Posted by: Kedar_Sharma May 26, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
कखरा चिन्ने कम्प्युटर - केदार शर्मा "अब भने कम्प्युटरले नेपाली भाषा बुझ्ने भयो।" यो भनाइले उब्जाउने प्रश्न हो, के त्यसोभए अहिलेसम्म कम्प्युटरले नेपाली बुझेको थिएन त? हो, नेपाली भाषामा कम्प्युटर-कर्म हुन थालेको १८/२० वर्ष भइसक्दा पनि कम्प्युटरले नेपाली भाषा बुझेको थिएन। अर्थात् नेपालीलाई कम्प्युटरले बुझ्ने भाषामा हालिएकै थिएन। अहिलेसम्म कम्प्युटरबाट वर्ड प्रोसेस गरिएका लाखौँ पाना कागज छापिए होलान् तर ती सबै नै सुगाले "गोपी कृष्ण कहू" भने जत्तिकै मात्र थिए। स्वीच थिच्दा आउने Start देखि बन्द गर्दाको Turn off सम्मका सबै कुरा नै अङ्‌ग्रेजीमा हुन्थे। अङ्‌ग्रेजी अक्षर नचिन्ने अर्थात् नेपाली मात्र जान्ने मान्छेले कम्प्युटर चलाउन जान्ने दिनको कल्पना पनि थिएन। तर अब दिन फेरिए। अब भने कम्प्युटरले नेपाली भाषा साँच्चै नै बुझ्ने भयो। अब संसारका कुनै पनि कुनामा गएर, जुनसुकै कम्प्युटरमा, आफ्नु फन्ट नहालिकन इन्टरनेटमा नेपाली पत्रपत्रिका पढ्न सकिने भएको छ। फन्टको कुनै गडबडी बिना नै नेपालीमा ईमेल लेख्‍न पढ्न पाइने भएको छ। पढ्न लेख्‍न मात्र होइन, कम्प्युटरले अङ्‌ग्रेजीमा गर्नसक्ने सबै कुरा नेपालीमा पनि गर्न सकिने बाटो खुलेको छ। अब नेपाली भाषा पनि सूचना प्रविधिको विश्वव्यापी सञ्जालको सक्षम सदस्यका रुपमा उभिएको छ। कम्युटरलाई नेपाली बुझाउन पनि गाह्रो छैन। कुनै हार्डवेयर थप्नु पर्दैन, सफटवेयर पनि किन्नु पर्दैन। यसका लागि चाहिने सफ्टवेयर 'नेपाली युनिकोड' (www.mpp.org.np मा) सित्तैमा पाइन्छ। विन्डोज २००० वा विन्डोज एक्सपी वा त्यसभन्दा माथिको अपरेटिङ सिस्टम भए पुग्छ। लिनक्समा पनि नेपाली चल्ने भइसकेको छ। कम्प्युटरले नेपाली बुझ्न थालेको भर्खरैदेखि मात्र हो। करीब डेढ वर्ष अघि मदन पुरस्कारको पुस्तक सूचिलाई कम्युटरमा राखेर नेपाली युनिकोडलाई सार्वजनिक गरिएको थियो। सुरुमा त चलन चल्तीका विभिन्न फन्ट पिच्छेका अन्तरहरू सम्झिनैमा हैरान भएका कम्प्युटर प्रयोग कर्ताहरूलाई 'युनिकोड भनेको के हो के हो' भनेजस्तो भएको थियो। तर पनि उत्सुकता राखेर चलाउनेहरूलाई चाँडै नै नेपाली युनिकोड मनपर्न थाल्यो। यसको कारण हो युनिकोडको वैज्ञानिकता। युनिकोड वैज्ञानिक त छँदैछ, धेरै हिसाबले परम्परागत नेपाली फन्टहरू चलाउनभन्दा यो सजिलो पनि छ। नेपाली युनिकोडका लागि परम्परागत फन्टहरू टाइप गरेजसरी 'ट्रेडिशनल की बोर्ड' को प्रयोग गर्न सकिन्छ या रोमनमा लेखेर (उदाहरणः nepal= नेपाल, ram= राम, himal= हिमाल, BIm= भीम, bim= बिम, cil= छिल, CIl= चील) पनि नेपाली अक्षर निकाल्न सकिन्छ । अर्थात् नेपाली युनिकोड चलाउनका लागि पहिले सिकेका कुरा बिर्सिने र नयाँ सिक्‍ने झन्झट छैन। यसका