Posted by: Ok May 1, 2005
ONLY KHAGENDRA SANGRAULA PLEASE
Login in to Rate this Post:     0       ?        
नरबलिको खेल र नेपालको नाक बैशाख १५ को समय साप्ताहिकको गातोबाहिर मालाधारी मनुवाको फोटो छ । त्यो गोलीको माला हो । ती जङ्गली जन्तुको हैन, मानिसको सिकार गर्ने गोली हुन् । लाल-लाल नेत्र भएका जुँगामुठे यी मनुवा देख्दैमा चर्का लाग्छन् । निजका हातमा बन्दुक छ । गोलीको घातक चरित्र र मालाधारीको अनुहारको भावमा सादृश्यको झल्को छ । त्यो देख्दा हिंसा र प्रतिहिंसाको होडमा मान्छे मारिएको सुन्न नरुचाउने हामी नागरिकहरूका संवेदन तन्तुहरूमा त्रासयुक्त कम्पन पैदा हुन्छ । मालाधारी यी मनुवा प्रतिकार अभियानका जन्ड लडाका हुन् । सम्झन्छु, प्रतिकारको यो लहर दैलेखबाट उठेथ्यो । अति भनेको अति नै हो । जब माओवादीको अपहरण, चन्दा र हिंसा अति भो, दैलेखवासीहरू त्यो खपिनसक्नु अतिविरुद्ध उठे । प्रतिकारको स्वतःस्फूर्त तरङ्ग थियो त्यो । तरङ्गमा धूप हाल्न तिनताकका तीन मन्त्री हान्निँदै दैलेख पुगे । ती थिए, एमालेका युवराज ज्ञवाली, प्रजातान्त्रिकका पूर्णबहादुर खड्का र राप्रपाका बालाराम घर्तीमगर । प्रतिकारकर्मीहरूलाई तिनले उत्ताउलिँदै स्याबासी दिए । तिमीहरू ज्ााइलाग, तिमीहरूलाई सुरक्षा दिने जिम्मा हाम्रो भो भनेर लाटासीधा जनतालाई तिनले उक्साए । तर, साटो फेर्ने खेलमा माओवादीबाट प्रतिकारकर्मीहरू भकाभक मारिँदा मन्त्री नामक यी त्रिमूर्ति आपनो बतासे वाचा बिर्सेर सिंहदरबारमा उङरिहेका थिए । दैलेखमा हिंसा र प्रतिहिंसाको होडमा थुप्रै ज्यान जखम भए, अनेकौँ घरहरू जले र बासउठ्ठा हुनेहरूको लाम लाग्यो । अहिले ती अभागीहरूको दुर्दसाको कथा सोध्न शासनको आसनमा बस्ने कसैलाई पनि फुर्सद छैन । अलिपछि उही कुरूप कथा कपिलवस्तुमा दोहोरियो । 'जनयुद्ध' का नाममा जब अतिको कीर्तिमान कायम भयो, त्यहाँ पनि भुक्तभोगीहरू प्रतिकारमा उठे । त्यो पनि जनप्रतिक्रियाको एउटा स्वतःस्फूर्त तरङ्ग थियो । तरङ्गमा धूप हाल्न तीन जना मन्त्री हान्निएर त्यहाँ पुगे । ती थिए, आरके मैनाली, टङ्क ढकाल र अर्का एक जवान । तिनले प्रतिकारकर्मीहरूलाई धाप मारे । तिमीहरू अघि बढ, परिआउँदा तिमीहरूका लागि माथि हामी छौँ । तर, साटो फेर्ने पाशविक खेलमा प्रतिकारकर्मीहरूको वध गर्न जब माओवादी तम्सियो, त्यसबेला यी धूपमार्गीहरू कहाँ थिए कसैलाई थाहा भएन । हिंसा र प्रतिहिंसाको होडमा कपिलवस्तुमा दर्जनाँै ज्यान गए, सयौँ घर खरानी भए र सयौँ परिवारको उठिबास भयो । 'इन्सेक' को रिपोर्टमा एउटा दारुण कथा छ । सरकारी शस्त्रबलले एउटा उदेकलाग्दो कर्म गरेछ । तीन माओवादी उसको पन्जामा परेका रहेछन् । उसले तिनलाई प्रतिकारकर्मीहरूका हातमा फिर्ता दिएछ । अनि ती तीन निहत्था मानव खेदिखेदी, छेकिछेकी, कुटीकुटी मारिएछन् । मार्ने काइदा उताकाको र यताकाको उस्तै छ । समात्छन् र निःसहाय अवस्थामा निःशस्त्र मानिसलाई अकथनीय पीडा दिएर मार्छन् । मानौँ, मारिएको अन्न खाने मुसालाई हो । लाग्छ, नवलपरासीको बगर्दहवामा आइपुग्दा हिंसा र प्रतिहिंसाको यस सङ्क्रामक व्याधिले विकराल रूपधारण गरेको छ । कथाभित्रका काला पत्रहरू यस्ता छन् । आशामुखी प्रतिकारकर्मीहरूलाई काम देखाउनु थियो । तिनले २२ माओवादीहरूलाई पक्राउ गरी प्रशासनमा लगेर बुझाए । उता माओवादी मानौँ 'जनयुद्ध' को नाउँमा जनमारा युद्धको सन्देश सञ्चार गर्न आतुर थियो । उसको पालो गाउँ घेरा हालेर १० जना निःशस्त्रहरूको निर्मम हत्या गर्?