Posted by: ktmpost October 7, 2018
बोस्टनका नेपाली माथि बालिका बलात्कारको अभियोग पछि फरार
Login in to Rate this Post:     0       ?        

मनबहादुर बस्नेत

गठिलो ज्यान । मधुर हाँसो । शालीन । यस्ता व्यक्तित्वभित्र बेइमानी लुकेको छ भन्ने कसले अनुमान लगाउला र ! तर, उनीमाथि लागेका आरोप सुन्दा मात्रै पनि आङ सिरिंग हुन्छ ।

पाँच वर्षसम्म नाबालिकासँग अविच्छिन्न सहवास । ज्यान मार्ने धम्की । सांघातिक हमला । ४७ वर्षे नवराज कोइरालाले अमेरिकाको एउटा अदालतमा यस्तै संगीन आरोप खेपिरहेका छन् । उनले एक बालिकामाथि अमेरिकामा यस्तो निर्मम कृत्य गरेको अभियोग छ । बालिका ९ वर्ष हुँदादेखि १४ वर्षकी हुन्जेल कोइरालाले बलजफ्ती गरेको आरोप लागेको छ ।


घटनाबारे कसैलाई भने बालिकालाई मात्रै होइन, परिवारका अन्य सदस्यलाई समेत मारिदिने धम्की दिएपछि लामो समयसम्म यो कुकर्म गुपचुप राख्न बाध्य भइन् । चञ्चले उमेरमा बालिका झन्झन् उदासी बन्दै गएपछि आफन्तले सोधीखोजी गर्दा ‘डिप्रेसन’ को औषधी खाइरहेको भेटियो, पाँच महिनाअघि मात्र । त्यसपछि मात्रै किशोरीलाई यति ठूलो विपत्ति आइपरेको तथ्य खुलेको थियो । पीडित किशोरी अहिले १६ वर्ष पुगिन् । तर, बलात्कारको चोटबाट उनी यति गलेकी छिन् कि मानसिक सन्तुलन सही हालतमा छैन । उनलाई अहिले अमेरिकाको बोस्टनस्थित पुन:स्थापना केन्द्रमा राखेर उपचार गरिँदै छ ।

विदेशी नागरिकलाई दिने डाइभर्सिटी भीसा (डीभी) पाएर सन् २००८ मा अमेरिका पुगेका कोइरालाले कलकलाउँदी बालिकालाई यो अवस्थामा पुर्‍याएको दाबी पीडित पक्षको छ । उनको परिवार अहिले पनि म्यासाचुसेट्स राज्यको राजधानी बोस्टनमै छ ।

कोइरालामाथि फस्ट डिग्री अपराध गरेको आरोप लगाइएको छ । अमेरिकामा ९ देखि १४ वर्षका बालबालिकाप्रति हुने अपराधमा ‘फस्ट डिग्री’ कानुन अनुसार कारबाही हुन्छ । यो दफा आकर्षित हुनुलाई बालबालिकामाथिको क्रूर अपराध मानिन्छ । कडा कानुनी कारबाहीको तयारी भइरहेकै बेला कोइराला भने भागे ।

फरार भएपछि उनका एकपछि अर्को  गैरकानुनी क्रियाकलापका शृंखला देखिन थाले । नेपालको गुप्तचरी संस्था राष्ट्रिय अनुसन्धान विभागमा समेत काम गरेका कोइराला अत्यन्तै चलाख रहेको उनी निकटस्थहरू बताउँछन् । उनको स्थायी ठेगाना हो, मोरङ ।

अनधिकृत शृंखला

बलात्कारमा संलग्न भएको आरोप लागेपछि बोस्टनको एभरेट पुलिस डिपार्टमेन्टले अदालतको अनुमतिमा नवराजलाई पीडित पक्षसँग भेट्न रोक लगायो । तर, नवराजले पीडित पक्षलाई भेटेनन् मात्र, मुद्दा फिर्ता लिए सम्पूर्ण सम्पत्ति दिने प्रलोभनसमेत देखाए । उनले पीडित पक्षलाई प्रलोभन देखाएर पठाएको म्यासेज नेपालसँग सुरक्षित छ । यो म्यासेज नै उनले अपराध कबोलेको प्रमाणका रूपमा म्यासाचुसेट्स अदालतमा पेस भएको छ । 

त्यसपछि ‘म्यासाचुसेट्स सुपेरियर कोर्ट’ ले ११ सदस्यीय जुरी गठन गरेर मुद्दाको सुनुवाइ अगाडि बढायो । उक्त जुरीले २४ जेठमा कोइरालालाई आजीवन कैदको निर्णय सुनाउनुअगाडि अदालतमा उपस्थित हुन आदेश दियो । प्राकृतिक न्यायको सिद्धान्त अनुसार अभियोगीलाई आरोपको रक्षा गर्ने सुविधा दिएर मात्र फैसला सुनाइन्छ ।

