Posted by: Nirman April 7, 2005
Yatra Sansmaran: Yeuta Beglai Anubhuti
Login in to Rate this Post:     0       ?        
******************************************** माथ्लो डाँडा नि आईपुगेछ उकालो चढ्दा चढ्दै, मकै नै मकै भएको बारी चढ्दै गर्दा बाटो कटेको नि पत्तै पाएनछु। तर प्यासले चाहिं मुखै पो सुकेछ मेरो। "साहुनी, यसो पानी खाम न हो।" लोक दाईले च्याट्ट परेकी साहुनीसंग माग्नुभो। "कहाँसम्म नि दाई?" साहुनीले नि सोधीहाली। "त्यहि श्यामशिला त हो नि, कामै त्यता आफ्नो" लोक दाईले प्रस्ट्याउनुभयो। "यसो चिया खाने कि दाई" आफ्नो सामान बिकाउने मेशो निकालिहालि साहुनीले। "के चिया खाने यस्तो गर्मिमा।" मैले आफ्नो कुरो राखें। "त्यसो भए चिसो खाने नि।" बाठि रैछ साहुनी पनि। "कहाँ चिसो खाने?.अरु पाईन्न??" लोक दाईले पनि जिस्कदै भन्नुभो। "छ्या हो!! अरु के चाहिएको नि त्यस्तो??" नबुझेको पारामा साहुनीले भनि। "दुईटा दिनु न कोक।" मैले बिचमा प्वाक्क भनिहालें। कोक खाएर हामीले चाँडो बाटो ततायौँ, टाढा थियो हाम्रो गन्तब्य। यता उताको गफ गर्दै बाटो काट्दै थियौ, माथिबाट स्ट्रेचरमा बिरामी बोकेर तलतिर लागेका मान्छेहरु भेटिए। अब यस्तो अहिलेको अवस्थामा हिँडेको मलाई त सोध्न नि डर लाग्यो। "के भएको हो दाई??" एकजनासंग लोक दाईले सोधिहाले। "हाम्रा गाऊँका मास्टर्नी हुन्, घाँस काट्न गएकि, भिरबाट लडिछन्, पेटमा बच्चा पनि थियो, खोई बाँच्ने हुन् कि होईनन्??" एकै सासमा त्यो दाईले जम्मै कुरा भन्न भ्याउनुभयो। आज नै धनकुटा पुग्ने लक्ष्य थियो क्यारे उनीहरुको, दौडिहाले। "पुग्छन् त यी आज दाई??" मैले आफ्नो जिज्ञासा राखें। "खोई कर्फ्यु नलाग्ने हो भने त धनकुटा नै पुर्याउँथे, बिचरी बाँच्ने हुन् कि होईनन्।" हुन नि कर्फ्युले हामी जनतालाई मात्र दु:ख, गर्नेले कर्फ्यु नै हुँदा नि बिध्वंश मच्चाईराखेका छन्, मेरो मनमा कुराहरु खेल्न थाले। आधा घन्टा माथी के चढिएको थियो, एकजना बुढि आमै भेटिईन् बाटोमा। "बाटोमा बिरामी भेट्नु भो, बाबुहरु??" आमैले सोध्नुभो। "अँ भेटिए, आमै।" मैले बोले। "आज पुर्याऊँछन् होला है धनकुटा अस्पतालमा।" आमैले आश गर्नुभो। "पुर्याऊँछन् होला आमै।" मलाई आमैको विश्वास तोड्न मन लागेन। "बिचरी, टाढाबाट पढाउन आएकी, दशाले गढेछ, लोग्नेलाई खबर नि गरलान् नि केटाहरुले। हाम्रो यहाँको हेल्थ पोष्ट नि उडाईहाले। नभए केहि गर्थेकी ती कम्पाउन्डर सापले।"आमैले लामै कुरा बोल्नुभो। हुन नि देशमा स्वास्थ्यको स्थिती धेरै नाजुक भैसकेको छ यो ४ ५ वर्षमा। जम्मैजना स्वास्थ्यकर्मिहरू गाउँघरमा बस्न छोडिसके। बस्नेहरु नि भाग्ने मनस्थितीमा। मनमा नि अनेक कुरा आउन थाले, दिक्क लाग्न थाल्यो देशको अवश्था देखेर। मैले मनका कुरा बदल्न लोक दाईसंग कुरो गर्न थालें।
Read Full Discussion Thread for this article