Posted by: Nepe June 22, 2005
Login in to Rate this Post:
0
?
![](/wysiwyg/editor/images/smiley/msn/thumbs_up.gif)
![10 more flags than likes deactivates post.](/wysiwyg/editor/images/smiley/msn/thumbs_down.gif)
म माघको ठण्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ,
दुनियाँले मलाई तरङ्गी भने !
भस्मेश्वरबाट र्फकदा सात दिन
टोल्हाएको देखेर
भूत लागेको भने !
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने !
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुला भने !
एक सूनसान औंसीले मलाई निशास भएर
म प्रलय-वेदनाले उफ्रें!
मूर्खहरुले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे !
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुगहरुले,
राँची पठाइदिए !
म आफूलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ,
एक साथीले बेसरी चिमटिदिए
र भने, "ए पागल तेरो मासु अझ मरेको छैन !"
यस्ता कुरा भए साल, साल !
पागल छु साथी !
यस्तै छ मेरो हाल !
मैले नवाबको मदिरालाई खून भनेको छु,
छिमेकी रण्डीलाई लाश भनेको छु !
राजालाई गरीब,
सिकन्दरलाई मैले गाली दिएको छु !
महात्मा भनाउँदाको निन्दा गरेको छु !
नगण्य व्यक्तिलाई, तर,
सातौं आसमानसम्म,
तारीफको पुलमा चढाएको छु,
तिम्रा महापण्डित, मेरो महामूर्ख !
तिम्रो स्वर्ग, मेरो नरक !
तिम्रो सुन, मेरो फलाम
साथी ! तिम्रो धर्म मेरो पाप !
जहाँ तिमी आफूलाई चलाक सम्झन्छौ,
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा !
तिम्रो उन्नति, मेरो अवनति,
यस्तै छ मोलमोलाइको उलट-पलट,
साथी !
तिम्रो विश्व, मेरो बाल !
जरुर साथी ! म बिलकुल चन्द्राहत छु
चन्द्राहत,
यस्तै छ मेरो हाल !