उनी अदालतमा उपस्थित नभएपछि मुद्दा अनिर्णित छ । द सोमरभिल न्यूज विक्ली नामक स्थानीय पत्रिकामा अदालतले यस सम्बन्धी सूचनासमेत प्रकाशित गर्‍यो । सूचना अनुसार कोइरालामाथि बलात्कार, ज्यान मार्ने धम्की दिएको र सांघातिक हमला गरेको आरोप लगाइएको छ । तर, यतिबेलासम्म कोइरालाले अमेरिका छाडिसकेका थिए ।


म्यासाचुसेट्स सुपेरियर कोर्टले द सोमरभिल न्यूज विक्ली पत्रिकामा निकालेको सूचना र नवराज कोइरालाको डीभी परेको राहदानी 


अदालतमा हाजिर  नभएपछि प्रहरीले पक्राउ पुर्जी जारी गरेर अनुसन्धान थाल्यो । पत्नीले समेत कोइरालासँग सम्बन्धविच्छेद र सन्तानको भरणपोषणका लागि सम्पत्ति दाबीसहित ‘क्याम्ब्रिज फेमिली कोर्ट’ मा मुद्दा दर्ता गरेकी छन् ।

यो मुद्दाको अनुसन्धान गर्दा अर्को तथ्य खुल्यो । कोइरालाले अमेरिका मात्रै छाडेनन्, उनको र पत्नीको नाममा रहेको संयुक्त सम्पत्तिसमेत एक एसियाली बैंकमा स्थानान्तरण गरेछन् । पत्नीको हस्ताक्षर भने नक्कली थियो । १ लाख ८० हजार डलर र सेयर कोइरालाले अनधिकृत रूपमा स्थानान्तरण गरेको आरोपसमेत थपिएको छ । सम्बन्धविच्छेदको मुद्दा दर्ता हुनासाथै उनले अमेरिका छाडेका थिए । उक्त मुद्दा अदालतमै विचाराधीन छ ।

मुद्दा अगाडि बढेपछि कोइराला न्युयोर्कबाट नयाँ दिल्ली पुगेको देखिन्छ । नयाँ दिल्लीमा क्रेडिट कार्डबाट रकम निकालेको पुष्टि हुन्छ । त्यसपछि उनी कहाँ गए भन्ने अमेरिकी प्रहरीले समेत सुइँको पाउन सकेको छैन ।

गैरकानुनी आश्रय

दिल्लीदेखि एकाएक बेपत्ता बनेका कोइरालाले सात महिनापछि आफ्नो फेसबुकमा एउटा फोटो अपलोड गरे र लेखे, फिलिङ ज्वायफुल । उक्त स्ट्याटसमा कोइरालाले एक युवतीको फोटो राखेका छन्, जुन फोटो काठमाडौँबाट पोस्ट गरेका हुन् । त्यसको एक महिनासम्म पनि कोइरालाले नेपालमै रहेको फोटो सार्वजनिक गरेका थिए ।

कोइरालाको पारिवारिक स्रोतका अनुसार उक्त तस्बिर कोइरालाकी दोस्री पत्नीको हो । अमेरिका जाने लालचमा पारेर आफूभन्दा दोब्बर कान्छीसित कोइरालाले विवाह गरेका हुन् । नवराजले दोस्रो विवाह गरेको आमा रूपा कोइरालाले समेत पुष्टि गरिन् । तर, यो विवाह दर्ता भने भएको छैन । नेपालसँग टेलिफोनमा उनले भनिन्, “उसले अहिले विवाह गरेको छ । पहिलेकीसँग छोडपत्र गरेँ भन्थ्यो । मसँग त्यति सम्पर्क हुँदैन । उनीहरू के गर्छन्, मैले कसरी थाहा पाउनु ? केटाकेटी भए पो सोधीखोजी गर्नु ।” काठमाडौँतिर विवाह गरेको समेत उनले बताइन् । रूपा सप्तरीको फत्तेपुरमा बस्छिन् ।

रूपाको भनाइबाटै बुझिन्छ, एकातिर नवराजले पहिलेकी पत्नीसँग सम्बन्धविच्छेद नै नगरी अर्को विवाह गरे भने अर्कोतिर अमेरिकामा गरेको अपराध छोप्न नेपाललाई उपयोग गरिरहेका छन् । नवराज अहिले काठमाडौँतिर बसे पनि ठ्याक्कै ठाउँ आफूलाई थाहा नभएको आमा रूपाको भनाइ छ । जबकि, उनी नेपाल भित्रिएको अभिलेख अध्यागमन विभागसँग छैन । यसको अर्थ हो, कोइरालासित नेपालमा बस्ने भिसा छैन । अमेरिकी नागरिकता त्यागेका पनि छैनन् । सन् २०१५ मा भने उनी नेपाल आएको देखिन्छ । विभागका प्रवक्ता विष्णुहरि उपाध्यायका अनुसार दिल्लीमा भिसा लिएर स्थलमार्गबाट नेपाल आउन भने सकिन्छ ।

कान्छी पत्नी अहिले गर्भवती रहेको समेत नवराज नजिकका एक मित्रले दाबी गरे । उनी राजधानीको एक अस्पतालमा नर्स छिन् । कोइरालाले आफ्नो फेसबुक एकाउन्ट त चार महिनादेखि बन्द गरेका छन् नै, दोस्री श्रीमतीको एकाउन्टसमेत निष्क्रिय छ । तर, न्यायिक प्रक्रिया सक्रिय नै छ ।

पीडित परिवारलाई कानुनी लडाइँमा सहयोग गरिरहेका अमेरिकामा बस्ने एक नेपालीका अनुसार आरोपितलाई अमेरिका झिकाउन कूटनीतिक पहल भइरहेको छ । “अमेरिकास्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले सहयोग गर्ने वचन दिनुभएको छ,” बोस्टनस्थित नेपाली समुदायका पूर्वपदाधिकारीसमेत रहेका ती व्यक्तिले नाम नबताउने सर्तमा भने । नेपाल–अमेरिकाबीच सुपुर्दगी सन्धि नभएकाले मानिस पक्रेर हस्तान्तरण गर्न सहज भने छैन । सोही कारण नेपालमा गरेको अपराधबाट बच्न थुप्रै नेपालीले अमेरिकामा आश्रय लिने गरेका छन् ।


http://nepal.ekantipur.com/news/2018-10-07/20181007155319.html







अमेरिका । अमेरिकाका एक अदालतले नेपाली मूलका अमेरिकी नागरिकले बालिकालाई वर्षौंसम्म पटक–पटक बलात्कार गरेको अभियोग लगाएको खबर आजको नेपाल समाचारपत्रले छापेको छ । प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

उक्त मुद्दा हेर्ने सरकारी वकिलका अनुसार बोस्टनको एभरेट टाउनमा बस्ने ४६ वर्षीय अभियुक्त नवराज कोइरालाले एक बालिकालाई ९ देखि १४ वर्षको उमेरमा पटक–पटक बलात्कार गरी ज्यान मार्ने र यो कुरा अरुलाई भनेमा सबै परिवारलाई मारी आफू पनि मर्ने धम्की दिँदै आएको समाचारमा छ ।

बोस्टनस्थित म्यासाच्युसेट्स सुपेरियर कोर्ट उबर्नमा बसेको तीनदिने ११ सदस्यीय जुरीले गत जुलाई ७ मा एक निर्णय गर्दै अभियुक्तलाई तुरुन्त कोर्टमा उपस्थित गराउन आदेश दिएको छ । तर यसअघि प्रहरीसँग आफ्नो कर्तुत पुगेको शंका पाउनासाथ अभियुक्त नेपाल भागेको बताइएको छ ।

अदालतबाट हालै जारी सार्वजनिक सूचना (जुन समर्भिल विक्ली न्युज पपेरमा समेत प्रकाशित छ) का अनुसार कोइरालाले बालिकालाई कठोर यातनासहित जबरजस्ती बलात्कार गरेको, १४ वर्षभन्दा कम उमेरकी बालिकालाई संघातिक आक्रमण र हमला गरेको, कोर्टको आदेश उल्लंघन गरेकोजस्ता संगीन आरोप लगाइएको छ ।

नेपालमा अवैध बसाइ

नेपालमा अध्यागमन विभागका अनुसार उनी सन् २०१५ मा मात्र वैधानिक रुपमा नेपाल प्रवेश गरेको देखिन्छ । सन् २०१७ मा २ पटक नेपाल गए पनि स्थलमार्गबाट बिनाभिसा गएकाले कुनै अभिलेख देखिएको छैन । जबकि नेपाल जानासाथ एक हप्ताभित्र उनले धोकापूर्ण विवरण दिएर गत डिसेम्बरको पहिलो हप्ता आफूभन्दा २५ वर्ष कान्छी शर्मा थरकी एक महिलासँग मन्दिर गई विवाह गरेका थिए ।

उनको खोजी हुने र अवैध बसेको पाइए देशनिकाला हुने एक अध्यागमन अधिकारीले बताए । समाचार स्रोतका अनुसार न्युयोर्कस्थित एक वकिलले नेपाल सरकारसमक्ष निज कोइरालाको अध्यागमन र सुपुर्दगी प्रक्रियाका लागि दुवै देशका सरकारी निकायमा सम्पर्क गरी प्रक्रिया अगाडि बढाउन लागिएको छ ।

http://www.news24nepal.tv/2018/10/07/412986










Middlesex county District Attorney report

https://wilmingtonapple.com/2018/07/16/middlesex-da-billerica-man-indicted-for-alleged-child-rape-in-wilmington/

Nabaraj Koirala, 46, was charged with aggravated rape of a child, rape of a child by force, indecent assault and battery on a child under the age of 14, and violating a restraining order. The Assistant District Attorney is Marisa Tagliareni.







Last edited: 07-Oct-18 11:28 AM
Read Full Discussion Thread for this article