Posted by: AnandNepal May 21, 2021
मलाइ यो जीन्दगीले ...
Login in to Rate this Post:     2       ?         Liked by
भाग २

"बिचार मिल्यो मन मिल्दैन, मन मिल्यो जीन्दगी मिल्दैन, जीन्दगी मिल्नेसँग भाग्य मिल्दैन,भाग्य मिल्नेसँग समय मिल्दैन, समय मिल्नेसंग औकात मिल्दैन .. यो सम्बन्ध भनेको पनि क्वाप्प मुखमा हालेको तातो मम जस्तो हुन्छ, न त ओकल्न सकिन्छ, न त निल्न नै. अझ बिडम्बना सेलाएपाछि त्यही ममको स्वाद पनि फिक्का हुन्छ!"

सम्बन्धको यस्तो नालीबेली सुनाउने लिजा उत्सबको पार्टीमा जोडी नभएकी एउटा मात्रै एक्ली महिला थिइन. भर्खर सियाटलाबाट मुभ भएकी लिजा र रिजा पहिल्यै देखिका साथी रहेछन. 

लिजाले अनुभव सुनाइ रहेकी थिइन, "आक्कल झुक्कल मात्रै कुरा मिल्ने, प्राय: बिग्रिरहने सम्बन्ध, रबर तन्काए झैँ तन्काउनु हुन्न ...संकेत पाउने बित्तिकै, चुंढनु अघि नै, सहमती गरेर बिना पुर्वाग्रह बाटो तताउनु पर्ने रहेछ!"

म लगायत सबै जना लाटोले केरा हेरेको जस्तो उसलाई हेरी रहेका थियौं .. लिजाको उमेर तेस्तै ४०-४५ बर्ष होला, छोटो गरेर कपाल काटेकी, शरीर मोटो पनि होइन दुब्लो पनि होइन, राम्रो भनेर हिरोइन जस्तै नभए पनि औसत भन्दा राम्रै मिलेको नाक नक्सा, अलिक गाढा लिपिस्टिक, र टाइट गाउनमा उनि कोही भन्दा कम देखिएकी थिइनन .. 

उनले शुरुमा डोमेस्टिक हेल्परको रुपमा इजरेल आएको. त्यसपछि अमेरिका आएर श्रीमान र छोरालाइ बोलाउन लामो समय लागेको. त्यही बिचमा नै श्रीमानले बिभिन्न आशंका गर्न थालेको कहानी सुनाइँन. श्रीमान अमेरिका आइपुगेपछिका घटना एक टिपिकल नेपाली पुरुषले महिला प्रति गर्ने ब्यबहार जस्ता नै भए पनि लीजाले यसरी बताईन की ति सबै एक अहंकारी, निर्दयी, शंकालु पुरुषले मात्रै गर्ने ब्यबहार जस्तो सुनियो.

उसको कुरा सुन्दै गर्दा म आफ्नै घटनाहरुमा हराउन थालें .. उत्सबको घर जानु अघिका घटेका कुराहरु झल्झली याद आए:

रेजिनाले फुर्सद छैन भनेपछि म उत्सबको घरमा हुने जमघटमा नजाने भनेर ढुक्क भएर बसेको थिएँ.. मनको एक कुनामा दुख भने लागि रहेकै थियो किनकि, उत्सब र म कलेज देखिकै साथी हौँ. कलेज हुँदा त्यति घुलमिल नभए पनि अमेरिका आए पछि भने उ नै बन्यो मेरो शुख दुखको साथी. परेको बेलामा सबै चिज छोडेर सहयोग गर्ने उसको स्वभावको त म फ्यान नै हुँ. उसकी पत्नी रिजा पनि खुबै मजाकी छिन्.

रिजाले रेजिनालाई फोन नै गरेर बोलाइछिन्, त्यसपछि त उ पनि पार्टीमा जान राजी भइ. रिजाले बोलाएपाछि त न उसको काममा जानु पर्यो न त अरुनै बहाना बनाउनु पर्यो. आजकल मेरो घरकाले मेरो भन्दा पराइका कुरा बढी सुन्छन. म त फगत एक बेसमेन्टमा राखेको थोत्रो टिभी जस्तो भएको छु. म भए नभएको कसैले नोटिस पनि गर्दैन. नेपालको सानोतिनो श्रीखण्ड यहाँ आएर खुर्पाको बींड बनिसक्दा पनि नेपाल फर्केर जान भने अझै सकेको छैन..

नेपालबाट आउँदा मेरो स्वभाव जस्तो थियो अहिले पनि उस्ताको उस्तै छ. तर, रेजिनालाइ चाँहि अमेरिकाले उलट पलट बनाइदिएको छ. यसो सोच्छु, मैले लभ गरेको रेजिना यो हुँदै होइन.. उ त एउटी सोझी साझी, समझदार युवती थिइ.