यो । विचलनकारी यी दुईथरीमाझ जब यो चुत्थो दोहोरी चल्यो, प्रतिकारको गुह्य सर्वाङ्ग उजागर भयो । कथाभित्रको हिंस्रक कथा सुन्दा मुटु काम्छ । माओवादीले हतियार उठाएपछि नागरिकका घरबाट सरकारले एकएक राइफल थुतेको जगत्लाई थाहा छ । तर, अहिले यी प्रतिकारकर्मीहरूसँग ६० थान राइफल छन् । तिनलाई ती राइफल दिएको कसले, कुन नियतले र कुन नियमले हो ? प्रतिकार समितिले बकाइदा १५ बुँदे नियमावली बनाएको छ । नियम नम्बर तीन भन्छ, समितिले इलाका र सैनिक क्याम्पको निर्देशनअनुसार काम गर्नेछ । माने के भने प्रतिकार समितिको हाइकमान्ड सुरक्षा निकाय स्वयं हो । अनि यसको जनक, प्रेरक र चालक ? लक्षणले यो अर्द्ध-सैनिक दस्तासरह दृष्टिगोचर हुन्छ । कुरा यसै हो भने यो आमनागरिक समाजमा शान्तिको आवादी गर्ने उपाय हैन, नरबलिको आवादी गर्ने उद्योग हो । थलैमा गएर सुनिजान्ने पत्रकारहरू भन्छन्, प्रतिकारमार्गी नायकहरूका चरित्र छाँट-छाँटका छन् । कोही गाउँमै उत्पात नाउँ गन्हाएका छन् । कोही भारतमा धुमधाम 'वान्टेड' छन् । जसले आपनै इज्जत र इमानको सुरक्षा गर्न सकेका छैनन्, तिनले गाउँलेहरूको सुरक्षा के गर्लान् ? यो ती निरीह गाउँलेहरूको मौन प्रश्न हो, जो सुरक्षाको नाममा झनै असुरिक्षत भएका छन् । उसो त प्रश्न अर्को पनि छ । खबर भन्छ, प्रतिकारपथका यी नायकहरू राजनीतिक दलहरूका नामसमेत सुन्न रुचाउँदैनन् । कसैको राजनीतिलाई घृणा गर्नु भनेको कसैको राजनीतिलाई माया गर्नु हो । कतैबाट राइफलप्राप्त यी नायकहरू कसको कुन राजनीतिका भरिया हुनन् ? सुन्छु, यतिखेर बर्गदहवाका प्रतिकारकर्मीहरू कालभैरवको उन्मत्त मुद्रामा छन् । ती भन्दैछन्, भेटे माओवादीलाई मार्छौं, नभेटे तिनका शाखा-सन्तानलाई मास्छौँ । हातमा अच्चुक बन्दुक छन् । मनमा असीम घृणा छ । साथमा कतैको आशीर्वाद छ । यो विकराल अनिष्टको सूचक हो । २०५२ सालअघि राजनीतिक द्वन्द्वमा मर्ने नेपालीहरूको सङ्ख्या सयमा गनिन्थ्यो । त्यसपछि हजारमा गनिन थाल्यो । के हामी नरद्वेषी द्वन्द्वमा मर्नेहरूको सङ्ख्या लाखमा गनिने दिनको नजिक पुग्न लागेका हौँ ? जेनेभामा मानवअधिकारको तुलोमा नेपालको नाम रोल नम्बर १९ मा परेको छ । यो बदनाम राष्ट्रलाई भिराइने रोल नम्बर हो । थाहा छ, प्रतिकारका यी कथाहरूले गर्ने योगदान झनै निकृष्ट हुनेछ । आगे साल जेनेभामा नेपालको नाम रोल नम्बर ९ मा लेखिन बेर छैन । त्यो अपराधी राज्यको रोल नम्बर हो । राष्ट्रको नाकमा कलङ्कको टीका लागेको देख्न नचाहने नेपालीहरूका लागि यो सुखद रोल नम्बर किमार्थ होइन । मकरतन्त्रका लागि ?
Read Full Discussion Thread for this article