Posted by: usofa March 28, 2005
Nepali typing in 1 hour
Login in to Rate this Post:     0       ?        
कम्प्युटर चलाउने नेपाली भाषा विनयकुमार कसजु - सूचना प्रविधिको उपयोग नगरी कुनै पनि क्षेत्र अघि बढ्न नसक्ने स्थिति नेपालमा पनि आइसकेको छ । तर, सूचना प्रविधि सञ्चालन गर्न चाहिने नेपाली भाषाको विकास नहुँदा एकातिर सूचना र ज्ञानको खाडल बढिरहेको छ भने अर्कोतिर अंग्रेजीमा सञ्चार गर्न नसक्ने झन्डै नब्बे प्रतिशत जनताको विकास अवरुद्ध हुने अवस्था आउँदैछ । कठिन ठानिएका कतिपय भाषामा कम्प्युटर चल्न सक्छ भने नेपालीमा किन चल्न सक्तैन ? यदि नेपालले सूचना प्रविधिबाट लाभ लिने हो भने कम्प्युटरमा नेपाली भाषामा टाइप गरेरमात्रै अब काम चल्दैन भन्ने स्पष्ट भइसकेको छ । कम्प्युटरको पर्दामा नेपाली अक्षर देखिनु र कम्प्युटरले नेपाली भाषामा दिएको आदेश -कमान्ड) अनुसार काम गर्नु धेरै फरक विषय हो । अहिलेसम्म नेपाली भाषाले दिएको आदेश कम्प्युटरले बुझ्ने प्रविधि हाम्रोमा चलिसकेको छैन । 'अब नेपाली भाषामा कम्प्युटर चल्ने' शीर्षकका समाचार मिडियामा आउन थालेको चाहिँ पाँच/छ वर्षै भइसक्यो । उच्चस्तरीय सूचना प्रविधि आयोगअन्तर्गतको एउटा कार्यदल नेपाली भाषालाई कम्प्युटरअनुकूल बनाउने प्रयासमा लागेको खबर आउन थालेको पनि धेरै वर्ष भइसकेको छ । मदन पुरस्कार पुस्तकालयसमेत संलग्न कार्यदलले नेपाली युनिकोड तयार पारेर वेबसाइटमा राख्न मिल्ने नेपाली फन्ट तयार पारेको छ । र, अहिले केही वेबसाइटले यसलाई अपनाउन थालेका छन् । तर, नेपाली भाषामै कमान्ड दिएर कम्प्युटरले काम गर्ने अवस्था प्रचलनमा आइसकेको छैन । जबसम्म यो सहज हुँदैन तबसम्म नब्बे प्रतिशत नेपालीका लागि कम्प्युटर भनेको आकाशको फलजस्तै हुनु स्वाभाविक छ । नेपाली भाषामा कम्प्युटर चलाउने प्रविधि विकास नहुनुको पछाडि विभिन्न कारण हुनसक्छन् । एउटा प्रमुख कारण बजारको अभाव हो । नेपाली प्राविधिकले विश्वस्तरकै सफ्टवेयर स्वदेशमा बनाएर विदेश निर्यात गरिरहेका छन् । तर, साइबर कानुनको अभाव र अपर्याप्तता, कपीराइट कानुनको अपर्याप्तता तथा नेपालीमा बनेका सफ्टवेयर बेच्ने बजारको अभावले नेपाली भाषी सफ्टवेयरको उत्पादन हुनसकेको छैन । नेपाली भाषाको हिज्जे जाँच्ने एउटा सफ्टवेयर बन्यो भने किन्ने कति होलान् ? एउटा बिकेपछि त्यसको कपी गरेर उपयोग गर्ने कति हुन्छन् ? बजारको ग्यारन्टी नभएसम्म उत्पादक अगाडि आउने सम्भावना देखिँदैन । यस्तोमा सित्तैमा बाँड्ने सफ्टवेयर विकास गर्ने सम्भावना मात्रै बाँकी रहन्छ । यसका लागि दाताको मुख ताक्नुपर्ने हुन्छ । अर्को सम्भावना के छ भने नेपाली भाषाको मूल र स्वभाव हिन्दी, गुजराती आदि भारतीय भाषासँग मिल्छ । अधिकांश नेपाली बिनामिहिनेत हिन्दी बुझ्न र लेख्न सक्छन् । हिन्दी बोल्ने जनसंख्या ठूलो छ र बजार पनि । अतः हिन्दीमा कम्प्युटर चलाउन गरिएका प्रयास र नेपालीमा गरिने प्रयासबीच समन्वय भएमा सजिलो हुनसक्छ । हिन्दी भाषामा नपाइने तर नेपालीमा प्रचलित केही अक्षर जस्तै आधा र -र्?) जस्ता केही चिह्न वा नेपालीका लिपिगत विशेषतालाई थप्नुपर्ने हुन्छ । हिन्दी र नेपाली भाषाबाट कम्प्युटर चलाउने काममा एकरूपता आयो भने नेपाली प्रयोगकर्ताको पहुँच हिन्दीभाषी वेबसाइटमा भएका विशाल सामग्रीसमक्ष सहज रूपमा हुन्छ । यसरी हामीले दोहोरो लाभ पाउन सक्छौं । नेपालीमा कम्प्युटर, इमेल, इन्टरनेट चलाउन सकिए तापनि उपयोगी र सान्दर्भिक विषयवस्तु/सामग्रीको निक्कै अभाव छ । वेबसाइटमा उपलब्ध अधिकांश सामग्री अंग्रेजीमा छन् । यो अभाव पूरा गर्न धरै विद्वान् तथा विद्यार्थी तथा स्वयंसेवी संस्था र व्यक्तिको खाँचो