बाहिर बाट हेर्दा, घर परिवार, साथी संगी सबैको लागि त उही रेजिना हो किनकी, उसमा बाहिरी रुपमा त्यस्तो परिवर्तन केही पनि देखिएको छैन. अरु त अरु, उमेरले पनि बुढी बनाउन पनि अलिकति बिलम्ब नै गरेको जस्तो देखिन्छ. तर, भित्री रुपमा भने ओरिजिनल केही पनि बाँकी छैन. जस्तो कि ड्रिंक गर्ने बानी. नेपालमा हुँदा रक्सी भनेपछि दश कोस पर भाग्ने, यहाँ आएपछि वाइन खान मैले नै सिकाएको हुँ. कहिले काँहि रमरम हुनुको मजा नै बेग्लै हुन्छ भनेर.

उत्सबकी बुढी रिजाले पनि वाइन, बियर पिउने भएको हुनाले रेजिनाको साथी पनि मिल्यो अनि उनीहरुको फिमेल क्लब पनि शुरु भयो. पछि किन हो, उसलाई वाइन मीठो लाग्न छोड्यो. खाए हार्ड ड्रिंक्स नै खाने अरुमा आँखा लगाउन छोडी. आझ आजकल त उसलाई बेहोस नै हुने गरेर खाने लत लागेको छ - खायो ढल्यो. घरमा खाएर ढले त कसैले थाह पाउँदैन, केही फरक पनि पर्दैन. कहिले काँही त पार्टीमा पनि सम्हाल्ने नसक्ने गरेर खाइदिदा सास्ती को सामना गर्ने मेरै भागमा आउंछ.

तेसैले, पार्टी भन्ने बित्तिकै म अगुल्टोले हानेको कुकुर झैँ सचेत हुन्छु, "धेरै पिउने हैन है!"

मेरो वाक्य नझर्दै मुख अमिलो पार्दै उसले जवाफ दिइ, "अनी अरु पनि केहि आज्ञा छ कि?"

मैले उसको शरीरको तौलको हिसाव गरें. साठी किलो. हाफ प्यान्ट र टिशर्टमा. छाती नै दुई किलो होला. जिन्सको हाफ प्यान्टले उसको सेतो तिघ्रा आधाआधी मात्रै छोपेको थियो.

"जहिले नि त्यही तिघ्रा देखाउने लुगा लाउनु पर्छ?"

मेरो प्रश्न खस्न नपाउंदै ड्रयागनको मुखबाट आगो ओकलीयो, "What the fuck! अहिले धेरै निहु नखोज है! यो भन्दा छोटो सर्ट्स लाइदिन्छु अनि!"

मलाइ त्यो आगोमा जल्न कुनै रहर छैन. 

हुन पनि, अमेरिकाले उसलाई स्वच्छन्द हुन सिकाएको छ. उसले लाज, धक सबै नेपालमै छोडेर आएकी छे. मलाइ मात्रै हो लाज लाग्ने - उ त नांगै हिंड्नु पर्यो भने पनि निर्धक्क हिंड्न सक्छे. यो त एकपटक उसले न्युयोर्कको ज्याकोब रीज बिच जाँदा प्रमाणित पनि गरेकै हो.

अमेरिका आँउदैमा अमेरिकन नै हुनु पर्ने त होइन. तर, उसलाई किन हो अमेरिकन लाइफस्टाइल नै मन पर्छ. म फेरी पुरै नेपाली पाराको मान्छे, गर्नेलाई भन्दा देख्नेलाई लाज भनेको जस्तो ज्याकोब रीज बिचमा उ निर्धक्क छाती हल्लाउँदै हिंड्दा लाजले पानी पानी चाँहि मा भएको थिएँ. कोही चिने जानेको नभेटिए हुन्थ्यो भन्दै प्रार्थना गरिरहेको थिएँ, देवी देउता भाकी रहेको थिएँ. खासमा त्यस बिचमा १-२ जना बाहेक अरु सबैले बिकिनी लगाएकै थिए. तर, उसलाई भने भिन्दै जोश चलिरहेको थियो. "अब देखि मलाइ रेजी होइन क्रेजी भन्ने गर," भन्दै आंफ्नो दुई किलोको स्तन देखाउँदै हिंडेकी थिइ.

उसंग वाद विवाद गर्नु भन्दा चुप लाग्नु नै उचित हो। तेसैले, आज बाटो भरी यस्तै यस्तै कुरा सोची रहें. उसले पनि केही बोलिन, मलाइ सुन्नु पनि केही थिएन. मलाइ उत्सबको घर पुग्न अलि हतार लागेको थियो. ३० स्पीड भएको बाटोमा ५५ मा कुदाउंदा पनि उ चुप नै रहिरही.

***
मुड माथि लागेको ग्रहण उत्सबको घरको रमझमले तुरुन्तै पखाली दियो. सबैलाई समुहकी नयाँ सदस्य लिजाकै गफले मन्त्र मुग्ध बनाइ रहेको थियो. लिजाले छोरा आँफुसंग राखेर श्रीमानलाई घरबाट निकालेको बिवरण एउटा फिल्मको कथा भन्दा कम थिएन.

सबै ठिकठाक चलिरहेको थियो .. लिजाले आंफ्नो भूतपूर्व श्रीमानको फोटो देखाएपछि भने म झसंग भए ...

क्रमश:
Last edited: 27-May-21 02:05 PM
Read Full Discussion Thread for this article