Posted by: Ok July 15, 2005
Login in to Rate this Post:
0
?
रातभरी निदाउन नसकेर हो कि किन हो, बिहान म उठ्ता चाहिँ मञ्जु मस्त निद्रामै रहिछिन्। हिँजोको नाटकको थकाईले म त भुसुक्कै निदाएँछु, मुसाहरु कराएको पनि सुनिन। मञ्जुले थाहा नपाउने गरी उठेर तल्लो तलामा झरेँ। आमाले गोठको धन्दा सकेर खिर पकाउन लाग्नु भा रैछ। "मञ्जु अझै सुतिराखेकी छिन्?" आमाले अगेनाको आगोलाई आँत लगाउदैँ सोध्नु भो। "अँ सुतिराकी छन्, खै हिँजो थकाईले होला"। केहि समय पछि मञ्जु पनि उठेर झरिन। "कस्तो छ खुट्टो दुखेको मञ्जु?" मलाई घनश्यामसर र मञ्जुको ममीले गालि गर्नु हुन्छ भन्ने पीर लागिराथ्यो। "निकै ठीक भएछ, हिड्न सक्छु म" भन्दै बाहिर निस्केर वरिपरि हेरिन् "ओहो! कस्तो राम्रो जँगल घरकै नजीकै, सबैतिर हरियाली।" छिटै मञ्जुको घर जानु पर्ने भकोले हामी खाना खान बसिम्। मञ्जुलाई आमाले खिर दिनु भो। म पनि ढिँडो खान बसेँ। बेग्ला बेग्लै खाना देखेर "म पनि ढिडो खाने" भनेर जिद्दी गरिन् मञ्जुले। "हैन नानी तिम्रो पेट दुख्छ" भनेर आमाले नमान्दा नमान्दै पनि उनकै जिद्दीले दुबैले दुबैथोक बाँडेर खायौँ। "यसो दशैँका पाउनापासा आएका बेलामा काम दिन्छ" भनेर आमाले "२ पाथी आलु र २ माना घ्यू लागिदे छोरा घनश्यामसरलाई" भनेर झोलामा हालिदिनु भो।
हामी मञ्जुको घरमा पुग्दा घाम पनि छकाल भए। हर्के अष्टमीको दिन खसी काटेर मासुलाई टुक्रा पार्दै रहेछ, बाहिर आँगनमै। हामी आँउदै गरेको देखेर "ल मञ्जु मैया पनि आईस्यो। क्या ठीक्क समयमा आईस्यो" भन्दै ठूलै स्बरले करायो। घनश्यामसर बाहिरकै खाटमा हुनुहुन्थ्यो। मञ्जुको ममी भित्रबाट निस्केर "ए ल, ठीक समयमा आईपुगेछन्। अब हात धोएर खान बस" भन्दै फेरी भित्र पस्नु भो। दहि, चिउरा, केरा, भित्र्याँस मासु भाँडाहरुमा राखेर सजाईएका रहेछन्। म चाहिँ भित्र गएर "आमाले हजुरहरुलाई दिनु भनेर अलिकति आलु र घ्यू पठाउनु भा" भन्दै समानलाई आँटीमा राखि झोला खाली गरेँ। "मलाई मेरो घरमा सबैले कुरेर बस्छन् खाना खान, मलाई ढिलो हुन्छ। म फर्कन्छु है" भनेर हिड्न खोज्दा मञ्जुको ममीले "अब खाना खाएर जाउ बाबु" भन्दै रोक्नु भो। मञ्जुले "ममी, एकछिन् यता आउनु त" भन्दै ममीलाई लिएर तलातिर गइन्। म बाहिर हर्केले मासु काटेको हेर्दै बसेँ। ५ मिनेट जति पछि मञ्जुको ममीले मेरो झोलामा निकै धेरै जस्तो देखिने सामान राखेर दिँदै भन्नु भो "ल तिमीलाई ढिलो हुन्छ भने जाउ, यो झोला लगेर आमालाई देउ है"। म झोला समाएर सबैसँग बिदा हुदैँ आफ्नो बाटो लागेँ। बाटामा गएर झोला खोलेर हेर्दा त्यस भित्र त मासु, चिउरा र चामल रहेछन्। "ला! मञ्जुले हाम्रो घरको सब कुरा भनिछन्" मञ्जुसँग अलिअलि त रीस पनि उठ्यो मलाई। तर पनि "यसपालीको दशैँ गजपले मनाउन पाईने भो" भन्ने सोच्दै र रमाउँदै हतार हतार घरतिर लम्किएँ।
साझाल्यान्ड,
३० असार, २०६२