Posted by: Ok July 22, 2005
Manju, Malai Maaf Gara Hai !--II
Login in to Rate this Post:     0       ?        
२०४५ सालको माघमा सुरु भको शैक्षिकसत्रको पहिलो हप्ता भाइबहिनी दुबै स्कुल गएनन्। म मात्र स्कुल गएँ। मन भने गह्रौँ भइरह्यो। "आज भाईबैनिको स्कुल छुटाएर आफूले मात्र पढ्दा भोली उनिहरुको भबिश्य के हुने? मलाई उनिहरुले पछि कस्तो रुपले हेर्लान्? हुन्न, जसरी भे पनि पढाउनु पर्छ। मैले केहि न केहि उपाय त निकाल्नै पर्छ" भन्ने सोचाई घुमिरहन्थ्यो। गत २ बर्षभरी मेरो अनुहारमा छाएको खुशि र मञ्जुको घरले मलाई दिएको अबसर भाईबैनीलाई पढाउन नसकेर आत्मग्लानीले फिका हुँदै गयो। संभाबित उपायहरुको सोचाईमा नै मेरा रातहरु छर्लंग बित्न थाले फेरी। "ओम दाई, किन तपाईँ आजकाल पहिलेको जस्तो हँसिलो-खुसिलो हुनुहुन्न? के भयो ओम दाई?" स्कुल सुरु भएको तेस्रो दिन स्कुलबाट फर्केर उनको खाटमा आफ्नो झोलालाई फ्यात्त फ्याँक्दै मञ्जुले सोधिन्। "के भको छ र? म त पहिलेको जस्तै छु नि" केहि पनि नभएको जस्तो गरी कुरा टार्न खोजेँ। "हैन तपाईलाई केहि भको छ, भन्नुस् न के भो? कि बाबा/ममीले केहि नराम्रो भन्नु भा हो?" उनले कारणहरु अनुमान गर्न खोजिन्। हतार-हतार "के भनेको त्यस्तो? त्यस्तो पनि सोच्ने हो? घनश्यामसर र तिम्रो ममीले कहिल्यै पनि नराम्रो कुरा गर्नु हुन्न। उहाँहरु त मेरो अभिभाबक हो। जन्मदिने बाबाले सानैमा छोडेर गए पनि घनश्यामसरले मेरो लागि बाबाको रोल खेल्नु भा छ। तिम्रो ममीले मलाई आफ्नै छोरा जस्तै ब्यबहार गर्नु भा छ, अनि तिमीले आफ्नै दाजु जस्तो। रगतको नातामा हाम्री हजारौँ कोष टाढा भएपनि भावनात्मक नातामा म तिम्रो घरसँग चाहे पनि छुट्टिन नसक्ने गरि टाँसिएको छु। मञ्जु! मेरो यो तिम्रो घरसँग टाढा रहनसक्ने सामर्थ्य मसँग छैन। मेरो जीवनको सम्पूर्ण रथ नै तिम्रो घरमा अडिएको छ। त्यस्ता कुरा नगर है अबदेखि जस्ले मलाई यो सम्पूर्ण अबसरबाट बञ्चित् गरोस्" भनेर मञ्जुसँग रिसाएँ। "अनि के भाको त?" उनको प्रश्न निरन्तर दोहोरिरह्यो। मैले टार्न कोशिष गरिरहेँ। उनले मानिनन् । उनले साँच्चै नि सिरियस हुँदै भनिन् "ओमदाई एउटा कुरा भन्छु नरिसाउनुस् है!" । "भन न म रिसाउदिन। के कुरा भन्न खोजेको?" मेरो उत्सुकता बढ्यो। "दाई, तपाईँलाई मैले पहिलो पटक चिनेको ३ बर्ष बित्न लाग्यो। हामी सँगै बसेर पढेको पनि २ बर्ष भैसक्यो। थोरबहुत तपाईँलाई चिने जस्तो लाग्छ, तर पनि तपाईँ आफ्ना मनका सबैकुराहरु मसँग भन्न किन हिच्किचाउनु हुन्छ? तपाईँले पहिले पनि तपाईँका घरका कुरा सबै हामीलाई भन्नु भएन। यदि ताराले नभनेको भए, सायद हामीले कहिले पनि थाहा पाउने थिएनौ होला। तपाईँको घर गएपछि साँच्चै नै भन्ने हो भने मैले तपाईको अबश्थालाई राम्रोसँग अबलोकन गर्न पाएँ, यथार्थतालाई बुझ्ने मौका पाएँ, बास्तबमा जीबन कस्तो पनि हुँदो रहेछ भन्ने जान्न पाएँ। तरपनि धेरै कुराहरु त अझै बुझ्न बाँकी नै छन्। तर... तर दु:खको कुरा तपाई कहिल्यै पनि मलाई बिश्बास गर्नु हुन्न। कहिले पनि मनका कुरा भन्नु हुन्न।" मञ्जु धेरै नै सिरियस थिईन्। "मञ्जु, त्यस्तो केहि हैन। यसो सानोतिनो घरको कुरा हो। म भोलीको टिफिन टाईममा स्कुलमा भन्छु है त तर तिमीले घनश्यामसर र ममीलाई नभन है!" मैले उनको चित्त बुझाएँ। तर पनि सकेसम्म मञ्जुलाई केहि कुरा पनि भन्नु नपा हुन्थ्यो भन्ने लागिरह्यो। कति आफ्ना घरका समस्याहरु मात्र भनेर मञ्जुको घरले मलाई गरेको सहयोगको उपेक्षा गर्नु भन्ने मनमा लागिरहन्थ्यो। साझाल्यान्ड, ७ श्रावण, २०६२
Read Full Discussion Thread for this article