Posted by: haal haal pandit July 13, 2025
‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर…’
Login in to Rate this Post:     0       ?        
बद्री र दुर्गा एउटै बाआमा छोराहरू हुन् । उमेरमा खासै अन्तर छैन । यसकारण उनीहरू एउटै परिवेशमा हुर्के । बाआमा पनि कलाकार नै भएकाले सानैदेखि कला क्षेत्रमा लाग्न प्रशस्त प्रेरणा थियो ।

फरक व्यक्ति भएपछि रुचि पनि फरक भइहाल्छ । उनीहरूको हकमा पनि यो कुरा लागू भयो । दुर्गा सानैदेखि संगीतमै केन्द्रित भए भने बद्री संगीतका साथै नाटकतिर पनि लागे । पछि उनले केही फिल्ममा समेत अभिनय गरे ।

तर दुवैलै मिलेर गीत सिर्जना गर्ने, लेख्ने र गाउने काम छाडेनन् । त्यस कुराले नै उनीहरूलाई बाँधेर राखेको थियो । र अहिलेसम्म पनि बाँधि नै रहेको छ ।

उनीहरूको सम्बन्धमा पैसा वा प्रलोभनले कहिल्यै स्थान पाएन । उनीहरूको चाहना एउटा साधारण जीवन बिताउँदै रचनात्मक तथा सृजनात्मक कार्य गर्ने र आफूलाई प्रस्तुत गर्ने मात्र थियो ।

यसो भन्दैमा उनीहरूबीच सानोतिनो मनमुटाव नभएको अथवा नहुने होइन । तर त्यसलाई ठूलो रूप लिन उनीहरूले दिँदैनन् । दिएनन् । बरु उनीहरूको प्रलोभन भनेकै संगीत र कला हो । यस क्षेत्रबाट समाजको निम्ति केही गर्न सकियोस् वा समाजलाई केही दिन सकियोस् भन्ने मात्र हो ।

दार्जीलिङ र कला-संगीत

एक त उनीहरूको जन्मस्थल, अर्को संगीतको उर्वर भूमि । उनीहरूले दार्जीलिङलाई कलाको ठूलो क्षेत्र नमान्ने कुरै भएन । तर त्यसभन्दा पनि उनीहरू बाल्यअवस्थामै हुँदा त्यहाँ अम्बर गुरुङ, कपिलराज सुब्बा, शरण प्रधान, अरुणा लामा, गोपाल योञ्जन र कर्म योञ्जन जस्ता धेरै दिग्गज कलाकारहरूसँग संगत गर्न पाएका थिए ।

‘दुर्गा बद्री खरेल’ का लागि प्रेरणा दिने शरण रञ्जित (रञ्जित गजमेर र शरण प्रधानको जोडी) तथा कर्म गोपाल (कर्म योजन र गोपाल योजन) जस्ता कलाकारहरूको जोडी थियो।

दार्जीलिङमा उनीहरू हिमालय कला मन्दिरमा जोडिएका थिए । त्यसलाई बद्री र दुर्गा आफ्नो संगीतको दोस्रो घर मान्ने गर्छन् । किनकि त्यहाँ उनीहरूलाई गोपाल योञ्जनले शास्त्रीय संगीत र आफ्नै रचना गरेका गीतहरू सिकाएका थिए ।

त्यसबाहेक यहीँबाट नै उनीहरूले कलाकारहरूको ठूलो जमातसँग घुलमिल हुने अवसर पाएका थिए । त्यहाँ बद्रीले ड्रम बजाउँथे भने दुर्गा गीत गाउँथे । भनौं, प्रस्तुति र सम्बन्ध विस्तारको अवसर उनीहरूले त्यहीँबाट पाए ।

तर गोपाल योञ्जन काठमाडौँ गएपछि उनीहरूलाई गाउने गीतहरूको कमी भयो । एउटा गोठालेको अभाव भयो । त्यसको अभाव पूर्ति गर्न आफूसँग जे छ, उनीहरूले त्यसबाटै सिर्जनाको काम गर्न थाले । आफैंमा खोज्न थाले ।

अनि त गीत लेख्न थाले । टेबल ठटाएर भए पनि धुन निकाल्न थाले । भलै त्यसको केही समयपछि उनीहरूका बुबाले एउटा हार्मोनियम किनिदिए । तर उनीहरू विश्वास गर्छन् कि गीत बाजाबाट होइन, हृदयबाट जन्मिन्छ ।

पहिलो प्रस्तुति र पाएको दिशा

कला मन्दिरबाहेक उनीहरूको संगीत फस्टाएको कलेजमा हो । कलेज जीवनमा उनीहरू स्टेजमा सँगै गाउने गर्थे । अझ उनीहरूसँग गीतकार साथीहरू जोडिएपछि संगीत सिर्जनाको बाढी नै आएको थियो ।

उनीहरूको पहिलो सांगीतिक प्रस्तुति नै कलेजको फ्रेशर्स वेलकम कार्यक्रममा भएको थियो । कलेजपछि उनीहरूले यात्रा रेडियोतर्फ मोडे । त्यसताका रेडियोमा ‘भ्वाइस टेस्ट’ उत्तीर्ण नभएसम्म गायक नमान्ने प्रचलन जो थयो ।

त्यही अनुरूप उनीहरूले कुर्स्याङको अल इन्डिया रेडियोमा अडिसन दिएर ‘भ्वाइस टेस्ट’ उत्तीर्ण गरे । त्यसपछि अल इन्डिया रेडियोमा आधिकारिक रूपमा गीत गाउन थाले ।

