Posted by: kattu tiwari October 12, 2021
"राडोको दशैं "
Login in to Rate this Post:     0       ?        
तँ त गइहालिस्
एक मुठी तातो पानी दिने कोही छैनन्
ठिकै भयो जस्तो पो लाग्न थाल्यो
दुःखै लुक्यो तेरो!
छोरो अफलाइनमा
छोरी अनलाइनमा
बुहारी चुनावमा व्यस्त
नातिनातिना भिडिओ गेममा
म ओच्छ्यानमा!
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी।

तेरो इच्छा नै थियो
आयुष्मती हुने, सेतो वस्त्र लाउनु नपरोस् भन्ने
म रङ्गीन वस्त्र लगाएर पनि सुस्त मन
कोही छैन बोल्ने र सुन्ने मेरो कुरा
तेरो यादले सारै सताउँछ बुढी!
काकाकुल झैं भएको छु
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी!

तलाईं मैले तारी दिएँ जस्तो लाग्छ
काम, किरिया, श्राद्ध, पिण्डदान
सबै गराइदिएँ
बैकुण्ठमा होलिस् सायद
यता नहेर् ल!
हेर्ने कोशिश पनि नगरे है
मेरो लुगा रङ्गी बिरङ्गी भए पनि
सारै मैलो छ मन
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी!

चुठुवाको भरमा पिसाब
चारपाउ टेकेर शौच जानुपर्छ
खोकी र खकारको शब्दले
घरमा भूकम्प आउँछ
दह्रो मन् पारेको छु
आँशु झार्दिनँ म
तिर्खा लागे तँ सम्झिन्छु
मेटिन्छ प्यास निकै
एक मुठी तातो पानी दिने कोही छैनन् बुढी।

दस दान र आतुरी दान पनि
गरिदिए गुरूले
छोरी आएकी थिई
तातो पानी खाने
थर्मस ल्याइदिएकी छे
हात खर्च पनि दिएर गई
के गर्नु यो पैसाले
माथि नै जाने प्रार्थना गर्छु!
बाँकी प्रभु इच्छा
एक मुठी तातो पानी दिने कोई छैनन् बुढी!

हाम्रो बिहेमा जुवा खेल्दा पनि
तैंले जितेको र
दही खुवाउँदा पनि तैंले नै जितेको याद आउँछ
जीवन युद्धमा पनि तैंले नै बाजी जितिस्
दुःखै नपाई तँ त गइस्
दुःख कसलाई सुनाऊँ
मलाई चिल्लो लाउने बोटुको
कुच्चिएर नानीहरूले धूलो माटोमा
भात भात खेल्छन्, हेरिरहन्छु म
एक मुठी तातो पानी दिने कोही छैनन् .
Read Full Discussion Thread for this article