Posted by: Ok July 11, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
गत महिनाका केही घटनाहरू सम्झन्छु । म्याग्दीको बेनीमा रैथाने दलितगणले सहभोजनको चाँजो मिलायो । दलितले चम्का गाडेर दाल-भात पकाए । तिनले भोजन गर्न उदार मनोभाव हुने बाहुन-विष्टहरूलाई निम्त्याए । अरू त अरू, सीडीओ र पीडीओहरूसमेत पनि राजीखुसीले वा लाजगाल भात खान लाइनमा थपक्क बसे । सहभोजनको दृश्यबाट चुनौतीको एउटा गुन्जन आकासतिर उठ्यो, रुढीका पुत्लाहरू हो, सुन ! छुवाछूतको तिम्रो पत्रु प्रथाको नाश होस् ! अर्को आयोजन राजधानीको नक्सालमा भयो । 'विधवा' शब्दमा अपमानबोध गर्ने र एकल नारी भनिन रुचाउने जागृत महिलाहरूको लर्को त्यहाँ जुट्यो । जुटाउने नायिका लीली थापा थिइन्, एकल महिला मञ्चकी अध्यक्ष । एकल महिलाहरूका आक्रोशपूर्ण गुनासा र अर्थपूर्ण गर्जन मैले ध्यानले सुनँे । कथनको सन्देश टड्कारो थियो, 'विधवा' भनेर हामीलाई हेप्नेहरू आइन्दा होसियार ! त्यसपछि म सप्तरीको कञ्चनपुर पुगेँ । सन्दर्भ त्यहाँ पनि सहभोजनकै थियो । सक्रियता श्यामकुमार सढाय, सबुरलाल राय र अरू दलितहरूको, हात र साथ प्रबुद्ध र उदार नागरिक समाजको । बर्खामासको तराईको प्राकृतिक वातावरण उष्ण थियो । तर, मानवोचित गरिमाको खोजीमा आँधीमय पाइला चाल्दै अघि बढिरहेका मधेसी दलितहरूका वचन र भाषणमा दोब्बर उष्णता थियो । शोषण र उत्पीडनजीवीहरू विरुद्ध ती यसरी गर्जिए । मानौँ तिनका ओठबाट वचन होइन, अग्निवषर्ा भइरहेछ । त्यो चेतनाको अग्नि हो । त्यो जागरणको अग्नि हो । त्यो कालान्तरमा सामन्ती रुढी र अन्धविश्वासको रोगलाई जलाएर भष्म-खरानी बनाउने अग्नि हो । त्यो लोकतन्त्रको खुला र उदार परिवेशमा जन्मेर छिटछिटो फैलिन खोजिरहेको अथक अग्नि हो । सामन्ती एकतन्त्रका पुर्जाहरू जेसुकै कामना गरून्, त्यो अग्नि अजेय छ । बहुदलीय परिवेशले बहुलवादी चेतनालाई ससाना डबलीहरू खोलिदिएको छ । स्थिर नर्ककुण्डहरूमा चेतनाका ढुङ्गा बजि्रँदा उमङ्गमय तरङ्गहरू जागृत भएका छन् । यी नर्ककुण्डहरू अहिले पृथक्-पृथक् छन् । टाढाटाढा छन् । एक्लाएक्लै छन् । तर, जब मुक्तिकामी चेतनाका लहरहरू तरङ्गित हुँदै विस्तारित हुन्छन्, ती एकआपसमा अवश्यै भेट हुनेछन् । यी तरङ्गहरूको मिलनसँगै सामन्ती शासकहरूका काइते लिखतहरूमा बाहेक भावनात्मक रूपले कहिल्यै एकीकरण नभएको नेपाली समाजमा साँचो एकीकरणको थालनी हुनेछ । त्यो समानता र न्यायको जगमाथि आपसी सम्मान र सह-अस्तित्वको सांस्कृतिक सूत्रमा उनिने एकीकरण हुनेछ । जब त्यो हुन्छ, त्यसको एकीकृत शक्तिले सामन्तवादका सबै जर्जर किल्लाहरूलाई भित्रैदेखि हुँडलेर हल्लाइदिनेछ । अनि कारुणिक दृश्य प्रदर्शन गर्दै ती सब गल्र्यामगुर्लुम ढल्नेछन् । र, रमितलाग्दो उथलपुथलको त्यस प्रक्रियामा अहिले भन्ने गरिएको सबै नेपालीलाई अंशभाग लाग्ने समावेशी लोकतन्त्रले आकार ग्रहण गर्दै जानेछ । के यो मेरो मनचिन्ते वा मिथ्या सपना मात्र हो ? नानावली नर्ककुण्डहरूबाट उठिरहेका चेतनाका विप्लवी तरङ्गहरू भन्छन्, यो चाँडो वा ढिलो साकार नभइ नछाड्ने एक अजम्मरी सपना हो ।
Read Full Discussion Thread for this article