Posted by: Nepe July 20, 2005
Login in to Rate this Post:
0
?
यस्तो बिग्रिएको परिस्थितिलाई काबुमा ल्याउन राजाले कदम चालेका हुन भन्ने मलाई लाग्छ।
राजाले कदम चालेको मात्र होईन धेरै कदम हिंडिसकेको धेरै [ अक्टोबर २००२- जनवरी २००५ सम्म कठपुतलीहरु नचाएर र २००५ फेब्रुअरी देखि आजका मितिसम्म आफै नाचेर ] भईसक्यो । उनका सम्पूर्ण कदमहरु, खास गरेर, गत फेब्रुअरी यता, का फेहरिस्त दोधारेज्यूको सामु नै होलान् । दोधारेज्यू अझ पनि राजाको निस्वार्थ सदिच्छा माथि अडिग आस्था राख्नु हुन्छ । यसमा मेरो भन्नु केहि पनि छैन ।
पूर्वाधार बलिया नभै प्रजातन्त्र बलियो हुंदैन।
यसमा मलाई केहि अप्रिय कुरा भन्नु छ । दोधारेज्यू, तपाईलाई प्रजातन्त्रको पहिलो पाठ सुनाउने धृष्टता गर्दैछु, क्षमा गर्नुहोला । 'पूर्वाधार बलिया नभै प्रजातन्त्र बलियो हुंदैन' भन्ने कुरा अज्ञानतापूर्ण हो, किनभने प्रजातन्त्रको पूर्वाधार प्रजातन्त्र स्वयं हो । अप्रजातन्त्र प्रजातन्त्रको पूर्वाधार होईन । यस्तो अचम्मको कुरो पो त छ, प्रजातन्त्र ।
महाराज ज्ञानेन्द्रको प्रजातन्त्र हत्या गर्ने सदिच्छा र तीन वर्ष पछि मौसुफकै बाहुलीबाट त्यसको पुनर्जन्म गराईदिने आश्वासनलाई राजनैतिक पार्टीहरुले जो हुकुम सरकार गर्नु पर्ने तपाई मकरतन्त्रवादीहरुको आह्वानमा सदासयता/दुरासयता के छ म जान्दिनँ, तर त्यसमा नेपालको विकासशिल गणतान्त्रिक राजनैतिक चेतनालाई बेवास्ता गर्ने बौद्धिक अनिकाल अवश्य छ ।
ज्ञानेन्द्र महाराजले तीन वर्ष त के तीन दिन पनि सहयोग र शान्तिको शासन गर्न पाउने छैनन् । उनले पाउँछु होला भनेर नै यसरी अगाडि बढेका हुन् भन्ने मलाई लाग्दैन, तर त्यसै हो भने महाराज पागल होईबक्सिन्छ ।
(महाराज पागल होईबक्सेका कुरा निस्कदाँ गत सप्ताहान्त न्यूयोर्क को एउटा भेलामा एक वक्ताले यही ठहर गरेका थिए, हालै थपुवा मन्त्रीहरुको लिस्टो उपर टिप्पणी गर्दै)
दोधारेज्यू, महाराजप्रतिको तपाईको अपरिवर्तित आस्थाप्रति मेरो विमति भएपनि, हाम्रा राजनैतिक पार्टीहरुको यथावत अन्यौलता, अक्षमता र आत्म-अविश्वास बारे भने म तपाईसंग आंशिक सहमत छु । हुन त पुरै सहमत छु । तर आंशिक भन्न पर्ने एउटा कारण छ । तपाईले प्रस्तुत गर्नुभएको तथ्यमा सहमत, तर व्याख्यामा भने असहमत भएर त्यसो भनेको हो ।
हो, राजनैतिक पार्टीहरुले सत्तामा हुँदा भाँडभैलोको शासन चलाए । तर त्यसमा उनीहरु एक-तिहाई मात्र दोषी छन ।
बाँकी दुई तिहाई मध्ये, एक-तिहाई चै प्रजातन्त्र भन्ने व्यवस्था स्वयंको छ । स्विकार गर्नोस् नगर्नोस्, प्रजातन्त्र भन्ने चिजै एक गन्जागोल व्यवस्था हो । गन्जागोल भनेको कुरो प्रजातन्त्रको सार्वभौमिक चरीत्र हो । यसलाई प्रजातन्त्रको दोश्रो पाठको रुपमा लिए हुन्छ । राजनीति कुर्सीकै लागि हुन्छ, सर्वत्र । र कमोबेसी सर्वत्र हुन्छ हानाहान तानातान ।
अनि अन्तिम एक-तिहाई दोष चैं, २०४७ को प्रजातन्त्रको अपूर्ण स्वरुपको हो । मेरा सम्पूर्ण राजनैतिक बहस यसै विषयमा हुँदै आएकोले र अहिले सर्वत्र यसैको बहस चलिरहेकोले यसलाई अहिले नतन्क्याम ।
र यसरी, राजनैतिक पार्टीहरुले गर्नुपर्ने/लड्नुपर्ने सुधार/क्रान्ति दुई-तिहाई मात्र हुन आउँछ ।
के त्यसमा उनीहरु प्रगति गरिरहेका छन् ?
छन्, तर अझै नगन्य र अति विलम्बित गतिमा ।
कुरो अड्क्या छ त्यसैमा ।