Posted by: Ok July 15, 2005
Login in to Rate this Post:
0
?
हामी मकै पोलेर खान लागेउँ। पोलेका मकै, उसिनेका आलु, काँक्राको अचार खाँदै धेरै गफगाफ भए। "आमा, मञ्जु मैले भने जस्तै रहिछिन् कि रैनछिन्?" मैले आमाको मञ्जुलाई देख्दा लागेको कुरा बुझ्न चाहेँ। "तैँले भनेको भन्दा राम्री। बाटुलो अनुहार, हिस्स परेको मोहोडा। मञ्जु नानी सारै भाग्यमानी छिन्।" आमाको कुरा सुनेर मञ्जु मुसुक्क मुस्कुराईन् "ममी, धेरै नफूर्काउनुस् न मलाई"। बैनीले कुरा अर्कै तिर मोडी "हेर्नु त आमा, मञ्जु दिदीका हातखुट्टा त कस्ता बच्चाका जस्ता कलिला छन्, मेरा चाहिँ तुसारोले पटपट फुटेका"। आमाले पुलुक्क आँखा लगाउनु भो "ए खुट्टो त निक्कै पो दुखेछ क्यारे, कस्तरी सुन्निएको! ल म औषधी बनाई दिन्छु भनेर के के -के के झारपात र जरिबुटी मिसाएर पकाईदिनु भो र भन्नु भो "लौ यो लेदो औषधी लगाएर, एउटा कपडाले मोज्जाले बाँधेर सुत्ने, भोली उठ्दा सब ठीक हुन्छ"।
मञ्जु र म तला माथी सुत्ने कुरा भो। हाम्रो घरमा कोठाहरु थिएनन्। गुन्द्रि ओछ्याएर लहरै सुत्थेम्। एउटा टुकी बत्ति बालेर मञ्जु र म तलामाथी चढ्यौँ। तलामाथि एकपट्टि गाईभैँसीलाई हिउँदको लागी भनेर सुकेको खर राखेको थियो, अर्को पट्टी चाहीँ २/३ वटा गुन्द्रिको जति ठाँउ खाली नै थियो। त्यहाँ मञ्जुको घरको जस्ता धानका भकारी थिएनन्, न त कपडाहरुको खात। मञ्जुले यताउति हेरिन् तर केहि पनि बोलिनन्। "मञ्जु, तिमी औषधी लगाउदै गर म ओच्छ्यान् लगाउँछु" भनेर मैले २ वटा गुन्द्रि झिकेर अलिक टाढा टाढा ओच्छ्याएँ। ओढ्ने ओच्छाउने कपडा त थिएनन्, तेही पुराना फाटेका कपडाहरु तुनेर एउटा सिरक जस्तो बनाउनु भाथ्यो आमाले, तेसैमा एउटा अलिक सद्दे जस्तो खोल हालेर मञ्जुलाई दिएँ "मञ्जु, सरी है! हाम्रो घरमा ओढ्ने ओछ्याउने कपडा पनि छैनन्, के गर्नु हेरन, आज तिमीलाई रात कटाउन गाह्रो पर्ने भो"। मेरो बोली सकिन नपाउँदै औषधि लगाउन पनि चट्ट छोडेर मञ्जुले "के भन्नु भाको दाई यस्तो? मलाई केहि पनि चाहिन्न, जे छ तेहि नै भए मलाई पुग्छ।" भन्दै सिरियस भईन्। मञ्जुले मर्केको ठाँउमा राम्रो सँग औषधि लगाएर बाध्न सके जस्तो लागेन मलाई। उनले नमान्दा नमान्दै पनि मैले मर्केको खुट्टा मालिस गरेर औषधी लगाई दिएँ र दरो सँग कपडाले बाँधिदिएँ। "दाई, मलाई पाप लाग्छ, के गर्नु भा यस्तो?" भन्दै थिईन् मञ्जु।
क्रमश: