Posted by: ktmpost August 26, 2019
रवि लामिछानेमाथि अभियोग : क्षतिपूर्तिसमेत भराइ पाऊँ !
Login in to Rate this Post:     0       ?        

९ भदौ, चितवन । चर्चित सञ्चारकर्मी रवि लामिछानेसहित ३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा परेको ‘आत्महत्या गर्न दुरुत्साहन’ मुद्दामा आज थुनछेक बहस हुँदैछ । तीन प्रतिवादीमध्ये अस्मिता कार्कीको वयान आइतबार सकिएको छ भने सोमबार रवि लामिछाने र युवराज कँडेलको वयान सकिएपछि अदालतमा वादी प्रतिवादीका वकिलहरुले बहस गर्नेछन् ।

रवि लामिछाने लगायतविरुद्ध आइतबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ । अभियोग पत्रमा लामिछाने लगायतलाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना मात्र मागदाबी गरिएको छैन, पुडासैनी परिवारलाई प्रतिवादीका तर्फबाट क्षतिपूर्ति भराउनसमेत मागदाबी गरिएको छ ।

सरकारी वकिलले आइतबार अदालतमा दर्ता गरेको अभियोगपत्रको १९ औं पृष्ठमा भनिएको छ, ‘निज प्रतिवादीहरुलाई पाँचवर्षसम्म कैद सजायँ र पचास हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भएकाले पीडित राहत कोषमा क्षतिपूर्ति रकम जम्मा गर्ने प्रयोजनका लागि निज प्रतिवादीहरुबाट अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१(१) को देहाय(ङ) तथा ४१(३) वमोजिम तोकिएको रकम क्षतिपूर्ति शुल्क भराई सोही ऐनको दफा ४१(५) वमोजिम उक्त रकम पीडित राहत कोषमा जम्मा गरी पाउँ ।’

आत्महत्या गरेको डोरी र भौतिक सबुत प्राप्त हुन बाँकी

यसैवीच शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइएको भौतिक सबुत फिर्ता भइनसकेको अभियोगपत्रमा उल्लेख छ । शब परीक्षणसँगै पठाइएको आत्महत्यामा प्रयोग भएको डोरी पनि फिर्ता नभएकाले ती सबुतहरु फिर्ता भएपछि पेश गरिने अभियोग पत्रमा उल्लेख छ ।

अभियोगपत्रको पृष्ठ १७ र १८ मा भनिएको छ,‘परीक्षणको लागि पठाइएको भौतिक सबुद परीक्षण प्रतिवेदन केन्द्रीय विधि विज्ञान प्रयोगशाला काठमाडौंबाट हालसम्म प्राप्त नभएकोले प्राप्त भएपछि पेश गरिने र मृतकको शव परीक्षण गर्न सँगै पठाइएको मृतक झुण्डिएको डोरी हालसम्म फिर्ता नभएको देखिँदा प्राप्त भएपछि पठाइने.. ।’

प्रहरीले रवि लामिछाने लगायत तीनजना प्रतिवादीहरुको बैंक खाता सरकारी वकिलको कार्यालयमा पेश नगरेको अभियोगपत्रबाट खुलेको छ । अभियोग पत्रमा भनिएको छ, ‘प्रतिवादीहरुको बैंक खाता विवरण हालसम्म प्राप्त नभएकाले प्राप्त भएपछि पेश गरिने व्यहोरासमेत अनुरोध छ ।’

प्रमाणका रुपमा के–के पेश गरियो ?

सरकारी वकिल कार्यालयले अदालतमा पेश गरेका सबुद प्रमाणहरुमा न्युज २४ टीभीबाट प्राप्त सीसी टीभी फुटेजको हार्ड ड्राइभसमेत पेश गरेको छ । त्यसैगरी रवि लामिछानेसहित तीनैजना प्रतिवादीहरुको मोवाइल फोन पनि अदालतमा पेश गरिएको छ ।

त्यसैगरी मृतक शालिकराम पुडासैनीले प्रयोग गरेको सामसुङ ग्यालेक्सी जी–एस मोबाइल, डोरी खरिद गरेको पसलको सीसी क्यामेरा फुटेज, र पुडासैनीले आफ्नो मोबाइलमा खिचेको भिडयो लगायतका सामाग्रीहरु संकलन गरिएको ६४ जीबीको पेनड्राइभ अदालतमा पेश गरिएको छ ।

अदालतमा पेश गरिएको पेन ड्राइभभित्र रवि लामिछाने, रुकु भनिने अस्मिता कार्की र युवराज कँडेलको मोबाइलको सीडीआर, एसएमएस र बीटीएस को रिपोर्ट समावेश भएको डीभीडी पनि समावेश गरिएको छ ।
अदालतमा प्रस्तुत अभियोगपत्रमा अन्य व्यक्तिहरु पनि पक्राउ गर्नुपर्ने अवस्था आएमा पक्राउ गरी पेश गरिने उल्लेख छ । अभियोगपत्रमा भनिएको छ, ‘प्रस्तुत वारदातमा अनिल ढुंगेल लगायत अन्य कोही कसैको पनि कुनै प्रकारको संलग्नता रहेको भन्ने थप प्रमाणबाट पछि खुली आएमा सोही समय कानून वमोजिम पूरक अभियोग दर्ता गरिने व्यहोरासमेत अनुरोध छ ।’

जिल्ला प्रहरी कार्यालय, चितवनले रविसहित ३ जनालाई पक्राउ गरेर अनुसन्धान थालेको १० दिनपछि आइतबार सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । वकिलको कार्यालयले आइतबारै रायसहितको प्रतिवेदन अध्ययन सकेर जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ ।

वकिल धेरै भए, बहस लम्बिन सक्ने

आइतबार नर्स अस्मिता भनिने रुकुको मात्रै बयान सकियो भने रवि र युवराज कँडेलको वयान समय अभावका कारणले हुन सकेन । जिल्ला अदालत, चितवनका श्रेस्तेदार रुद्रमणि गिरीका अनुसार, रवि र कँडेलको बयान सोमबार बिहान १० बजेबाट सुरु हुँदैछ ।

‘हिजो बयान नसकिएपछि उहाँहरुलाई प्रहरी हिरासतमा पठाइएको थियो’, गिरीले अनलाइनखबरसँग भने, ‘सोमबार बयान सकियो भने थुनछेक बहस हुनेछ ।’

उनका अनुसार, बयान सकिएर चाँडै बहस भए, तीनैजनालाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने सोमबार आदेश जारी हुनेछ । तर, धेरै कानून व्यवसायीको वकालतनामा परेकाले बहसले लामो समय लिए, मंगलबार मात्रै आदेश जारी हुने गिरी बताउँछन् ।

थुनछेक बहसबाट अभियुक्त दोषी वा निर्दोष छन् भन्ने पूर्णतः निक्र्यौल हुँदैन । यो प्रक्रियाबाट अदालतले छाड्न आदेश दिए बाहिरै रहेर कानूनी प्रक्रिया अघि बढाउन सकिन्छ । त्यसैले पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको पटाक्षेप भने मुद्दाको अन्तिम फैसला आएपछि मात्रै हुनेछ ।

यसरी तीन जनाविरुद्ध मुलुकी अपराध संहिताको दफा १८५ अनुसार लगाइएको आत्महत्या दुरुत्साहनको कसूर प्रमाणित भए ५० हजारसम्म जरिवाना, ५ वर्षसम्म जेल वा दुवै हुन सक्छ । तर, जिल्लाको फैसला चित्त नबुझे उच्च अदालत हुँदै सर्वोच्च अदालतसम्म पुनरावेदन दर्ता गराउन सक्ने प्रावधान पनि छ ।

पत्रकार शालिकराम पुडासैनी लामिछाने प्रस्तोता रहेको ‘सिधा कुरा जनतासँग’का पूर्वसंवाददाता हुन् । हालै न्यूज २४ छाडेर उनी माउन्टेन टेलिभिजमा कार्यरत् थिए । उनी २० साउनमा चितवनको एक होटलमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

आत्महत्या गर्नुपूर्व उनले लामिछाने, कँडेल र कार्कीका कारण आफू मर्न बाध्य भएको भन्दै आफ्नो मोबाइलमा रेकर्ड गराएको भिडियो बाहिरिएपछि प्रहरीले ३० साउनमा तीनैजनालाई पक्राउ गरेको हो ।

चितवनमा निषेधाज्ञा जारी

टीभी कार्यक्रम प्रस्तोता लामिछाने पक्राउ परेलगत्तै उनका समर्थकले दैनिकजसो प्रदर्शन र विरोध जारी राखेका छन् । आइतबार थुनछेक बहस हुने अनुमानमा चितवन आएका सयौं समर्थकसँग प्रहरीको घम्साघम्सी पनि परेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरले अश्रुग्यास नै प्रहार गर्नुपर्‍यो ।

घटनापछि प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सोमबार विहान ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि चितवनमा निषेधाज्ञा जारी गरेका छन् । हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने पनि भनिएको छ ।

https://www.onlinekhabar.com/2019/08/790972

Read Full Discussion Thread for this article