केही फन्टहरू विन्डोजका पछिल्ला संस्करणहरूमा रहेरै आएकाले यो झण्डै झण्डै विश्वव्यापी भइसकेको छ। कम्प्युटरमा नेपाली भाषाका प्रयोगकर्ताहरूलाई सबभन्दा मनपर्ने कुरा हो, परम्परागत नेपाली फन्टहरूमा जस्तो युनिकोडमा Alt थिचेर अङ्कहरू थिच्ने झन्झट छैन । प्रीति मा 'द्व' लेख्‍नु पर्‍यो भने Alt+0292 हान्‍नु पर्छ, वा 'द्म' लेख्‍नु पर्‍यो भने Alt+0223 हान्‍नु पर्छ, वा ' घ्‍ ' लेख्‍नु पर्‍यो भने Alt+0163 हान्‍नु पर्छ । युनिकोडका प्रयोक्ताहरूले यस्तो केही पनि गर्नु पर्दैन। युनिकोडमा द+्(हलन्त)+म = 'द्म' हुन्छ, घ+्(हलन्त)+ = 'घ्‍' हुन्छ, द+्(हलन्त)+व = 'द्व' हुन्छ। परम्परागत फन्टहरूमा दीर्घ रु अर्थात् 'रू' निकाल्नका लागि Alt+0191हान्‍नु पर्ने झन्झट भएकाले 'हरू' लेख्‍नु पर्ने धेरै ठाउँमा 'हरु' लेख्‍ने चलन व्यापक भएको छ। कतिले "रु पनि ह्रस्व र दीर्घ हुन्छ र? एउटै त हो नि!" भनेको पनि सुनिन्छ। अब यो पनि सजिलो भएको छ। 'र' लेखेर 'ू' अर्थात् दीर्घ ऊकार हान्‍ने बित्तिकै 'रू' हुन्छ । यसरी नै चल्तीका परम्परागत फन्टहरूमा नभएका तर नेपालीमा चाहिने श्व, ष्ट्र, त्त्‍, त्र्य, ह्म, जस्ता अक्षरहरू पनि यसबाट सजिलै लेख्‍न सकिन्छ। द+्(हलन्त)+य= 'द्य' हुन्छ भन्ने कुरा टाइप गर्दा नै देखेपछि त मानिसहरूले "विद्‍या" लाई "विध्या", "उद्‍योग" लाई "उध्‍योग" भन्न पनि छाड्लान् कि ? यसले नेपाली बोल्दा हुने उच्चारण दोष घटाउन पनि मद्दत गर्ला कि ? आशा गर्ने ठाउँ धेरै थपिएका छन्। एकछिन पुरानै कुरा गरौँ नेपालीमा कम्प्युटरको प्रयोग लेख्‍न-छाप्न वा डेस्कटप पब्लिकेशनमा मात्र सीमित रहेको छ भने पनि हुन्छ, त्यो पनि निकै सीमित रुपमा। परम्परागत फन्टहरूमा लेख्‍न मिल्छ तर लेखिएका कुरालाई शब्दानुक्रम वा सङ्ख्यानुक्रममा मिलाउन मिल्दैन। नेपालीमा डेटाबेस बनाउने भन्ने कुरा त सम्भवै छैन। झण्डै डेढ दशक अघि मदन पुरस्कार पुस्तकालयले आफूसित भएका किताब र अन्य सामग्रीहरूको फेहरिस्त तयार गर्न निकै समय र पैसा खर्च गरे तापनि यही सीमाका कारण त्यो काम पूरा नभएको पुस्तकालयाध्यक्ष कमल दीक्षितको कथन छ। एककिसिमले भन्ने हो भने 'ट्रू टाइप फन्ट' भनिने अहिलेसम्म चल्तीमा रहेका अक्षरहरूलाई हामीले नेपाली नै देखे-पढे पनि कम्प्युटरका लागि तिनीहरू फरक ढाँचाका अङ्‌ग्रेजी अक्षर मात्र हुन्। प्रीति, कान्तिपुर, हिमाली, जगहिमाली जस्ता चल्तीका फन्टहरूको उदाहरण दिएर भन्ने हो भने कम्प्युटरले 'ब' भनेको a , 'क' भनेको s , 'म' भनेको d, आकार भनेको f, 'न' भनेको g र 'ज' भनेको h मात्र बुझ्छ। त्यसैले कुनै शब्दहरूलाई वर्णानुक्रममा मिलाउन सक्दैन। प्रयासको परिणाम हास्यास्पद हुनजान्छ। केही नामहरूलाई वर्णानुक्रममा राख्‍ने प्रयास गरेर हेरौँ : क्रमशः
Read Full Discussion Thread for this article