यता बद्रीले अल इन्डिया रेडियोबाट हिन्दी र नेपाली दुवै भाषाका नाटकमा अडिसन पास गरी रेडियो नाटकहरूमा पनि काम गर्न थाले । औपचारिक रूपमा उनीहरूको कला यात्रा त्यहाँबाट सुरु भएको मान्न सकिन्छ ।


बद्री खरेल ।
काठमाडौं आगमन

सन् १९७० को दशकको अन्त्यतिर दार्जीलिङमै हुँदा उनीहरूले रामायणको कथामा आधारित सांगीतिक ओपेरा गरेका थिए । जसलाई देखेर रेडियो नेपालका प्रतिनिधि केशव कृष्ण अधिकारी प्रभावित भएका थिए । अधिकारीले नै उनीहरूलाई गीत रेकर्ड गर्ने प्रस्ताव गरे । र, उनीहरूकै घरमा आए ।

अचम्म लाग्दो कुरा, उनीहरूका केही गीतहरू पहिले नै रेडियो नेपालबाट प्रसारण भइसकेका थिए । त्यसले गर्दा काठमाडौँमा गएर उनीहरूले रेडियो अडिसन दिनु परेन ।

त्यस्तै उनीहरूका लागि काठमाडौं आगमनको बाहना पनि त्यही ओपेरा हुन गयो । जुन काठमाडौंमा उनीहरूको पहिलो औपचारिक प्रस्तुति पनि बन्यो । साढे दुई घण्टाको सांगीतिक ओपेरालाई कमल गुरुङले लेखेका थिए ।

काठमाडौंअघि यसलाई दार्जीलिङको लरेटो कलेजमा दुई वर्षसम्म निरन्तर प्रस्तुत गरिएको थियो । पछि कालिम्पोङको सेन्ट फिलिमिना स्कुलका विद्यार्थीहरूसँग कुमुदिनी होम्समा प्रस्तुत गर्दा यसले ठूलो चर्चा पायो ।

काठमाडौंमा ल्याउन पनि त्यहीँकी शिक्षिका ज्योति सिन्हा (स्वरसम्राट नारायण गोपालकी श्रीमती प्रेमलाकी साथी) र बसन्त नामक शिक्षकले सहयोग गरेका थिए ।

यता नेपालमा नारायण गोपालले ओपेराको प्रस्तुतिको जिम्मेवारी लिएका थिए । र, कार्यक्रम राष्ट्रिय सभागृहमा भएको थियो । जहाँ नाट्यसम्राट बालकृष्ण सम स्वयं पनि कार्यक्रम हेर्न आएका थिए ।

काठमाडौँ बसाइका क्रममा उनीहरूले ओपेरा मात्र प्रस्तुत गरेनन् । बरु, रेडियोमा गीत गाए, रत्न रेकर्ड्समा गीत रेकर्ड गरे (रत्न रेकर्ड्सले त्यतिबेला रेडियो नेपालको स्टुडियो प्रयोग गर्थ्यो), र राष्ट्रिय सभागृहमा उदित नारायण झा, कुमार बस्नेत, किरण कपाली, दावा ग्याल्मो र डेजी रसाइली जस्ता कलाकारहरूसँग प्रस्तुति दिए ।

अनि दार्जीलिङ फर्किनुअघि नारायण गोपालसँग नारायणघाटसहित तराईका विभिन्न ठाउँहरूमा गएर कार्यक्रमहरू गरे ।

सांगीतिक शैली र रचना

दुर्गा बद्री खरेल जोडी आधुनिक नेपाली गीतका लागि प्रख्यात छन् । तर उनीहरूमा गोपाल योञ्जनको सांगीतिक शैलीको विशेष प्रभाव देख्न सकिन्छ ।

यसको एउटै कारण – गोपाल योञ्जनले नै उनीहरूलाई यस गोरेटोमा डोर्‍याएका थिए । प्रभाव यतिसम्म छ कि, उनीहरूका सुरुका गीतहरू सुनेर धेरैले गोपाल योञ्जनको नयाँ भन्नेसम्म गर्थे ।

सुरुमा उनीहरू आफ्नो गीत आफैं लेख्थे । ‘जवानीका पाइलाहरू’, ‘कल्पनाको महललाई मुटु भित्र साँचिदिन्छु’, ‘दियोझैँ म यहाँ बलिरहेछु’ केही उदाहरण हुन् । पछि जस योञ्जन प्यासीसँग उनीहरूले सहकार्य गर्न थाले ।

जस योञ्जन प्यासी उनै हुन्, जसले ‘बोलाउँ भने तिमीलाई बात लाग्ने डर’ लेखेका हुन् । १७ वर्षअघि रेकर्ड गरेको यो गीत यस्तो लोकप्रिय भयो कि, आज पनि पलेँटीको आधिकारिक युट्युब च्यानलमा सबैभन्दा बढी सुनिनेमा दोस्रोमा छ ।

यसलाई समकालीन पुस्ताले मात्रै होइन अहिलेका पुस्ताले पनि उत्तिकै मन पराइरहेका छन् । पलेँटीका आभासले त कार्यक्रममा यो गीतलाई उनीहरूको ‘एन्थम सङ’ भनेर उपमा नै दिए।

उनीहरूलाई लाग्छ, मायाको गीत भएकाले यो गीत यति धेरै चलेको हो ।


https://www.youtube.com/watch?v=JTfR5Q9gq9o&list=RDJTfR5Q9gq9o&start_radio=1
Read Full Discussion Thread for this article