हुन्छ । दैनिक जीवनका उपयोगी विषयवस्तु, सरकारी, शैक्षिक, स्वास्थ्य तथा जीवनोपयोगी सबै विषयका सामग्रीले वेबसाइट खचाखच भर्नुपर्छ । धेरै कुराको अनुवाद गर्नुपर्ने हुन्छ र दक्ष अुनवादकको खाँचो पर्छ । वेबसाइटमा निःशुल्क उपयोग गर्नसकिने सामग्री राख्नुपर्छ । भारतीय उपमहाद्वीपका देशमध्ये नेपालमा मात्र अंग्रेजी शासन भएन र अंग्रेजी भाषा सरकारी कामकाजको भाषा बनेन । यो गौरवको कुरा हो । तर, यो क्षेत्रका अन्य मुलुकको तुलनामा नेपालमा अंग्रेजी भाषाको जग कमजोर हुनुको प्रमुख कारण पनि यही हो । अहिले आएर अंग्रेजी भाषाले अन्तर्राष्ट्रिय रूप लिइसकेको छ र सूचना र ज्ञानको लागि अंग्रेजी भाषा जान्नु अपरिहार्य भइसकेको छ । वेबसाइटमा उपलब्ध सामग्रीमध्ये अधिकांश अंग्रेजीमा भएकाले त्यहाँ पाइने असंख्य ज्ञान र सूचनामा पहुँच हुन त्यो भाषा जान्नै पर्छ । जति प्रयास गरे पनि नेपाली भाषाका सामग्रीले वेबसाइट भर्न सम्भव छैन । अतः हाम्रो शिक्षा नीति र पाठयक्रममा पनि यसैअनुसार सुधार गर्नु अवश्यक छ । नेपाली भाषाको लेख्य परम्परालाई कम्प्युटरमा मात्र होइन, चलनचल्ती र दैनिक व्यवहारमा पनि सरल र सहज बनाउनु आवश्यक छ । यसको लागि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको 'नेपाली बृहत् शब्दकोश' मा संस्कृतबाट आएका तत्सम शब्दबाहेक अन्यबाट आएका आगन्तुक शब्दको लेखन सम्बन्धमा थालिएका सरल नियम पालन गर्नु उपयुक्त देखिन्छ । हालै प्रकाशित 'प्रयोगात्मक नेपाली शब्दकोश' ले केही बाटो देखाएको छ । तर, त्यसमा पनि व्यापक सुधार हुनुपर्ने देखिन्छ । पदयोग र पदवियोगको धेरै पहिलेदेखि चलेको किचलो र भ्रमलाई हटाउन हिन्दी भाषाले जस्तै केही नयाँ र व्यापक निर्णय लिनु उपयुक्त देखिन्छ । नेपाली भाषालाई अझै सरल र व्यावहारिक बनाउन थप केही कदम चाल्नु आवश्यक छ । जस्तै ः शिरविन्दु र चन्द्रविन्दु दुवैका लागि एउटै चिह्न वा शिरविन्दुमात्र प्रयोग गर्दा फरक पर्दैन । केही अपवादलाई कायम गर्न सकिन्छ । देवनागरी लिपिको हलन्त -आधा) ङ, ञ, ण, न, र म जोडेर बन्ने शब्द, जस्तै सङ्कलन, सञ्चार, काण्ड, बन्दा जस्ता शब्द लेख्दा आधा अक्षरको सट्टा शिरबिन्दु प्रयोग गर्नाले सजिलो र कम्प्युटरको की-बोर्डलाई पनि धेरै हलुका हुन्छ । संसारका सबै प्रमुख देशले अंकको लेखाइमा रोमनलाई नै मान्यता दिइसकेका छन् । भारत, चीन, जापान तथा अरब देशमा पनि उनीहरूको भाषा र लिपि आफ्नै भए तापनि अंक लेख्दा अन्तर्राष्ट्रिय प्रचलनअनुसार नै लेख्छन् । नेपाली भाषामा अहिले पनि केही अंकका लागि धेरै चिह्न प्रचलित छन् । जस्तै नौ धेरै तरिकाले लेखिन्छ । नेपाली गाडी विदेशमा लैजाँदा तिनको नम्बर प्लेटले काम दिँदैन । त्यस्तै नेपाली अंकमा लेखिएका मालसामानको बिल-भर्पाइ, परीक्षाफल आदि अनेकौं कुरा विदेशमा देखाउँदा समस्या पर्छ । यसैले नेपालमा पनि जतिसकेको चाँडो अन्तर्राष्ट्रिय प्रचलन अनुसारको अंकचिह्न व्यवहारमा ल्याउनु आवश्यक छ । अरू भाषाबाट शब्द र चिह्न लिँदा बेइजत हुँदैन बरु धनी भइन्छ । यसो गर्नु भाषाको गतिशीलताको परिचायक पनि हो । अंग्रेजीले जति शब्द अरू भाषाबाट लिएको छ त्यति अरू कुन भाषाले लिएको होला ? यसैले त आज अंग्रेजी गतिशील र धनी भाषा बनेको छ । अंग्रेजी भाषा प्रयोग गर्न नसक्ने अधिकांश नेपालीलाई नेपालीमा कम्प्युटर चलाउनसक्ने बनाएर सूचना प्रविधिको उपयोग गर्ने नेपालीको संख्या बढाउन सरकारी र गैरसरकारी क्षेत्रबाट गरिनुपर्ने नीतिगत, प्राविधिक तथा व्यावसायिक प्रयास नेपालमा धेरै ढिला भइसकेको छ । अझै पनि हामी पछि पर्?यौं भने समयलाई भेट्टाउन धेरै गाह्रो पर्नेछ ।
Read Full Discussion Thread for this article