मुुलुकप्रति तिनको आस्था र समर्पण कमजोर बनाए, तिनले हामीलाई 'राजद्रोही' र 'समाजद्रोही' सावित गर्न खोज्नुको कुनै तुक छैन । यो सरकारसँग थोरै पनि नैतिकता बाँकी छ भने सबैभन्दा पहिले लोकतन्त्रका संवाहक र जनताका वास्तविक प्रतिनिधि राजनीतिक दलहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ र अराष्ट्रिय तत्त्व घोषणा गर्नुपर्छ भन्दै हिंड्ने भाट भारदारहरूलाई राजद्रोहको मुद्दा लगाओस् । यदि हामी तरुण राजद्रोही हौं भने अब सिंगो देश राजद्रोही भइसकेको छ ।
Read Full Discussion Thread for this article