Posted by: Nepe March 18, 2005
Login in to Rate this Post:
0
?
अन्त्यमा, आफ्नो चरित्र यथावत रहने गरेर नेपालका यी तीन फोहोर मध्ये कुनै एकले एक्लैले वा कुनै दुईले मिलेर वा तीनैले आपसमा मिलेर पनि केही गर्दैनन् भन्ने कुराको हेक्का लगभग सबैलाई छ । त्यसैले जुनसुकै आशा वा बहानामा होस्, कुनै एक पक्षको मात्र झण्डा बोक्नेको हार र अनर्थता त सुनिश्चत र स्पष्ट छ ।
नेपाल आज लोकतन्त्रको एक वृहद र अन्तिम क्रान्तिको लागि चिच्याईरहेको छ । अस्थायी शान्तिको न्यानो पिसाबमा सुत्न सकिएछ नै भने पनि ब्युँझदा भने ओभानो तर पराईको ओच्छ्यानमा आफुलाई पाउनेछौं हामीले । अनिश्चित शान्तिको लागि तानाशाही खप्नेले निश्चित शान्तिको लागि भारतसंगको विलयलाई किफायती ठान्नेछन् । यसरी हामी हाम्रो स्वतन्त्र अस्तित्वको बाजी नलगाऔं ।
यी भयहरु सैद्धान्तिक संभावनाको कुरा हुन् । आजको वस्तुगत यथार्थ चाही के हो भने पूर्ण लोकतन्त्रको आवश्यकताप्रतिको बढ्दो जनजागृति, पूर्ववत अपूर्ण लोकतन्त्रले योग्य राजनैतिक नेतृत्वको विकास हुन नसक्ने कुराको उजागर, माओवादीले सबल हुन प्रयोग गरेको सबभन्दा ठूलो हतियार अर्थात् पूर्ण लोकतन्त्रको मुद्दा माओवादीको हातबाट खोसेर उनिहरुलाई उनिहरुको बाँकी बेकम्मा हतियार अर्थात साम्यवादसंग एक्ल्याईदिनुपर्ने कुराको बढ्दो बुझाई, त्यसो गर्न हिचकिचाईरहेका पार्टी नेतृत्वप्रति कार्यकर्ताहरु र जनताको गिर्दो आस्था, पूर्ण लोकतन्त्रप्रतिको जनजागृतिबाट उतर्सिदो दरबार, र यी सबैको योगबाट लोकतन्त्रको पक्ष र विपक्षको दूई ध्रुवमा जानेर वा नजानेर, चाहेर वा नचाहेर हुँदै गरिरहेको ध्रुविकरण ।
अब के चाहने भन्ने घडी घर्कीसक्यो, अब त अब के हुन्छ भनेर हेर्ने मात्र हो । अब पूर्ण लोकतन्त्रको लडाई कसैले पनि रोक्नसक्दैन- ज्ञानेन्द्र, गिरिजा, माधव र प्रचण्ड, कसैले पनि ।